महासंघ अध्यक्ष राणा सद्भावना राजदूतमा नियुक्त «

महासंघ अध्यक्ष राणा सद्भावना राजदूतमा नियुक्त

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भारतको मध्यप्रदेश राज्यको इन्दौरमा एसियाटिक लिवरल मल्टीफेरियस एसोसिएसन र वल्र्ड बुक्स अफ रेकर्डसको संयुक्त तत्वावधानमा हालै आयोजित २० औ सर्वोत्कृष्ट राष्ट्रिय सम्मान कार्यक्रमलाई सम्बोधन गरेकी छन् । अध्यक्ष राणाले उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी भइ सम्बोधन गरेकी हुन् । सोही समारोहमा अध्यक्ष राणालाई आयोजक संस्थाले नेपालका लागि सदभावना राजदूतमा नियुक्त गरेको छ । सो समारोहमा प्रमुख अतिथि अध्यक्ष राणाले विभिन्न ३ सय व्यक्ति, उद्योग प्रतिष्ठानहरूलाई सर्वोत्कृष्ट राष्ट्रिय सम्मानबाट सम्मानित गरिन् ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राणाले नेपाल भारत बीचको आपसी सम्बन्धका वारेमा चर्चा गर्दै नेपालको आर्थिक विकासमा आपसी सहयोग र सहकार्यमा जोड दिइन् । वाह्य लगानी आकर्षण गरी मुलुकभित्र रोजगारी सिर्जना गर्नेतर्फ नेपाल सरकार तथा निजी क्षेत्रको जोड रहेको भन्दै अध्यक्ष राणाले यसका लागि आवश्यक मानव संशाधन विकास र स्वरोजगार सिर्जनामा एएलएमए र वल्र्ड बुक्स अफ रेकर्डस् जस्ता संस्थासंग सहकार्य गर्न महासंघ तयार रहेको बताइन् ।
नेपाल राजनीतिक स्थिरतासँगै आर्थिक विकासको मार्गमा अगाडि बढेको र वाह्य लगानी आकर्षणका लागि समेत क्रियाशिल रहेकाले रोजगारी सिर्जना हुने क्षेत्रमा सहकार्य गर्न भारतीय उद्यमीहरूलाई आग्रह गरिन् । एएलएमएले स्थापनाको दुई दशकमा वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, दीगो विकास, सूचना प्रविधि लगायतका क्षेत्र मार्फत स्वरोजगार सिर्जनामा पाएको सफलता र वल्र्ड बुक्स अफ रेकर्डसले मानिसको चौतर्फी विकासमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् ।
दुवै संस्थाको कार्य अत्यन्त अनुकरणीय रहेको भन्दै अध्यक्ष राणाले यी संस्थासंग जोडिएका अतिविशिष्ट व्यक्तिहरुसंग कार्यक्रम मार्फत जोडिन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको र यसबाट नेपालले समेत फाइदा उठाउनसक्ने बताइन् । साथै अध्यक्ष राणाले कार्यक्रमको सफलताको कामना पनि गरिन् ।
एएलएमएले लिएका कतिपय उद्देश्यहरू नेपालभित्र सरकार पछि दोस्रो ठूलो कार्य संजाल रहेको महासंघका उद्देश्यहरूसंग समान रहेको भन्दै अध्यक्ष राणाले दीगो सामाजिक आर्थिक विकासको प्रवद्र्धन, वातावरणमैत्री व्यवसाय तथा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, संस्थागत सुशासन, यूवा तथा महिला उद्यमशीलताको प्रवद्र्धन, नयां नयां व्यवसायको प्रवद्र्धनमा महासंघ क्रियाशिल रहेको स्पष्ट पारिन् ।
महासंघले पनि प्रत्येक वर्ष राष्ट्रिय सर्वोत्कृष्ट सम्मानको आयोजना माध्यमबाट उद्योग व्यवसाय, कम्पनी, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीहरूलाई प्रोत्साहित गर्दै गएको जानकारी गराउँदै अध्यक्ष राणाले यसले समग्रमा जिम्मेवार व्यवसाय विकास, कर्पोरेट वल्र्डसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको स्पष्ट पारिन् । अध्यक्ष राणाले महासंघ दुवै संस्थासंग आगामी दिनमा सहकार्य गर्न इच्छुक रहेको समेत बताइन् ।
सरकारी, निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरू गरी चारसय जनाको सहभागिता रहेको कार्यक्रमका अवसरमा अध्यक्ष राणाले कार्यक्रमका दौरान विशिष्ट व्यक्तित्वहरूसंग भेटवार्ता समेत गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्