नेपालमा परीक्षण भएका अलैंची भारतमा निर्वाध «

नेपालमा परीक्षण भएका अलैंची भारतमा निर्वाध

झापा-नेपालमा क्वारेन्टाइन पास भएको अलैंचीलाई भारतले मान्यता दिने भएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा हालै दुई मुलुकका अधिकारीबीच भएको सहमतिपछि नेपालमा क्वारेन्टाइन पास भएका अलैंचीलाई भारतमा निर्वाध प्रवेशको सुविधा दिने सहमति भएको हो । नेपालको गुणस्तर परीक्षण क्वारेन्टाइनलाई मान्यता दिनुपर्छ भन्ने मागको सम्बोधन भएकाले क्वारेन्टाइन परीक्षणका नाममा व्यवसायीले झेल्दै आएको झमेला अन्त्य भएको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । अलैंची यवसायीको लामो प्रयासपछि नेपालमा क्वारेन्टाइन पास भएको अलैंचीलाई भारतले मान्यता दिने भएको होे । नेपालको परीक्षणलाई मान्यता दिने भएपछि अलैंची व्यवसायी र किसान उत्साहित भएका छन् ।
नेपालले भन्सारमा राखेका क्वारेन्टाइन अन्तर्राष्ट्रियस्तरको भए पनि भारतले नेपालको परीक्षाणालाई मान्यता दिएको थिएन । व्यवसायीले अलैंची निर्यातको सिजनमा क्वारेन्टाइन परीक्षणका लागि कलकाता पु¥याउने गरेका थिए । अब भने व्यवसायीलाई समेत केही सहज भएको नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई बताउँछन् । “परीक्षणका लागि अलैंची कलकाता पु-याउँदा प्रत्येक व्यवसायीले वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म खर्च बेहोर्नुपर्ने बाध्यता थियो,” भट्टराईले भने, “एक पटकको क्वारेन्टाइन परीक्षणका लागि ३० गाडी अलैंचीको, ३० बोरा नमुना कोलकाता पु¥याउनुपर्ने र उक्त अलैंची परीक्षण भएर ६ महिनापछि मात्र फिर्ता आउने हुनाले ३० बोरा अलैंची धरौटी राखे सहर हुने गरेको थियो ।” अहिले मेची भन्सार कार्यालय काकरभिट्टा र रानी भन्सार कार्यालय विराटनगरबाट नेपाली अलैंची भारत तथा तेस्रो मुलुक पुग्ने गरेको छ । अघि विराटनगर भन्सारबाट अलैंची निर्यात हुँदै आएको थियो । झापाको काकरभिट्टा भन्सार हुँदै अलैंची निर्यात गर्दा व्यवसाय झनै सहज भएको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्