गगनचुम्बी भवनले जोखिममा पोखरा «

गगनचुम्बी भवनले जोखिममा पोखरा

 ६ हजारभन्दा बढी घर मापदण्डविपरीत


पोखरा-“हिमालको लोभले म पोखरा बसेँ, हिमाल छेक्ने गरी पोखरामा जथभावी अग्ला घर बन्दा मैले सजिलै हिमाल देख्न पाउँदिन,” यो भनाइ होे पर्यटनविद् झलक थापाको । २७ वर्षकै उमेरमा काठमाडौंबाट पोखरा घुम्न निस्केका ७७ वर्षीय थापा पोखराका अधिकांश ठाउँबाट उत्तरतर्फ फर्किंदा हिमश्रृंखलाको दृष्य देखिने भएकाले हिमालको आकर्षणले गर्दा पोखरामै स्थायी रूपमा बस्न पुगे ।
५० वर्षदेखि पोखरालाई राम्रोसँग नियाल्दै आएका उनलाई पोखरामा हाल जथभावी रूपमा बनेका अग्ला घर देख्दा चित्त दुख्ने गरेको छ । फेवाताल क्षेत्र वरीपरी जब अग्ला घर बन्न थाले र जथाभावी फोहोर तालमा मिसाउन थालियो, त्यसयता झन्डै अढाई दशकदेखि फेवातालको पानीसमेत हालसम्म नछोएको उनी बताउँछन् । पोखरामा अग्लाभन्दा राम्रो र आकर्षक प्रायः सबैजसोको घरघरबाट हिमाल, ताल नजिक हुनेको ताल देखिने घर बनाउन उनले सुझाव दिँदै आउँदा जथभावी अग्ला घर बन्न थालेपछि २०५३ सालदेखि यस विषयमा बोल्न छाडेको उनले बताए । उनले भने, “मेरो घर काठमाडौंमा छँदाछँदै माछापुच्छ«ेको कारणले गर्दा पोखरा बसेँ, यसको अस्तित्व जोगाउन र पोखरा आउने जो कोहीले यस हिमाललाई राम्रोसँग अवलोकन गर्न पाउन् भन्नेमात्र मेरो चाहना छ ।” पोखरेलीहरूको आँखामा आत्मीयता व्यवहारमा हार्दिकता प्रष्ट देखिनुपर्ने बताउँदै उनले जथभावी अग्ला घर बनाउनु कुनै दिन अभिशाप सावित हुने जनाए ।
थापाजस्ता लाखौं व्यक्तिलाई पोखराको धेरै ठाउँबाट प्रष्ट रूपमा देखिने हिमश्रृंखलाले मोहित पार्ने गरेको छ । पोखराका अधिकांश ठाउँबाट आफ्नो आँखा अगाडि देखिने माछापुछ्रे अन्नपूर्णलगायत हिमश्रृंखलाको मनोरम दृश्यले अधिकांश पर्यटक मोहित हुने गरेका छन् । पोखराको सौन्दर्यलाई नै छेक्ने गरी पछिल्लो दुई दशकदेखि पोखरा क्षेत्रमा गगनचुम्बी घर तथा भवनहरू निर्माण भइरहेका छन् । पोखरा महानगरपालिकाले पोखरामा २०७५ साल सम्म ३५ फिट अर्थात साढे ३ तलासम्मको लागि मात्र मान्यता दिए पनि मापदण्डविपरीत गगनचुम्बी घर तथा भवनहरू बन्ने क्रमले दिननुदिन तिव्रता पाइरहेको छ । यसमा सरोकारवाला मुख्य निकाय पोखरा महानगरपालिका मुकदर्शक जस्तै भएर बसेको छ । पोखराको सौन्दर्यता लुटिँदा महानगर बेखबरजस्तै भएको छ । शंकरराज पाठक, पदम बहादुर क्षेत्रीलगायतका व्यक्तिहरूले पोखराको न्यूरोड जस्तो पोखराको सौन्यतालाई कायम गर्न उक्त मापदण्ड कार्यान्वयन गर्न पहल गरेका थिए । २०३१ मा भौतिक विकास गुरुयोजना निर्माण हँुदा सरकारबाट पदमबहादुर क्षेत्री सदस्यसचिव र तत्कालीन राजा महेन्द्रको पालामा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक शंकरराज पाठक पोखराको योजना बनाउन यहाँ आएका थिए ।

पोखराको भू–भरातल किन कमजोर ?
पोखराको सौन्दर्यतालाई प्रतिकुल असर पार्दै निर्माण भइरहेका त्यस्ता भौतिक संरचनाको विरोधमा आवाज उठाउने बुद्धिजीवि, विज्ञहरू, समाजसेवी तथा सरोकारवाला निकायहरू यति बेला थाकेका छन् । भूगर्भविद् विश्वध्वज श्रेष्ठले पोखरा क्षेत्रमा गगनचुम्बी भवन नवनाउन पटकपटक भन्दै आउँदा कसैले नटेरेको गुनासो गरे । उनले भने, “पोखरा महानगरपालिकामा धेरै इन्जिनियरहरू रहेका छन्, पोखरामा त्यही भयर गगनचुम्बी भवनहरू बनेका होलान, हामीले त पोखराको भू–धरातल कमजोर छ यहाँ धेरै अग्ला घर तथा भवन बनाउन दिनुहँुदैन, कुनै दिन जोखिम हुनसक्छ भन्दै आएका छौं, हामीले भनेको अर्थै छैन कति भन्ने अब त भन्न छाडियो ।” त्यस्तै अर्को भू–गर्भविद् खगेन्द्र पौडेलले पोखरा सेतीनदीको पश्चिम पट्टिको भाग घाचोक मर्फेसन (घुलनशील माटोको बनोट) भएकोले बिनायोजना जथाभावी अग्ला घर तथा भवन बनाउनु उच्च जोखिम हुने बताए । पोखरामा ३ देखि १३ हजार वर्षअघि तीन पटकसम्म ठूलो बाढी आएकोले पोखरामा दोस्रोपटक बाढी आउँदा घुलनशील माटोको भाग बढी आएकोले गर्दा सेती नदीको पश्चिम भागमा पुरेकोले गर्दा यहाँको जमिनको भाग कमजोर हुन पुगेको जमिनमा पानी छिरेमा जमिनमुनिको माटो पानीले घुलाउदै भ्वाङ पर्ने उनले जनाए । कास्कीको भराभरी देखि तनहुँको भिमादसम्मको क्षेत्रलाई पोखरा क्षेत्रको रूपमा आफूहरूले भन्ने गरेको भू–गर्भविद् पौडेलले जनाए । पोखरामा पहिलो पटक बाढी आउँदा तल्लोकोट फर्मेसनमा, दोश्रो पटक आउदा घाचोक फर्मेसनमा र तेश्रो पटक आउदा गेगर फर्मेसनमा बाढी आएको उनले जनाए । बिनायोजना विज्ञ तथा प्राविधिक व्यक्तिहरूको राय सल्लाह विना आफूखुसी निर्माण हुने घर तथा भवनले घरधनीसहित छिमेकी र अन्य व्यक्तिलाई समेत त्यसले प्रभाव पार्नसक्ने भएको भू–गर्भविद् पौडेलले दाबी गरे । पोखरामा कहिले नदीपुर, कहिले न्यूरोड त कहिले पोखराका विभिन्न ठाउँमा भ्वाङ पर्नु पोखराको भू–धरातल कमजोरको गतिलो प्रमाण भएको उनले दाबी गरे ।
उनले भने, “पोखरामा धेरै गुफाहरू हुनु, यहाँको भूधरातल कमजोर हुनुले यदि पोखरामा कुनै भूकम्प जस्तो विपद आइलाग्यो भने हाम्रो यस क्षेत्रमा ठूलो जनधनको क्षति हुन्छ ।” पोखरा क्षेत्रमा अग्ला भवन निर्माण गरिनु प्राकृतिक विपद् निम्त्याउनमा सघाउ पु-याउनुसरह रहेको उनले बताए । पोखरा सेतीवारिको धेरै भागमा हरेक वर्ष जसो भ्वाङ पर्ने (सिंक होल) समस्याले पोखरामा कुनै दिन अग्लो घर तथा भवन भत्कन पनि सक्ने भू–गर्भविद् पौडेलले जनाए ।
पोखरामा २०६९ वैशाख २३ गते सेती नदीमा आएको बाढीले ३२ जनाको ज्यान लियो भने ३२ जना अझै वेपत्ता छन् । त्यसैगरी पोखराको अर्मला क्षेत्रमा २०७० मंसिरमा जमिन भाषिन पुगेको थियो । यसरी हेर्दा पोखरामा जथभावी अग्ला घरहरू बनाउँदा कुनै दिन ठूलो दुर्घटना आइलाग्न सक्ने भू–गर्भविद् पौडेलको भनाइ छ । पोखराको वास्तविक भु बनोट नबुझेका व्यक्तिहरूले प्लटिङ गरेर घरहरू बनाउदा सरोकारवाला निकायले यसमा समयमै नियन्त्रण गर्न नसक्दा पनि पोखरामा हाल जथभावी रूपमा अग्ला घरहरू बनेको हुन सक्ने उनको बुझाइ छ ।
नियमन अभावले गगनचुम्बी भवन धमाधम
पोखरा लेकसाइडका दलबहादुर रानाभाटले हालै ५ तले घर निर्माण गरेका छन् । उनले साढे दुइ तलाको मान्यता महानगरबाट लिएका हुन् भने बाँकी उचाइको मान्यताबिना बनाएका हुन् । उनले भने, “पोखरामा धमाधम अग्ला घरहरू निर्माण भईरहेकाछन, पोखरा महानगरपालिकाले उचाइको हकमा मापदण्ड विपरीत बनेका घरहरू बन्दा कसैलाई केही नगरे पछि हामीले पनि होटल प्रयोजनको लागि ऋण धन गरी साढे दुई करोडमा घर बनाउँदैछु ।” पोखरामा नौ तले भवन बन्दा कसैले केहि नगर्दा यहाँ ४-५ तला बन्नु सामान्य जस्तै भएको उनले बताए ।

अग्ला घरको छेउमा त्रासमा स्थानीय
गगनचुम्बी भवनको नजिक सामान्य परिवार भएका व्यक्तिहरूलाई अग्लो घरले कुनै दिन आफूहरू थिचिन्छ कि भन्ने अर्को चिन्ता पनि छ । अग्ला घरमुनि विभिन्न पेशा व्यवसाय र आफ्नो घरमा बसेकाहरू पनि हरेक दिनजसो डर त्रासले बाँच्न बाध्य छन् । पोखराको जिरोकिलोमिटरका ७५ वर्षीय ईश्वरीप्रसाद दवाडीले आफ्नो घरअघि ७ तले भवन बनेदेखि राम्रोसँग दिनरात बिताउन नपाएको गुनासो गरे । महानगरलाई दोष दिँदै उनले भने, “पहिला महानगरकै कर्मचारीले मापदण्डविपरीतका घर वानाउन प्रोत्साहन गर्छन, केही वर्षपछि महानगरले नै मापदण्डविपरीत घर भएको भन्दै आउछ, महानगरले समयमै नियमन गर्न नसक्दा बजारमा बेथिति भएको छ, यसले तपाई हामी सबैलाई जोखिम बढाएको छ ।” पोखरामा खरले छाएका एक दुई तले घरहरू हुदाको पल स्मरण गर्दै दवाडीले पोखरामा जथभावी रूपमा अग्ला घर बनाउनुमा महानगर दोषी भएकोले महानगरलाई कारवाही हुनुपर्ने माग गरेका छन् । पोखरा लेकसाइडको हल्लनचोक किराना पसल सञ्चालन गर्दै आएकी सीता तिमिल्सिना आफ्नो पसलसँगै ९ तले अग्लो भवन बनेसँगै अग्लो घर कुनै कारणले भत्केर थिचिने हो की भन्ने त्रासमा रहेकी छन् । भाडामा पसल सञ्चालन गर्दै आएकी उनले तत्काल उक्त ठाउँ छाडेर अनेत्र जान पनि सक्दिनन्, त्यो ठाउँमा त्रासका बाबजुद बस्न बाध्य छन् । दवाडी र तिमिल्सिना जस्ता अग्ला घर तथा भवननजिक रहेका पोखरेलीलाई यस्तै पिरलोले सताएको छ ।
विश्वका धेरै मुलुकमा पर्यटकहरू मानवनिर्मित भौतिक संरचना तथा विकासको मोडल अवलोकन गर्न जाने गरेको पाइन्छ । यद्यपि पोखराको हकमा भने त्यसको ठिक विपरीतका पर्यटकहरू भित्रिने गर्दछन् । हिमाल, तालैताल र हरियो वनजंगल प्रकृतिले भरिभराउ पोखराको वास्तविक चित्रणलाई नै बिगारेर मानव जातिले गगनचुम्बी घर तथा भवन बनाए पछि पोखराको सौन्दर्यताको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । एकातर्फ अग्ला भवनहरूले प्राकृतिक सौन्दर्यतालाई प्रभाव पारेको छ भने अर्कोतर्फ पोखराको भू–वनोट निकै कमजोर रहेकोले यस्ता प्रकृतिका भवनले प्राकृतिक जोखिम उत्तिकै मात्रामा बढाइरहेका छन् । भूकम्प, बाढीजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा पोखरा आसपासका क्षेत्रहरू रहेको तथ्यांक बेलाबेलामा विभिन्न निकायले सार्वजनिक गर्दै आएका छन् ।

दिगो पर्यटनका लागि अभिषाप
पोखराजस्तो ठाउँको दिगो पर्यटनको लागि पनि अग्ला घर तथा भवन भन्दा ५-७ तलासम्मका घर तथा भवनहरू बनाउदा भौगोलिक, पर्यटकीय, र जोखिमका हिसावले पनि सुरक्षित नहुने विज्ञहरू बताउँछन् । बनेका अग्ला घर तथा भवनको नत महानगरले हालसम्म कुनै मान्यता दिएको छ नत त्यसबाट कुनै कर नै संकलन गर्न सकेको छ । पोखराको मुख्य आकर्षणको रूपमा रहेको फेवाताल वरिपरि समेत तालको भाग नै छेकिने गरी अग्ला घर तथा भवनहरू निर्माण भइरहेका छन् । पोखरामा पन्चायतकालदेखि नै दुई तलाको मान्यता हुँदादेखि नै तीन तला बनाउन सुरु भएको अग्रज पर्यटन व्यवसायी गणेश भट्टराई बताउँछन् । माओवादी सशस्त्र द्वन्द्वकालदेखि पोखरामा एकाध मापदण्डविपरीतका घर तथा भवन बनाउने कार्यले केही तिव्रता पाएसँगै २०५७ सालदेखि जनप्रतिनिधिविहीन हुँदा थप मापदण्डविपरीतका घर तथा भवन बनाउनेहरूको संख्यामा उल्लेखनीय रूपमा बृद्धि भएको नेपाल पर्यटन बोर्डका सदस्यसमेत रहिसकेका व्यवसायी भट्टराईले बताए । मापदण्डविपरीत निर्माण भएका घर तथा भवनहरूलाई महानगरले समयमै नियन्त्रण गर्न नसक्दा हाल पनि पोखराको मुख्य पर्यटकीय क्षेत्रमा बढी गगन चुम्बी भवन बनेकोे उनले दाबी गरे । भुटानमा ५ तलासम्म अग्लो घर तथा भवन बनाउन दिने गरेको उल्लेख गर्दै भट्टराईले पोखराको दिगो पर्यटनको लागि गगनचुम्बी भवन बनाउनु नै अभिषाप हुने गरेको बताए । उनले भने, “पोखरा घुम्न आउने अधिकांश पर्यटक सौंदर्यतामा रमाउन चाहान्छन्, नकी गगनचुम्बी भवनमा बस्नको लागि होइन, यहाँको एउटा होटलको रुमबाट हिमाल ताल देखिने दृष्यलाई हाल केही ठूला लगानीका होटल तथा भवन बनायर सवैको सौन्दर्यता गुमेको छ, यसरी हामीले कसरी पर्यटन प्रबद्र्धन गर्न सक्र्छौं । ”

थाक्न थाले पोखरेली
पोखरामा आफूहरूले विगत दुई दशक देखि मापदण्डविपरीतका अग्ला भवनहरू नवनाउन सरोकार निकायलाई घचघचाउदा आफूहरूले दिएको सुझावलाई नटेरेको पोखरा नागरिक समाजका निर्वतमान अध्यक्ष रामबहादुर पौडेल बताउँछन् । नागरिक अभियान्ताले असल नागरिकको भूमिका निभाउँदा पनि उनीहरूको भनाइ मनन नगरिएको उनको गुनासो छ । देश संघीयताको संरचनामा गएसँगै जनप्रतिनिधिहरू आएसंगै समाजमा हुने वेतिथिलाई नियन्त्रण हुने आशा र भरोसा गरे पनि पोखराका अग्ला घर बन्ने क्रममा कुनै रोकावट नभएको पौडेलले दाबी गरे ।

रक्षक नै भक्षक
पोखराको भवनहरूको मापदण्डको हकमा पोखरा उपत्यका नगर विकास समितिले तोकेको मापदण्डलाई कान्वयन गर्ने निकाय महानगर भएकोमा यसै वर्ष २०७६ वैशाख १ गते देखि ऐन परिवर्तन भई पोखरा महानगरका प्रमुख नै उपत्यका नगरविकास समितिको पदेन अध्यक्ष हुने व्याबस्था भएको छ । पोखरा उपत्यका नगरविकास समितिको अध्यक्षमा हालसम्म १६ जनाले नेतृत्व सम्हाले तर पनि पोखरामा मापदण्ड विपरीत निर्माण भएका घरहरूलाई निमयन गर्न सकेनन्। पोखरा महानगरका मेयर मानबहादुर जिसी भने २२ औं अध्यक्ष अर्थात १७ औं नेतृत्वकर्ताको रूपमा रहेकाछन् । नगर विकास समितिको सवै भन्दा धेरै तीन पटक अध्यक्षको भुमिकामा रहेका बिष्णु बास्तोलाले नै मापदण्ड विपरीत पोखराको न्यूरोडमा ५ तले भवन बनाएका छन् । उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछानेले आफ्नो पहलमा पोखराका केही ठाउँमा मापदण्ड विपरीत निर्माण भएका केही घरहरू भत्काएको हदा आफ्नो पालमा धेरै गगन चुम्बी भवन नबनेको दाबी गरेका छन् ।
२०६४ देखि २०६६ सालसम्म नगर विकासको नेतृत्व सम्हालेका लामिछानेले हाल महानगरले मापदण्ड विपरीत निर्माण भएका घर तथा भवनलाई मान्यता दिने गलत काम गर्न लागेको आरोप लगाए । डा. हर्क गुरुङ सहितका विज्ञहरूले दिएको सुझावलाई लत्याउनु भनेको पोखरामा कुनै दिन ठूलो विपद निम्ताउनु भएको उनले जनाए । पोखराको भु वनोट कमजोर भएकोले पोखरामा हिमाल, ताल देखिने गरी साढे दुई देखि साढे तीन तलासम्मको मान्यता दिएको ठाउँमा महानगरले अब कर संकलन गर्ने नाममा मापदण्ड विपरीतका संरचनालाई मान्यता दिनु बिडम्वना भएको लामिछानेले बताए । विज्ञहरूको सुझावलाई मनन नगरी आफूखुसी बनाएका घरलाई महानगरले मान्यता दिदै पोखरालाई कंक्रिटको रूपमा विकसित गर्न लागेको उनले आरोप लगाए । पोखरामा अग्ला घर तथा भवन बन्नु पोखराको कुनै बिषेशता नभएको बताउदै पूर्व अध्यक्ष लामिछानेले निर्विकल्प पर्यटनको राजधानी पोखरामा अहिलेको अबस्थाले जथभावी रूपमा मापदण्ड विपरीतका घर तथा भवन बन्दा पोखराको विकल्पमा अन्य क्षेत्रमा पर्यटनको राजधानी हुदा पोखराले धेरै कुरा गुमाउन पर्ने दाबी गरे । पूर्व अध्यक्ष असोक पालिखेले २०३२ सालमा तत्कालिन अन्चलाधीश शंकरराज पाठक, योजनाकार पदम बहादुर क्षेत्रीले पोखरा क्षेत्रको जनङख्या एक लाख पनि नहुदा बनाउको मापदण्ड हालसम्म कान्वयन हुनु अव्यवहारिक भएको बताए । पोखरामा ५५ फिट उचाईका घरहरू निर्माणको अनुमति दिनु पर्ने भन्दै आफ्नो पाला २०५६ मा भवन आवास शहरी मन्त्रालयमा लेखेर पठाएको मा भू गर्भविदहरूले मान्यता दिन हुदैन भनेर प्रतिकृया जनाए पछि रोकिएको जनाए । भवन बनाउने डिजाईन समेत धेरै परिवर्तन भएकोले अब ५५ फिट उचाइका घरहरू महानगरमा बनाउन दिनु उचित भएको उनले जनाए । निश्चित मापदण्ड कान्वयन हुनुपर्ने उनले जनाए । उनले भने “ सवै भन्दा पहिलो महानगरले नै निश्चित मापदण्डका आधारमा छिटो निर्णय दिनु पर्यो, महानगरले बन्दै गरेका भवनमा केही दिन रोक्ने पछि फेरी खुल्ला गर्ने गर्नु भएन । ” अवैध भवनलाई निश्चित मापदण्डका आधारमा वैधानिकता दिनु पर्ने उनले बताए ।
पोखरा क्षेत्रमा हालसम्म करिब ६ हजार भन्दा बढी मापदण्ड विपरीतका घर तथा भवनहरू निर्माण भएको पोखरा महानगरपालिकाका प्रमुख इन्जिनियर शारदा मोहन काफ्लेले बताउछन्। धेरै वर्ष पहिले देखि पोखरामा महानगरको मापदण्ड भन्दा बढी अग्ला घर तथा भवनहरू केही व्यवसायी तथा स्थानियहरूले बनाउदै आएको उनको भनाइ छ । पोखरा महानगरपालिकाले साविक पोखरा उपमहानगरपालिका हुदा १ एक देखि १८ वडासम्मको २०६८ सालमा उचाइको हकमा मापदण्ड विपरीत निर्माण भएका संरचनाहरूको विवरण पेश गर्न एवि क्रियटिभ इञ्जिनियरिङ कन्सल्टेन्सीलाई जिम्मा दिएको थियो । उक्त कन्सल्टेन्सीले संकलन गरेको विवरणमा पोखरामा उचाइको हकमा मापदण्ड विपरीत ४ हजार ९ सय ९१ वटा घर तथा भवनहरू निर्माण भएका थिए ।
भवनको उचाईको हकमा पोखरामा तीन तला अर्थात ३५ फिट सम्मको लागि पोखराका वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १८ मा अनुमति दिएको थियो । पोखराको वडा नम्बर ६ (लेकसाइड क्षेत्र ) मा २ तला अर्थात २४ फिट र वडा नम्बर १७ (पार्दी, छोरेपाटन क्षेत्र) मा २ तला अर्थात २५ फिटसम्मको उचाईमा घर तथा भवन बनाउन पाउने महानगरले अनुमति दिएको थियो । समितिले पोखरामा निर्माण भएका भवनहरूको अवलोकन सहित सोधपुछका आधारमा मापदण्ड विपरीत निर्माण भएका घर धनिको नाम, निर्माण भएको तला सङख्या समेत उल्लेख गरिएको छ । उक्त विवरण अनुसार मापदण्ड विपरीत भवन बनाउनेमा सरकारी निकाय देखि हस्पिटल, होटल, रेष्टुरेण्ट, बिद्यालय, कलेज, व्यूटिपार्लर, फिल्म हल लगायतका विभिन्न संघ संस्था र व्यक्तिहरू रहेकाछन। कास्की जिल्ला अदालतले ४ तलाको भवन बनाएको छ जुन मापदण्ड विपरीत हो । पोखरा उपत्यका नगर विकास समिति, न्यायधिशको क्वाटर, नेपाल खानेपानी संस्थान, शसस्त्र प्रहरी गण, डिआईजी क्वाटर, जिल्ला समन्वय समिति, पुरानो कर कार्यालय लगायतका सरकारी निकाय रहेकाछन्। सरकारी कार्यालयमा करिब १० वटाले मापदण्ड विपरीत उचाईको हकमा मापदण्ड विपरीत भवन भएकाछन भने एक सय ३० भन्दा बढी होटल, १४ भन्दा बढी रेष्टुरेण्ट, ९ वटा हस्पिटल, १२ वटा बैंकहरूले मापदण्ड विपरीतका भवन बनाएको उत्तल कन्सल्टेन्सिको विवरणमा उल्लेख गरिएको छ । पोखरामा अझै पनि उचाइको हकमा मापदण्ड विपरीतका भवनहरू बन्ने क्रम रोकिएको छैन ।
पोखरा महानगरपालिकाले ६ र १७ दुई वडामा मापदण्ड दुई तलासम्मको उचाई कायम गरेकोले सवै भन्दा बढी मापदण्ड मिच्ने वडा मध्य १७ र ६ नम्बर वडाका केही स्थानियहरू नै पर्छन्। उक्त समितिको तथ्याङक अनुसार वडा नम्बर १७ मा १ हजार ६ सय ६१ वटा घर उचाइको हकमा मापदण्ड विपरीत निर्माण भएका छन् । त्यस्तै वडा नम्बर ६ मा ९ सय १ वटा मापदण्ड विपरीतका भवन बनेकाछन्। सवै भन्दा थोरै वडा नम्बर १८ मा २४ वटा मात्रै मापदण्ड विपरीत निर्माण भएका भवनहरूको रहेको समितिको तथ्याङकमा उल्लेख छ । वडा नम्बर ६ मा मापदण्ड विपरीत ३ तला भवन ५ सय १ वटा निर्माण भएको उक्त विवरणमा उल्लेख छ भने ४ तले भवन २ सय ५१ वटा, ५ तले भवन ९८ वटा, ६ तले भवन ३२ वटा, ७ तले भवन १२ वटा र ८ तले भवन ७ वटा निर्माण भएका छन् ।
वडा नम्बर १ मा २ सय ५२, २ मा १ सय ५५, ३ मा १ सय ५४, ४ मा १ सय ७८, ५ मा १ सय ३३ वटा उचाइको हकमा मापदण्ड विपरीत निर्माण भएका भवनहरू रहेको समितिको तथ्याङकमा उल्लेख छ । त्यसै गरी पोखरा वडा नम्बर ७ मा १ सय २५, ८ मा ५ सय २, ९ मा ४ सय ९, १० मा १ सय ६३, ११ मा ९५, १२ मा ३१, १३ मा २१, १४ मा ४९, १५ मा ९९ र १६ मा ३९ वटा उचाइको आधारमा मापदण्ड विपरीत निर्माण भएका भवनहरू रहेका थिए । करिब ८ वर्षको दौरानमा हाल पोेखरामा करिब थप एक हजार भन्दा बढी घर तथा भवनहरू उचाइको हकमा मापदण्ड विपरीत निर्माण भएको महानगगरका प्रमुख ई.काफ्लेले बताए ।
महानगरका वरिष्ठ इञ्जिनियर पूर्णबहादुर गुरुङको संयोजकत्वमा १० सदस्य मापदण्ड विपरीत बनाएका भवनहरूको लगत व्यवस्थापन समिति समेत गठन भएको थियो । त्यसै गरी सदस्यहरूमा नागरिक समाज पोखराका राम बहादुर पौडेल, पोखरा उद्योग वाणिज्य संघका मीनराज काफ्ले, पश्चिमाञ्चल होटल संघका भरतराज पराजुली, नेपाल पत्रकार महासंघका अर्जुन गिरी, पोखरा उपत्यका नगरविकास समितिका इञ्जिनियर सुरेन्द्र सिग्देल, जिल्ला प्रशासन कार्यालयका कृष्ण प्रसाद जमरकटेल, निर्माण व्यवसायी समितिका नारायण गुरुङ र सदस्य सचिवमा महानगरका इञ्जिनियर सुरेन्द्र पौडेल रहेका थिए । त्यसै गरी कन्सलटेन्सीको तर्फबाट ईञ्जिनियरहरू याम बहादुर थापा, राजकुमार पोख्रेल, सविना पौडेल र जुनियर इञ्जिनियर पूर्णिमा गुरुङ रहेका थिए । कन्सल्टेन्सीले प्रकाशसन गरेको उक्त तथ्याङकमा पोखराका हस्पिटल , बिद्यालय, पोखराका चिकित्सक, होटल तथा रेष्टुरेण्ट, सुपरमार्केट, विभिन्न व्यक्तिका घरहरू सामान्यतया ४ तला देखि ८ तलासम्म बनाएको देखिन्छ । पोखरामा भाटभाटेनी सुपरमार्केट तीन तलाको मान्यता लियर हाल ५ तला भवन निर्माण गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम लेकसाइड र १७ मा बढी घर तथा भवनहरू निर्माण भएको प्रमुख ई. काफ्लेले बताए ।

१७ मिटर उचाईलाई मान्यता दिने तयारीमा महानगर
नक्शापास नगरेको वा आंशिक रूपमा नक्शापास गरेकालाई महानगरले नियमन गर्ने भएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए । १७ मिटर भन्दा कम उचाई भएका भवनको हकमा, भवन मापदण्ड अनुसरण गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको अवस्थामा यो भवन मापदण्ड लागु भएको मितिले ३५ दिने सूचना प्रकासित गरी बस्ती विकास निर्देशिका २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ वमोजिमको प्रक्रिया पु-याइ नक्सा पास गरिदिने मेयर जिसीले बताए । यो व्यवस्थाअनुसार नक्शापास गर्दा प्रचलित दस्तुरको तेव्वर दस्तुर राजस्व वापत वुझाउनुपर्ने प्रावधानसहित महानगरले सूचना जारी गरेको उनले जनाए । निर्माण भइसकेका १७ मिटर भन्दा अग्ला भवनलाई यो भवन निर्माण मापदण्ड लागुभएको मितिले ३५ दिनको सूचना प्रकाशित गरी बस्ती विकास निर्देशिका २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नक्शा पास गर्न आव्हान गर्दा भवन स्वामित्वकर्ताले उक्त भवनको नाप नक्सा सहितको प्राविधिक प्रतिवेदन तयार गरी माटो परिक्षण तथा स्टक्चरल डिजाइन प्रतिवेदनहरू संलग्न गरी निवेदन दिएमा महानगरपाललकाले तोकेको प्रक्रिया पु-याइ नक्सा पास गरी दिने र यो व्यवस्था अनुसार नक्शापास गर्दा प्रचलित दस्तुरको तेव्वर दस्तुर राजस्व वापत वझुाउनुपर्ने प्रवधान ल्याएको मेयर जिसीले जनाए । उक्त सूचनाको आधारमा पहिलो एक महिनामा ७ सय १० वटा घर तथा भवनको लागि अभिलेखीकरणका लागि महानगरमा निवेदन दिएकाछन्। पोखरा महानगरपालिका वडा नम्बर १८ मा १ सय ९६, वडा नम्बर ६ मा एक सय ५ वटा घर तथा भवनको अभिलेखिकरण गर्न आवेदन दिएका हुन्। पोखरा २०, २२, ३१ वडाबाट भने एउटा निवेदन समेत नपरेको महानगरले जनाएको छ । यस अघि पोखरा महानगरपालिका ६ र १७ मा २५ फिट उचाइको घर तथा भवनहरूको र अन्य वडामा ३५ फिटसम्मको उचाइको मापदण्डलाई अनुमति दिएको थियो ।
पोखरामा बार्षिक ४ हजार घर नक्सा पास
पोखरामा आर्थिक वर्ष २०७५-०७६ मा ३ हजार ९ सय ७७ जनाले घर सम्पन्नको नक्सा पास लिएको महानगरले जनाएको छ । अघिल्लो वर्ष ४ हजार २ सय ३३ थियो भने २०७३-०७४ मा २ हजार ४ सय ८० वटा घरको भूकम्प सुरक्षा तथा घर नक्शा शाखाबाट नक्सा पास लिएका थिए । पोखरामा २०६८ सालको जनगणना अनुसार घर परिवार सङख्या १ लाख ५ हजार ८ सय ४४ रहेको तथ्याङक कार्यालय पोखराका खरिदार शिव बरालले बताए । महानगरका अनुसार २०६९ साल देखि २०७५-०७६ सम्म २२ हजार ६६ सय १५ वटा घर तथा भवनहरू निर्माण भएकाछन् ।
पोखरामा शक्ति र पहुचका भरमा उच्चपदस्थ व्यत्तिबाट होटल उद्घाटन
पोखरामा शक्ति र पहुचका भरमा देशका उच्च पदस्थ व्यत्तिबाट मापदण्ड विपरीत निर्माण भएका होटलहरूको उद्घाटन गराउने प्रयास भएको छ । साढे दुई तलाको मान्यता लिएर भुई तला सहित १० तले होटलको उद्घाटन गर्न उपराष्ट्रपति देखि प्रधानमन्त्रीलाई समेत प्रयोग गरिएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले गत माघ २ गते पोखराको बुद्धचोकमा मापदण्ड विपरीत निमार्ण भएको १० तले होटल टाक्स इन्टरनेश्नलको उद्घाटन गरेर आलोचित भएका थिए । पोखरामा हालसम्म बैधानिक रूपमा तीन तले अर्थात ३५ मिटरसम्म उचाइका घर तथा होटल एवं भवनहरू निमार्णको अनुमति भए पनि मापदण्ड विपरीत निमार्ण भएको होटलमा उपराष्ट्रपति जस्तो व्यक्तिले उद्घाटन गर्नु निकै हास्यास्पद भएको पोखरेलीले चर्चा गरेका थिए । होटल संचालक मीन गुरुङले महानगरबाट मान्यता दिएको ३५ फिटसम्मको उचाइको मान्यता लिएको अन्य तलाको हकमा मान्यता नदिएकोले नलिएको बताए । उनले भने “ पोखरामा धेरै अग्ला घर तथा भवनहरू बन्दै आएकाछन्, यसमा कुनै निकायले खासै केही नगरेकोले आफूले पर्यटन प्रबद्र्धन गर्ने हिसावले उक्त होटलमा लगानी गरेको बताए । ” प्राविधिक हिसावले बलियो भवन बनाएको उनको दाबी छ ।
नागरिक समाज पोखराका निवर्तमान संयोजक रामबहादुर पौडेलले विद्यमान कानुनविपरीत कुनै पनि संचरना निर्माण हुनु सामाजिक अपराध भएको बताए । उनले भने, “उपराष्ट्रपतिजस्तो व्यक्तित्वले मापदण्डविपरीतका कुनै पनि संरचना निर्माणमा निरुत्साहित गर्नु पर्नेमा प्रश्रय दिने गरी उद्घाटन गर्नुहँुदैन, मापदण्ड विपरीत निमार्ण भएका संरचनाको उद्घाटन गर्नु राम्रो भएन ।” राष्ट्रको उच्च पदमा रहेका व्यक्तिले मापदण्ड विपरीतका संरचना निमार्णमा संलग्न हुनु निकै दुःखलाग्दो कुरा भएको उनले जनाए । उक्त होटलको उद्घाटन समारोहमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसमेत सहभागी भएका थिए ।
यसैबिच, पोखराको लेकसाइडमा हालै निर्माण भएको स्विस इन्टरनेश्नल होटल सरोवरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्पूर्ण तयारी गरिए पनि चौ–तर्फी दबाब आए पछि अन्तिम अबस्थामा आएर स्थगित भएको थियो । गत जेठ १८ गते उक्त होटलको उद्घाटन गर्ने भनि प्रधानमन्त्री करिब दुई घण्टा समय होटलमै विताए पनि अन्तिम अबस्थामा उद्घाटन नगरि फर्किएका हुन्।
वित्तीय य जोखिम
पोखरा क्षेत्रमा हाल सरकारी अनुमति विना निर्माण भएका घर तथा भवनको विक्तिय रूपमा उच्च जोखिम भएको नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखराका अध्यक्ष केशवराज ढकालले दाबी गरे । उनले भने, “बिमा कम्पनीहरूले सरकारी नीति नियमअनुसार चल्नु पर्छ, सरकारले मान्यता नदिएको घर तथा भवनमा बिमाको जोखिम बहन गर्न सकिदैन, यदी भोलि कुनै आग्लागी, भूकम्प लगायका विपद् आइलाग्दा त्यसको जोखिम स्वयम व्यत्ति वा सम्बन्धित निकायले आफैं बेहोर्नुपर्छ ।”
जसरी २०७२ मा नेपालमा आएको भूकम्पको वेला काठमाडौंमा धेरै जन धनको क्षति पुग्यो त्यही किसिमबाट कुनै दिन पोखरामा विनाशकारी भूकम्प आएको खण्डमा पोखरेली र पर्यटकहरूलाई यसले कति प्रभाव पार्न सक्ला भन्ने कुरा हामीले सजिलै आकलन गर्न सकिँदैन । गगनचुम्बी भवनको निर्माणले एकातर्फ घर धनि तथा व्यवसायी आफैंलाई प्राकृतिक प्रकोपको उच्च जोखिममा राखेको छ भने सरकारको मान्यता विनै निर्माण भएका त्यस्ता संरचनाको विक्तिय जोखिम कुनै संस्था वा बिमा कम्पनीले समेत लिन नसक्ने हुदा विक्तिय जोखिमको अवस्था त्यतिकै मात्रामा रहेको छ । पर्यटनको राजधानीको रूपमा रहेको पोखरामा सौन्र्यतालाई हामीले ध्वस्त पार्दै जाने हो भने भोलिको पोखरामा पर्यटक किन आउने र हाम्रा भावी पुस्ताले तपाई हामी सवैलाई अवश्य पनि गलत रुपमा स्मरण गर्नेछन् । जसरी महानगरले जथभावी रूपमा अग्ला घर तथा भवन बन्दा चुप लागेर बस्यो जसले गर्दा निजी क्षेत्रले अस्त व्यबस्त ढंगले जोखिम निम्त्याउने गरी हाल पोखरामा करिब ६ हजारभन्दा बढी घर तथा भवन बनेकोमा त्यसको जिम्मा कसले लिने यसमा गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्