खुले रुइला र ङुइला नाका «
Logo

खुले रुइला र ङुइला नाका

गोरखा– उत्तरी छिमेकी चीन जोड्ने रुइला र ङुइला नाका चार वर्षपछि खुलेका छन् । चार वर्षअघि कोभिड महामारीलाई कारण देखाउँदै यी नाका चीनले बन्द गरेको थियो ।

चुमनुब्री गाउँपालिका–१ को रुइला र ७ छेकम्पारको ङुइला नाका खोलिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको चीन भ्रमणका बेला नेपाल र चीनबीच सबै नाका खुला गर्ने सहमति बनेको थियो ।

नाका खुला भएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले तिब्बती सीमा पार गर्न चुमनुब्री गाउँपालिकाका बासिन्दालाई पास वितरण गर्न सुरु गरेको छ । चुमनुब्री गाउँपालिका–३ फिलिमस्थित इलाका प्रशासन कार्यालय सिर्दिबासबाट पास वितरण सुरु भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिए ।

‘गृह मन्त्रालयले गत असोज १० को मन्त्रीस्तरीय निर्णयअनुसार चीनसँग सीमा जोडिएका स्थानीय बासिन्दालाई सीमा पारका लागि पास उपलब्ध गराउन निर्देशन दिएको थियो,’ प्रमुख जिल्ला अधिकारी भुषालले भने, ‘सबै जिल्लाको पासमा एकरुपता दिन गृहले नै पासको डिजाइन पठायो । हामीले जिल्लामा नै छपाई सकेर बुधबारदेखि वितरण सुरु गरेका हौं ।’

नाका पास वितरणका लागि सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर राना मगरसहितको टोली सिर्दिबास पुगेको छ । सिमानाबाट ३० किलोमिटर आसपासका बासिन्दाले पास लिन नागरिकताका साथमा दुई प्रति फोटो लिएर व्यक्ति स्वयं इलाका प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने छ । अहिले वितरण गरिएकोे पासको म्याद एक वर्षसम्म रहनेछ । त्यसपछि हरेक वर्ष नवीकरण गर्नुपर्नेछ ।

अब चुमनुब्री गाउँपालिका वडा नं. १, २, ४, ५, ६ र ७ का बासिन्दा चीनतर्फको रुइला र ङुइला नाका पार गरी दैनिक उपभोग्य सामग्री किनमेलका लागि नजिकको तिब्बती बजारसम्म आवतजावत गर्न पाउने भएका छन् । छेकम्पारस्थित ङुइला नाकाबाट सो क्षेत्रका स्थानीय तिब्बतको स्या र जोङ्गा बजार पुगेर उपभोग्य सामग्री खरिद गर्छन् । ङुइला भञ्ज्याङबाट स्या करिब ५ किलोमिटर र जोङ्गा करिब १५ किलोमिटरको दूरीमा पर्छ । त्यस्तै, सामागाउँस्थित रुइला नाकाबाट तिब्बतको कोङ्दाङ बजार पुगेर स्थानीयले आवश्यक उपभोग्य सामग्री खरिद गर्ने गर्छन् ।

नाका बन्द हुँदा स्थानीयबासीले दैनिक उपभोग्य वस्तु आरुघाटबाट लैजानुपथ्र्यो । चार दिन लगाएर खच्चडबाट सामान लैजानुपर्ने भएकाले ढुवानी मूल्य बढी हुन्थ्यो । नाका खुलेर सीमा पारको पास पाएसँगै नजिकैको तिब्बती बजारमा सस्तोमा सामान किनमेल गर्न सकिने भन्दै स्थानीय खुसी भएका छन् । खच्चडको ढुवानी भाडा चर्को तिर्दै आएका स्थानीय तिब्बतको बजारबाट आफ्नै चौंरी र घोडामा बोकाएर उपभोग्य सामग्री ल्याउँदा ढुवानीको मूल्य घट्ने भन्दै खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्