भूकम्पले क्षति पुराएका १५० विद्यालय पुनर्निर्माण

सिन्धुलीमा भूकम्पले क्षति पुराएका १५० वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले भत्केका ३२२ वटा विद्यालय भवनमध्ये १५० वटा पुनर्निर्माण भएका हुन् ।
भवन निर्माण भएपछि अस्थायी टहरामा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ । साथै निर्माण सम्पन्न अघिकांश भवन विद्यालयलाई हस्तान्तरणसमेत गरिसकिएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।
भूकम्पका कारण क्षति भएका अन्य १५० वटा विद्यालय भवन निर्माणको अन्तिम चरणको काम भइरहेको जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरिले जानकारी दिए । विभिन्न संघसंस्थाको सहयोगमा भूकम्प प्रतिरोधात्मक विद्यालय भवन निर्माण भइरहेको छ । त्यस्तै २२ वटा विद्यालयका भवन पनि निर्माण सुरुवातको चरण रहेको जिशिअ गिरिले बताए । सहयोगी साझेदारसँगको निर्माण सम्झौता सम्पन्न भइसकेको र अब छिट्टै निर्माणको काम सुरु गरिने उनले बताए । आउँदो वर्षभित्र सबै विद्यालय भवन पुनर्निर्माण गरिसक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गिरिले बताए ।
यसैबीच जिल्लाका चारवटा विद्यालय राष्ट्रिय नमुना विद्यालयका रूपमा निर्माण भइरहेको बताइएको छ । दुधौली नगरपालिकाको दुईवटा विद्यालय, कमलामाई नगरपालिकाको एउटा र मरिण गाँउपालिकाको एउटा विद्यालय भवन राष्ट्रिय नमुना विद्यालयका रूपमा पुनर्निर्माण भइरहेको जिशिअ गिरिले जानकारी दिए ।
अबको दुई वर्षमा जिल्लाका कुनै पनि विद्यालयले भवनको अभावमा बस्नुपर्ने अवस्था नआउने उनको भनाइ छ । जिल्लामा भूकम्पपछि निर्माण गरिएका विद्यालयमा भौतिक पूर्वाधारको गुणात्मक विकास भएको उनले दाबीसमेत गरेका छन् ।
यसैबीच, सिन्धुलीमा भूकम्पका कारण क्षति भएका १० हजारभन्दा बढी घर निर्माणको चरणमा रहेका छन् । हालसम्म भूकम्पले भत्किएका १० हजार ५६४ घरको पुनर्निर्माण सुरु भएको जिल्ला समन्वय समिति पुनर्निर्माण प्राधिकरणको सचिवालयले जनाएको छ ।
विभिन्न समस्याका कारण पुनर्निर्माणले गति लिन नसकेको भए पनि पुस मसान्तपछिको तथ्यांकलाई आधार मान्दा पुनर्निर्माण सन्तोषजनक रहेको पुनर्निर्माण प्राधिकरणको सचिवालय प्रमुख वासुप्रसाद हुमागार्इंले बताए । सरकारले दिने अनुदान फिर्ता गर्नुपर्ने त्रासले अहिले भूकम्प प्रभावितले धमाधम घर बनाउन सुरु गरेको उनको भनाइ छ ।
जिल्लाका ८ हजार ८६४ लाभग्राहीले दोस्रो किस्तावापतको अनुदानसमेत लिइसकेको उनले बताए । ३४ हजार ९८८ भूकम्पपीडित लाभग्राही सूचीमा परेका थिए । जसमा ३२ हजार ९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।