Logo

कोरोला नाकासम्मको भौतिक संरचना निर्माणमा जोड

मुस्ताङ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भइरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।

तिब्बत र मुस्ताङ नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने, ‘तिब्बततर्फ भौतिक संरचनाहरु निर्माण भइसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ नाका खोल्ने योजना भइरहदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङतर्फ कुनै पनि संरचना नहुँदा समस्या आउन सक्ने उनले बताए ।

‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न हाम्रो तर्फपनि भौतिक संरचना जरुरी हुन्छ’ उनले भने । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ । नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने बनाउनेतर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्री पाण्डेले बताए । ‘कोरोला नाकासम्मको सडक पनि संघ सरकारको गौरवको योजना हो, यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको छ’ उनले भने ।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको बताउँदै छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने उनले बताए । पछिल्लो चीन भ्रमणका बेला कोरोला नाका खोल्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका थिए । तर नाका कहिले खुल्छ भन्ने अझै यकिन भएको छैन । उक्त विषयमा संघ सरकार, प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

‘नाका खोल्ने कुरा प्रदेश सरकारले मात्र चाहेर नहुने रहेछ, संघ सरकारसँगको समन्वयमा छिटो खोल्ने तर्फ हाम्रो प्रयास केन्द्रित छ’ उनले भने । सीमा नाका निरीक्षणसँगै गण्डकी प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिको बैठक कोरोलामा बसेको थियो । बैठकमा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकतालगायतका बारेमा छलफल भएको थियो ।

कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचनलगायत सहभागी थिए । गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीसहितको टोलीले सीमावर्ती क्षेत्रको १० भन्दा बढी गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेका थिए ।

प्रदेश सरकारबाट सञ्चालन भएका योजनाको अवस्था, चालु वर्ष बिनियोजन भएको बजेट, स्थानीयको गुनासो र प्रदेश सरकारले गर्न सक्ने सम्बोधनका बारेमा मुख्यमन्त्री, जनप्रतिनिधिहरु र स्थानीयबीच अन्तक्र्रिया भएको थियो । मुख्यमन्त्री गाउँगाउँमा पुग्दा स्थानीय निकै उत्साहित र खुसी देखिएका थिए ।

तातोपानी नाकामा चहलपहल बढ्यो

दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौं भित्रने गरेको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा एक करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ । आयातनिर्यात सहज भएमा सरकारले राखेको लक्ष्यअनुरूप राजस्व संकलन हुने केसीको भनाइ छ । ट्रान्स सिल्क ग्रुपका संयोजक विजय शेर्पाका अनुसार जाडोका कपडा, जुत्ताचप्पल, तिहारका सामान, विद्युतीय सामग्री चीनबाट आइरहेका छन् । आयात भएका सामानमध्ये ५० प्रतिशत स्याउ रहेको शेर्पा बताउछन् ।

नाकाबाट मानव आवतजावत खुला हुँदा तातोपानी क्षेत्रका होटल, लजसमेत भरिभराउ हुन थालेका छन् । विसं २०७२ को भूकम्प र कोरोना महामारीले थला परेको नाका आठ वर्षपछि सर्वसाधारणका लागिसमेत खुला भएपछि यसवर्ष भने नाकाबाट दसैँको सामान आपूर्ति हुन थालेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्