Logo

जडीबुटी निर्यातमा ध्यान खै ?

नेपालमा जडीबुटीको खेती र निर्यातको प्रशस्त सम्भावना भए पनि त्यसअनुसार न त यसको खेती हुन सकेको छ, न त निर्यात नै सन्तोषजनक छ । अहिले भइरहेको जडीबुटीको खेती र निकासीको अवस्था सर्वसाधारण नागरिकले गरेको पहलमा मात्र निर्भर छ । त्यसको एउटा उदाहरण हो- इलामको माईजोगमाई गाउँपालिका । यहाँ उत्पादित जडीबुटीको ओखती जापान र फ्रान्स पुगेको छ । गाउँमै स्थापना भएको उद्योगबाट विभिन्न किसिमका जडीबुटीको तेल उत्पादन हुने गरेको छ ।

यो उद्योगमा पाती, धुपी, मेन्था, धसिंगरेजस्ता वस्तुबाट तेल प्रशोधन गरेर निकालिन्छ । उत्पादित तेल विभिन्न तरिकाबाट विदेश पुगेको छ । मेन्थाको तेल स्थानीय बजारमा पनि खपत भइरहेको छ भने तितेपाती र धुपीको तेल अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । यसै वर्षदेखि पाती र धुपीको तेल जापान र फ्रान्स निर्यात भएको छ । यहाँ उत्पादित धुपीको तेल २५ सय, तितेपाती ६ हजार, मेन्था र धसिंगरे ७ हजार प्रतिकिलोमा बिक्री हुने गरेको छ । यस वर्ष उत्पादित ३ सय किलो तितेपातीको तेल जापान निकासी भएको छ ।

प्रतिकिलो ६ हजारका दरले तेल निकासी भएको हो । त्यस्तै, ६ सय किलो धुपीको तेल फ्रान्स निकासी भएको छ । प्रतिकिलो २५ सयका दरले १५ लाखको तेल बिक्री भएको हो । जडीबुटी निर्यात गरेर व्यवसायी मात्र धनी भएका छैनन्, यसको खेती गर्ने किसान पनि लाभान्वित हुन पुगेका छन् । यहाँका किसानले धुपी प्रतिकिलो ८ रुपैयाँ र तितेपाती प्रतिकिलो ४ रुपैयाँले घरबाटै बेच्न पाएका छन् । खेर गइरहेको पाती, धुपीलगायतबाट पैसा आउने भएपछि किसान खुसी छन् ।

मुलुकको भूगोलअनुसार कुन स्थानमा कुन जडीबुटीको खती गर्न सकिन्छ भन्ने अध्ययन–अनुसन्धान गरी त्यसअनुसार रणनीति बनाएर सरकार अगाडि बढे अहिलेको अवस्थालाई सजिलै फेर्न सकिन्छ ।

अहिलेसम्म मुलुकबाट हुने कुल निकासीमा ठूलो अंश जडीबुटीले लिएको देखिँदैन । नेपालको निकासी व्यापारमा सम्भावना भएका मुख्य क्षेत्रमध्ये भने जडीबुटी पहिलोमा पर्छ । नेपालको भूगोल पनि जडीबुटीका लागि राम्रो मानिन्छ । विश्वका कमै मुलुकमा पाइने जडीबुटी नेपालमा पाइन्छ । यहाँको यार्सागुम्बा विश्वमा लोकप्रिय छ । नेपालमा पाइने कतिपय जडीबुटी क्यान्सरजस्ता रोगको औषधि बनाउन प्रयोग हुने बताइँदै आएको छ ।

तर, ‘माल पाएर पनि चाल नपाउने’ भन्ने नेपाली उखानजस्तै सरकारले जडीबुटीको महत्त्व बुझ्न सकेको छैन । अथवा महत्त्व बुझेर पनि त्यसअनुसार यसको उत्पादन र बिक्री गर्न सरकार असफल छ । सरकारी तथ्यांकले २ अर्ब रुपैयाँ हाराहारीमा जडीबुटी निकासी भएको देखिन्छ । सरकार र निजी क्षेत्र मिलेर काम गर्न सके धेरै आकारमा निर्यात बढाउन सकिन्छ । जडीबुटी उत्पादन बढ्न नसक्नुमा धेरै कारण छन् । खासगरी यसको खेती विस्तारका लागि बीमा सुविधा छैन, बैंक तथा वित्तीय क्षेत्रले पनि यसको खेतीमा कर्जा प्रवाह गर्दैनन् ।

त्यस्तै सरकारी तबरबाट अनुदानको व्यवस्था पनि छैन । यस सम्बन्धमा भएका ऐन र कानुन बाझिएका छन् । सरकारी निकायबीच समन्वय अभाव छ र नीति पनि सहज नभई झन्झटिला बनाइएका छन् । उच्च सम्भावना भएर पनि यस्तै कारणले जडीबुटीको उत्पादन बढ्न सकेको छैन । उत्पादन नै नबढेपछि निर्यात वृद्धि हुने विषय रहेन । मुलुकको भूगोलअनुसार कुन स्थानमा कुन जडीबुटीको खती गर्न सकिन्छ भन्ने अध्ययन–अनुसन्धान गरी त्यसअनुसार रणनीति बनाएर सरकार अगाडि बढे अहिलेको अवस्थालाई सजिलै फेर्न सकिन्छ ।

काम गरे असफलता हातमा हुने थिएन । तर, सरकारलाई यसका बारेमा खासै चासो छैन । अर्कातिर सम्भावना भएर पनि निजी क्षेत्र जडीबुटी उत्पादन र निकासीमा आकर्षण हुन सकेको छैन । यो क्षेत्रमा लगानी शून्य बराबर छ भने पनि हुन्छ । केही सर्वसाधारणले स्वत:स्फूर्त जडीबुटीको खेती गरेको फेला पर्छ । नत्र प्रकृतिअनुसार जडीबुटी उम्रिने र त्यसलाई आमनागरिकले टिपेर प्रयोग गर्नेभन्दा अर्को केही छैन । व्यावसायिक रूपमा जडीबुटीको खेती भएकै छैन भने पनि हुन्छ । विश्व बजारमा जडीबुटी पठाएर आम्दानी गर्न सकिन्छ भन्ने सरकारलाई लाग्छ भने अब नयाँ सिराबाट कामको थालनी हुनुपर्छ ।

सबैभन्दा पहिले सरकारले जडीबुटीको खेती, बिक्री–वितरण र निर्यातसम्बन्धमा सबैलाई सहज हुने गरी कानुन बनाउनुपर्छ । त्यसपछि भूगोल पहिचान गरी यसको व्यावसायिक खेती गर्न सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था गरी सर्वसाधारणलाई यसतर्फ आकर्षण गर्नुपर्छ । यस्तै उत्पादित जडीबुटीका लागि महँगो मूल्यमा बेच्न विश्व बजार खोज्ने निजी क्षेत्रलाई सरकारले सहयोग गर्ने व्यवस्था हुनुपर्छ । यी सबै पक्षको व्यवस्थापन गर्न सके जडीबुटीबाट फाइदा उठाउन सकिन्छ । नत्र अहिलेको अवस्थाबाट खासै भिन्न हुने छैन ।

प्रतिक्रिया दिनुहोस्