Logo

कच्चीमा परिणत बन्दै नेपालटार-मंगलबारे सडक

इलाम- नेपालटार मंगलबारे पक्की सडक जिल्लाको पश्चिमी क्षेत्रको भाग्य र भविष्यसँग जोडिएको राजमार्ग हो । तर सडक नै राम्रो नहुँदा स्थानीयलाई सास्ती त भएकै छ तर पर्यटन प्रवर्द्धनमा समेत समस्या हुँदै आएको छ । सडकको अवस्था राम्रो हुन नसक्दा स्वास्थ्य, शिक्षासँगै रोजगारमा समेत समस्या हुने गरेको छ । ढुवानीसमेत महँगो हुनाले त्यसको प्रत्यक्ष मार सो क्षेत्रका बासिन्दालाई पर्ने गरेको छ ।

उत्पादित कृषिजन्य वस्तुको समेत मूल्य किसानले कम पाउने गरेका छन् । २०७२ सालमा कालोपत्रे गरिएको यो सडक कच्ची सडकमा परिणत बन्दै गएको छ । कालोपत्रे भए पनि नियमित मर्मत नहुँदा इलामको नेपालटार–मंगलबारे सडक पूर्णरूपमा क्षतिग्रस्त भएको हो । जिल्लाका अन्य कच्ची सडक बरु बर्खामा पनि सञ्चालनमा खासै समस्या छैन । तर पक्की सडकमा गाडी गुडाउन समस्या पर्ने गरेको सवारी व्यवसायी तथा चालकहरूको भनाइ छ ।

यस क्षेत्रबाट निर्वाचित सांसदहरूले यो विकाससलाई जोड दिन नसक्दा यस्तो स्थिति आएको हो । इलामको संघीय निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने यहाँबाट २०५६ सालदेखि निरन्तर सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गरिरहे । तर उनले विकासलाई प्राथमिकतामा राख्न नसक्दा यस्तो स्थिति आएको हो । सांसद रहेकै अवस्थामा उनको मृत्यु भइसकेको छ । सडकको अवस्था सुधार हुन नसक्दा सो सडकका धेरै क्षेत्र प्रभावित भएका छन् ।

बर्खामा हिलो र हिउँदमा धुलोको समस्या हुने गरेको छ । धेरै समस्या भए पनि माथिल्लो निकायबाट नहेर्दा सवारी गुडाउनसमेत समस्या भएको सवारी व्यवसायी टंक दहालले बताए । स्थानीय सरकार वडा कार्यालयलाई धेरै दबाब आए पनि आएको बजेटले ठूलो काम गर्न नसक्दा समस्या हुने गरेको छ । प्रायः जनताले सडकको विषयमा वडामा आएर गुनासो गर्ने गरेको इलाम नगरपालिका–१ का वडाध्यक्ष गायत्रीराम बस्नेतले बताए ।

आफूले जानेदेखि नै यो सडकको अवस्था यस्तै नै हुने गरेको उनको भनाइ छ । कच्ची हुँदादेखि पक्की भए पनि अवस्था सुधार नभएको उनले बताए । यो सडक इलाम नगरपालिका र देउमाई नगरपालिकालाई छोएको छ । वडामार्फत् नगरपालिका र माथिल्लो निकायलाई जानकारी गराउँदा कसैले वास्ता नदिँदा आफूहरू समेत समस्यामा परेको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

बहुप्रतीक्षित र बहुआयामिक महत्वको नेपालटार–मंगलबारे सडक १२ करोड रुपैयाँ खर्चेर सुरुमा कालोपत्रे गरिएको थियो । जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र जोड्ने सडक नियमित मर्मत नहुँदा पूर्णरूपमा क्षतिग्रस्त भएको छ । १२ किलोमिटर सडकको बीच–बीचमा सयौं खाल्डाखुल्डी र पहिरोले क्षति पुगेको छ । पछिल्लो पटक मर्मतका लागि डेढ करोड बजेट विनियोजन भएको सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ ।

त्यसबाट पनि ९७ लाखमा मर्मतका लागि ठेक्का लागिसकेको छ । वैशाख अन्तिममा ठेक्का लागेको सो सडक मर्मतको काम असार मसान्तभित्रमा नै सम्पन्न गर्नुपर्ने भए पनि सामान्य काम भएपछि काम रोकिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर हरिराम रिमालले बताए । उनका अनुसार सडक मर्मतकै लागि प्रदेश सरकारबाट समेत ५० लाख बजेट विनियोजन भएको जनाइएको छ ।

हुनत यो सडक, सडक विभागमा पर्न नसक्दा समेत मर्मत हुन नसकेको हो । सडक विभागमार्फत् जिल्लाका फिक्कल पशुपतीनगर सडक, फिक्कल श्रीअन्तु सडक, बिब्ल्याँटे माईपोखरी सडकमात्र हेरिने गरिएको छ । २०१५ सालबाटै मोटर गुड्न थालेको यो सडक कालोपत्रेपछि पश्चिमी इलामका बासिन्दा आवतजावतमा सहज भएको थियो । तर मर्मत नहुँदा पुनः उस्तै सास्ती झेल्नु परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्