चैत तेस्रो साता दोस्रो सहकारी महासम्मेलन «

चैत तेस्रो साता दोस्रो सहकारी महासम्मेलन

 

सहकारीमार्फत प्राप्त उपलब्धिको समीक्षा गर्दै आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने उद्देश्यसहित चैत तेस्रो साता दोस्रो सहकारी महासम्मेलन हुने भएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघ मुख्य आयोजना तथा सहकारीका केन्द्रीय निकायहरूको सहआयोजक हुन लागेको महासम्मेलनमा देश विदेशका सहकारी विज्ञसहित सहकारी क्षेत्रमा क्रियाशील १२ सयभन्दा बढी सहकारीकर्मी सहभागी हुने छन् ।
महासम्मेलनका लागि महासंघका अध्यक्ष केशव बडालको संयोजकत्वमा ५१ सदस्यीय महासम्मेलन मूलआयोजक समिति गठन गरिएको छ । समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव, अर्थ मन्त्रालयका सचिव, राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरू, राष्ट्रिय सहकारी विकासबोर्डका सहअध्यक्ष, सहकारी विभागका रजिष्ट्रार, राष्ट्रिय सहकारी बैंक तथा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरू रहेका छन् । समितिको सदस्य सचिवमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धकलाई चयन गरिएको छ ।
महासम्मेलनले नेपालको सहकारी अभियानमा हालसम्मको उपलब्धिको समीक्षा गर्दै थप उपलब्धिमूलक बनाउने, सन् २०३० सम्मको दीगो विकास लक्ष्य प्राप्तिका लागि सहभागिता र योगदानमा वृद्धि गर्ने, सरकार तथा सहकारी अभियान एवं सरोकारवाला निकायहरूबीच सुदृढ सम्बन्ध र समन्वयको भावना विकास गर्ने लक्ष्य रहेको सदस्य सचिवमा महासंघकी कामु महाप्रवन्धक चित्रा सुब्बाले जानकारी दिइन् ।
महासम्मेलनबाट सहकारी क्षेत्रमा रहेका साझा समस्याको पहिचान तथा भावी कार्य दिशा निदृष्ट गर्ने, अन्तर्राष्ट्रिय सहकारी महासंघको लक्ष्यअनुरुप सहकारी दशकभित्र सहकारी व्यवसायको सुदृढीकरणका लागि थप पहलकदमी लिने र सहकारी संघ संस्थाहरूबीच ऐक्यबद्धता एवं साझा प्रतिबद्धताहरू कायम गर्ने लक्ष्य लिइएको बताइएको छ ।
नेपालमा पहिलो पटक २०७० साल चैत ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सहकारी महासम्मेलन भएको थियो ।

आईसीएका अध्यक्ष आउने
महासम्मेलनमा विश्वका सहकारीहरूको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए)का अध्यक्ष एरियल गुरेको आउने भएका छन् । यसैगरी विश्वका विभिन्न देशबाट सहकारी विज्ञहरूले सहभागिता जनाउने महासंघले जनाएको छ ।
महासम्मेलनको अघिल्लो आईसीए एसिया प्रशान्त क्षेत्रको बैठक पनि नेपालमा गर्ने तय भएको छ । आईसीए एसिया प्रशान्त क्षेत्रमा महासंघका अध्यक्ष बडाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्