व्यापारघाटाको कारुणिक तस्बिर र सुधारका उपाय «
Logo

व्यापारघाटाको कारुणिक तस्बिर र सुधारका उपाय

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालको वैदेशिक व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ । आयात १६ खर्ब ११ अर्ब ७३ करोड र निर्यात १ खर्ब ५७ अर्ब १४ करोड पुगेकाले व्यापारघाटाको तथ्यांक यस्तो देखिएको हो । नेपालको निर्यातलाई हेर्ने हो भने आयातको तुलनामा जम्मा ९.७५ प्रतिशत रहेको छ । यति मात्र होइन, निर्यातबाट आएको कुल आम्दानीले नेपालका लागि पेट्रोलियम पदार्थ खरिद गर्न पनि पुग्दैन । नेपालको वैदेशिक व्यापारको सन्दर्भमा देखिएको कारुणिक तस्बिर हो यो । यसलाई सुधार गर्ने सम्भावना नभएको पनि होइन । तर, अर्थतन्त्रको ध्यान वैदेशिक रोजगारी, विप्रेषण आय र आयात तथा आयातबाट आउने करमा मात्रै केन्द्रित छ । यसले व्यापारघाटा झनै बढाउँदै लगेको छ ।

आर्थिक वर्ष ०७९/८० मा विप्रेषण आय १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । जबकि २०६९/७० मा यो ४ खर्ब ३४ अर्ब ५८ करोड थियो । यसका साथै उक्त समयमा व्यापारघाटा रु. ४ खर्ब ७९ अर्ब ८२ करोड थियो । यसरी हेर्दा यो दस वर्षको अन्तरालमा व्यापारघाटा ३ सय प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यसैगरी विप्रेषण आय पनि पुग–नपुग ३ सय प्रतिशतले नै बढ्न गई १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । यस प्रकार विप्रेषणले मुलुकको अर्थतन्त्र चलायमान भएको मानिए पनि दीर्घकालमा यसले व्यापारघाटा वृद्धि गर्ने र परनिर्भरता बढाउने काम गरेको देखिन्छ ।

चर्को व्यापारघाटाका बाबजुत पनि मुलुक रेमिटेन्स आयले गर्दा जसोतसो चलेको छ । त्यसो त रेमिटेन्स आउँछ, बैंकमा जम्मा हुन्छ । उक्त रकम बैंकले धेरै नाफा हुने अनुत्पादक क्षेत्रमा कर्जा लगानी गर्छ । अधिकांश लगानी व्यापारमा जान्छ । व्यापारले थप सम्पत्ति सिर्जना गर्ने नभई केवल मार्जिनबाट नाफा मात्र सिर्जना गर्छ । नेपालको व्यापार आयातमा निर्भर छ । विदेशमा उत्पादन हुने सामग्री आयात गरी बेचेर व्यापारीले नाफा कमाउँछन् । यसबाट सरकारले कर राजस्व प्राप्त गर्छ भने बैंकले पनि ब्याज आम्दानी प्राप्त गर्छ । यसरी व्यापारबाट व्यापारी, बैंक र सरकारलाई फाइदा पुगेको हुँदा औद्योगिक क्षेत्रतर्फ लगानी गर्ने कुरामा कसैको पनि ध्यान पुग्न सकेको छैन ।

स्वदेशी लगानी बढ्न नसक्दा विप्रेषण आयको अधिकांश रकम विदेशी वस्तु तथा सेवाको उपभोगमा खर्च हुने गरेको छ । यही कारणले व्यापारघाटा बढाउन सहयोग गरेको छ । भौगोलिक विकटता, ऊर्जा संकट, यातायातको समस्या, राजनीतिक अस्थिरता, कमजोर औद्योगिक सम्बन्ध, उद्यमशीलताको अभाव, परम्परागत उत्पादन शैली, नीतिगत समस्याजस्ता प्रतिकूलताहरूले पनि नेपालको व्यापारघाटामा थप मलजल गरेको देखिन्छ ।

पँुजीगत खर्च कम हुनु, विलासी वस्तुको उपभोग बढ्दै जानु, देशमा नयाँ र आधुनिक उद्योगहरू स्थापना हुन नसक्नु, सञ्चालित उद्योगलाई प्रतिस्पर्धात्मक बजारमा स्थापित गर्न नसक्नु, उच्च प्रविधि एवं दक्ष जनशक्तिको अभाव हुनु, कच्चा पद्धार्थको असहजता रहनु, वैदेशिक व्यापारमा भारतसँग अत्यधिक निर्भर हुनु आदि व्यापारघाटाका कारण हुन् । यसका अतिरिक्त भौगोलिक अवस्था समान नहुनु, आधुनिक कृषि प्रणालीको विकास नहुनु, कृषिमा मौसमी बेरोजगार देखा पर्नु, आन्तरिक उत्पादनमा कमी आउनु, कृषिक्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुनु आदि कारणले पनि व्यापारघाटालाई बढावा दिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयको तथ्याङ्कलाई आधार मान्ने हो भने व्यापारघाटा कुल गार्हस्थ्य उत्पादनको २७ प्रतिशत पुगेको छ । हाल कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब रहेको मानिएको छ । यसरी व्यापारघाटा तीव्र रूपमा बढ्नुमा निर्यातको आधार सानो हुनु, निर्यातमा विशेष गरी न्यून मूल्य भएका कृषिजन्य प्राथमिक वस्तुहरूको बाहुल्यता रहनु, प्रतिस्पर्धी क्षमताको कमी हुनु, निर्वाहमुखी उत्पादन रहनु मुख्य हुन् । दु्रत गतिको सहरीकरण र आधुनिकीकरणसँगसँगै रहनसहन र जीवनयापन पद्धतिमा तीव्र परिवर्तन आउनुजस्ता कारणहरूले पनि आयातको आधार बलियो हुँदै गएको छ । यही कारणले आयात र निर्यातको खाडल बढ्न गई व्यापारघाटा उच्च भएको हो ।

मुलुकको व्यापारघाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रोत्साहनको नीति लिइनु जरुरी छ । पेट्रोलियम पदार्थको प्रतिस्थापन जलविद्युत् उत्पादनले गर्न सकिन्छ । कृषिजन्य उत्पादनको प्रतिस्थापन व्यावसायिक कृषिमा जोड दिई मलखाद, बीउबिजन एवं कृषि बजारको विस्तारबाट गर्न सकिन्छ । कृषि, पर्यटन, उद्योग, जलविद्युत्जस्ता क्षेत्रमा प्रचुर सम्भावना रहेको हुँदा यस्ता क्षेत्रको विकासका लागि सरकारी एवम् निजी क्षेत्रको लगानी बढाउनु आवश्यक छ । प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको लगानीलाई सुनिश्चित गर्न सके पनि मुलुकको उत्पादन क्षमता वृद्धि हुन सक्छ । यसले व्यापारघाटा नियन्त्रण गर्न ठूलो सहयोग पुग्न जान्छ ।

अर्थतन्त्रमा लगानीले दुई किसिमले प्रभाव पार्छ । पहिलो प्रभाव पूर्तिमा पार्छ । लगानी बढाउनाले उत्पादन बढ्न पुग्छ, जसको परिणामस्वरूप वस्तु तथा सेवाहरूको पूर्ति बढ्न जान्छ । दोस्रो कारण भनेको माग प्रभाव हो । लगानी बढ्दा आम्दानी पनि बढ्ने र यसको परिणामस्वरूप माग पनि बढ्न जान्छ । यसरी लगानी बढ्दा आर्थिक वृद्धि हुने र आर्थिक वृद्धिकै कारण पुनः लगानी बढ्ने हुन्छ । जसलाई लगानीको ‘एक्सलेटर’ प्रभाव भनिन्छ । यसर्थ लगानीले उत्पादन र आम्दानी बढाउने, आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गरी व्यापारघाटा कम गर्न सहयोग गर्ने भएकाले आजको मूल आवश्यकता भनेकै उत्पादन क्षेत्रमा लगानी हो ।

कृषिक्षेत्रमा आधुनिकीकरण, उद्योग क्षेत्रको विकास तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमार्फत वैदेशिक व्यापारमा सुधार गर्न सकिन्छ । अर्थतन्त्रको सुधारका लागि राजनीतिक प्रतिबद्धता एवम् संस्थागत, नीतिगत तथा कानुनी संरचनामा पनि सुधार आवश्यक छ । यसका साथै भारतसँगको खुला सिमानालाई व्यवस्थित गर्ने र अवैधानिक आयात र निर्यातलाई हतोत्साहित गर्नु पनि उत्तिकै जरुरी छ ।

गणतन्त्रको उपलब्धिसँगै कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रको विकास हुने र अर्थतन्त्रको सुधार भई आमजनताले प्रत्यक्ष लाभ प्राप्त गर्न सक्ने अपेक्षा थियो । तर, सरकारले वैदेशिक रोजगार र विप्रेषणलाई प्राथमिकता दिएका कारण अन्य वैकल्पिक र दिगो स्रोतको व्यवस्थापनमा ध्यान जान सकेन । यसैको परिणामस्वरूप परनिर्भरता र व्यापारघाटाको नकारात्मक प्रभाव अर्थतन्त्रमा देखिँदै गएको छ । बढ्दो विप्रेषणले उत्पादन बढाउन सकेन । यसको विपरीत उपभोगलाई प्रोत्साहित ग¥यो । त्यसैले पछिल्लो समयमा बढ्दो व्यापारघाटाको रफ्तार चिन्ताको विषय बनेको छ ।

नेपालले निर्यात वृद्धिका लागि योजनाहरू त बनाएको छ, तर त्यसको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन । आयात नियन्त्रण ठोस अभ्यासको कमीकै कारण आयात बढ्ने र निर्यात घट्ने क्रम चलिरहेको छ, जुन अर्थतन्त्रका लागि दुर्भाग्य हो ।
नेपालको ठूलो व्यापार साझेदार मुलुक भारत हो । नेपालको सबैभन्दा ठूलो व्यापारघाटा पनि भारतसँगै छ । त्यसपछि क्रमशः चीन, इन्डोनेसिया, संयुक्त अरब, अर्जेन्टिना, मलेसिया, युक्रेन, अस्ट्रेलिया, कतार र थाइल्यान्डसँग नेपालले धेरै व्यापारघाटा बेहोर्नुपरेको छ । नेपालले सर्वाधिक वस्तु आयात भारत, चीन, इन्डोनेसिया, संयुक्त अरब, अर्जेन्टिना, मलेसिया, अमेरिका, अस्ट्रेलिया, युक्रेन र कतारबाट गरेको छ । सबैभन्दा ठूलो निर्यातमा भने भारत, अमेरिका, जर्मनी, ब्रिटेन, टर्की, फ्रान्स, क्यानडा, चीन, अस्ट्रेलिया र जापान छन् ।

नेपालको वैदेशिक व्यापारमा वस्तुगत एवम् देशगत विविधता गर्न सकिएको छैन । यसले गर्दा व्यापारघाटा संकुचित पार्न सकिएको छैन । वर्षौंदेखि नेपालको निर्यात सीमित वस्तुहरूमा निर्भर छ । निर्यातमा गलैंचा, तयारी पोसाक, पस्मिना, हस्तकला र केही कृषिवस्तुजस्ता करिब एक दर्जन वस्तुको बाहुल्यता रहेको छ । व्यापारको अधिकांश हिस्सा भारतसँग रहेको छ । वैदेशिक व्यापारमा कुनै एक देशसँग अत्यधिक निर्भर रहनु आर्थिक मात्र होइन, राजनीतिक दृष्टिले पनि उचित मानिदैन । त्यसैले वस्तुगत एवं देशगत वैदेशिक व्यापार विविधीकरण गर्न बेलैमा होस पुर्याउनु आवश्यक छ ।

व्यापारघाटा कम गर्ने सामान्य कुरा भनेको कि त निर्यात बढाउनुप¥र्या वा आयात घटाउनुपर्यो । साथै, यी दुवै कार्य सँगसँगै लैजानुप¥यो । आयात घटाउने भनेको विलासिताका समानहरूको माग कम गर्नु हो । जीवन निर्वाहका वस्तु तथा सेवाहरूमा प्रतिबन्ध लगाउन सकिँदैन । त्यसैगरी निर्यात बढाउन पहिला उत्पादन गर्नुपर्छ । उत्पादन गर्दा पनि तुलनात्मक लाभका क्षेत्रहरू रोज्नु जरुरी हुन्छ । साथै, उत्पादन बढाउन लगानी बढाउनुपर्ने हुन्छ ।

अतः सरकारले पुँजीगत खर्चमार्फत लगानीको पूर्वाधार तयार गर्ने, बैंकले उत्पादनमूलक क्षेत्रमा तुलनात्मक रूपमा ब्याजदर कम लगाएर भए पनि लगानी बढाउने, साथै निजी क्षेत्रले पनि व्यवसायभन्दा उत्पादनलाई जोड दिन सक्यो भने मात्र व्यापारघाटा कम गर्न सकिन्छ । त्यसैले यस कुरामा सम्बन्धित सरोकारवाला सबैको बेलैमा ध्यान जानुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्