औद्योगिक ग्राम अन्तिम चरणमा «
Logo

औद्योगिक ग्राम अन्तिम चरणमा

पर्वत– सरकारको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण गर्ने कार्यक्रमअन्तर्गत पर्वतका सात पालिकामध्ये एउटा पालिकामा मात्र निर्माण भएको छ । स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने योजना घोषणा गरेको करिब चार वर्ष हुनलाग्दा समेत पर्वतका अन्य स्थानीय तहमा निर्माण कार्यले गति लिन सकेको छैन ।

जिल्लाका कतिपय पालिकामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार नभएको अवस्था छ भने केही पालिकामा मापदण्डअनुसारको जग्गा एकै ठाउँमा उपलब्ध नहुँदा उपयुक्त जग्गाको खोजीमा रहेका छन् । पर्वतका सात स्थानीय तहमध्ये दक्षिण पर्वतको विहादी गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको काम थालेको हो । औद्योगिक ग्रामभित्र भवनलगायतका भौतिक संरचना निर्माण गरिसकेको छ ।

अहिलेसम्म झण्डै ९० प्रतिशत काम सकिएको पालिकाले जनाएको छ । बराचौरको तिलाहारे चौरको ८२ रोपनी जग्गामा निर्माण हुन लागेको औद्योगिक ग्रामका लागि गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड २८ लाख विनियोजन गरी एबन खप्तड कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स कम्पनीलाई ८५ लाख ४६ हजारमा निर्माण कार्यको जिम्मा लगाएको थियो ।

निर्माण कम्पनीले हालसम्म भवनसहित शौचालय (महिला/पुरुष) निर्माण गरिसकेको छ । पालिकाको डीपीआरअनुसार रोड, कटिङ पार्ट, अफिस, बिल्डिङ, गार्ड हाउस, हेल्थपोस्ट, लोडअनलोड गर्ने ठाउँ, पार्किङ र ल्याण्ड स्कोपजस्ता संरचना बनाउन बाँकी रहेको गाउँपालिका सबइन्जिनियर राजकुमार श्रेष्ठले जानकारी दिए ।

अहिले औद्योगिक ग्रामको निर्माणकार्य तीव्र रूपमा अगाडि बढिरहेको बराचौरका वडाध्यक्ष गणेश शर्मा पौडेलले जानकारी दिए । ‘अहिले भवन बनाउने काम सकियो, अब अन्य काम हुने चरणमा छन्,’ उनले भने । औद्योगिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् । स्थानीयस्तरमा पाइने कच्चा पदार्थ, कृषि, दुग्ध पदार्थ, वन पैदावार, जडिबुटी, खानी, खनिज आदिमा आधारित उद्योग खोल्न सकिने व्यवस्था रहेको छ ।

गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले औद्योगिक ग्रामको भौतिक संरचना निर्माण भइसकेको र बाँकी काम दसंैलगत्तै सुरु हुने जानकारी दिए । गाउँपालिकाले कृषि र पशुजन्य, फर्निचर लगायतका विभिन्न उद्योग सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा पहिलोपटक विहादीमा स्थापना हुन लागेको उक्त ग्रामलाई महिला तथा कृषि क्षेत्रलाई केन्द्रित गरी सञ्चालन गरिने छ ।

‘स्थानीय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड दिइने उक्त योजनाले महिला उद्यमशीलता विकास र आर्थिक सशक्तिकरणका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ अध्यक्ष गुरुङले भने । सम्झौतामा औद्योगिक ग्राम स्थापनाका लागि पालिकाले आवश्यक सहजीकरण गरिदिने, आवश्यकतानुसार यसको विकास, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने र ग्राम क्षेत्रभित्रको जग्गामा उद्योग स्थापनार्थ सहयोग गर्ने उल्लेख छ ।

यस्तै औद्योगिक ग्रामका कारण आसपासको वातावरण, मानव जीवन तथा भौतिक विकास र निर्माणकार्यमा असर पर्न दिइने छैन भने औद्योगिक ग्राममा सिर्जना हुने रोजगारीका अवसरमा स्थानीयलाई प्राथमिकता दिइने भएको छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुग्ने उनको भनाइ छ ।

अध्यक्ष गुरुङले भने, ‘औद्योगिक ग्राम विहादीको चाहाना र आवश्यकता हो, यो निर्माणपछि व्यावसायिक वातावरण बन्ने छ । युवाहरूलाई व्यवसायमा आकर्षित गरेर गाउँमै रोजगारी सिर्जनाको वातावरण बनाउने लक्ष्य छ ।’ औद्योगिक ग्राम निर्माणका लागि बजेटको अभाव नहुने बताउँदै त्यसका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गरिने भएको छ । जिल्लाका अन्य दुई नगरपालिका र चार गाउँपालिकाले भने औद्योगिक ग्राम स्थापनाका लागि जग्गा व्यवस्थापन भइरहेको बताए पनि निर्माणकार्य भने सुरु गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्