Logo

हावाहुरीका कारण ८ हजार केराका बोट नष्ट

बिर्तामोड– हावाहुरीका कारण दक्षिणी झापाको कचनकवल गाउँपालिकामा किसानले लगाएका ८ हजार केराका बोट ढलेर नष्ट भएको छ ।

झापाको कचनकवल गाउँपालिका वडा नं. ४ का मनोजकुमार गणेश, सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेशलगायत २३ जना किसानले व्यावसायिक रूपमा केरा खेती गर्ने उद्देश्यले लगाएका ८ हजार केराका बोट हावाहुरीका कारण ढलेर नष्ट भएको कचनकवल गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाले बताए ।

कचनकवल गाउँपालिका वडा नं. ४ का २३ जना किसानले सहकारी तथा बैंकबाट ऋण लिएर व्यावसायिक रूपमा केरा खेती गर्ने उद्देश्यले लगाएका केरा हाल उत्पादन दिन थालेको अवस्थामा ढलेर नष्ट भएको हो । २३ जना किसानले लगाएका ५० देखि ६० प्रतिशत केराका बोट हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोर्टबाट देखिएको उनले बताए ।

दसैंं, तिहार र छठलाई लक्षित गर्दै कचनकवल गाउँपालिका वडा नं. ४ का २३ जना किसानले सहकारी तथा बैंकबाट ऋण लिएर व्यावसायिक रूपमा केरा खेती गरेकोमा हावाहुरीले पूर्ण रूपले क्षति गराउँदा उनीहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको सापकोटाको भनाइ छ । कचनकवल गाउँपालिका वडा नं. ४ का २३ जना किसानले लगाएका ८ हजार केराका बोट हावाहुरीका कारण ढलेर नष्ट हुँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको उनले बताए ।

कचनकवल गाउँपालिका वडा नं. ४ का केरा खेती किसान मनोजकुमार गणेशले आफूले केरा बगानमा लगाएको १ हजार ५ सय केराका बोट हावाहुरीका कारण ढलेर नष्ट भएको बताए । आफूले सहकारी तथा बैंकबाट ऋण लिएर व्यावसायिक रूपमा केरा खेती गरेकोमा हावाहुरीले क्षति गराउँदा आम्दानी हुने बेलामा नोक्सानी भएको बताए ।

आउँदै गरेको दसैं, तिहार र छठ पर्वमा केरा बिक्री गरेर चाडपर्व मनाउने भनेर केरा खेती गरेकोमा केराका बोटहरू हावाहुरीका कारण ढलेर नष्ट भएर चाडपर्व मनाउने सपना तुहिएको उनले बताए । उनले भने, ‘हावाहुरीले भएको केराको बोट ढल्यो, अब के बेचेर चाडपर्व मान्नु ।’ उनीजस्तै केरा खेती किसान सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेशलगायत २३ किसानको पीडा पनि उस्तै छ ।

उनीहरू भन्छन्– हावाहुरीले केराको बोट ढल्दा घरको न घाटको भइयो । अहिले प्रतिघरी केराको लागत खर्चमात्रै २ सय ५० पुगिसकेको छ भने प्रति घरी केरा ४ सयदेखि ५ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको उनीहरू बताउँछन् । कचनकवल गाउँपालिका वडा नं. ४ का २३ जना किसानले आफूहरूले लगाएका ८ हजार केराका बोट हावाहुरीका कारण ढलेर नष्ट भएकाले आफूहरूलाई राहतको व्यवस्था गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्