Logo

जमुनाहा नाकामा हेल्प डेस्क

नेपालगञ्ज– नेपालगन्ज उद्योग वाणिज्य संघले सीमा नाकामा एक सय रुपैयाँ भन्दा बढीको सामान आयातमा हुने चेकजाँचलाई सघाउन जमुनाहा नाकामा हेल्प डेस्क स्थापना गरेको छ ।

‘स्वदेशमा खरिदारी गरौं, देशको अर्थतन्त्र सबल बनाऔं’ भन्ने नाराका साथ भन्सारमा सचेतना तथा सहजीकरणसँगै हेल्प डेस्क स्थापना गरेको हो । यसअघि पटक पटक भन्सार कार्यालय, जिल्ला प्रशासन, अर्थमन्त्री र प्रधानमन्त्रीसमेतलाई भेटेर नाकामा कडाई गर्न माग गर्दै आएको संघ नेतृत्वले सरकारले माग सुनुवाई नगरेपछि आफैले हेल्प डेस्क सञ्चालन गरेको जनाएको छ ।

नाकामा हेल्प डेस्क सञ्चालनमा ल्याएपछि संघले सोमबारदेखि भारतबाट किनमेल गरी फर्किनेको अभिलेख संकलन कार्य सुरु गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले भारतीय सीमावर्ती बजार रुपैडियाबाट सामान किनेर फर्किने मानिसको नाकामा अभिलेख संकलन गर्न सुरु गरिएको बताए ।

‘यो अभिलेखले कति मानिस दैनिक सीमापारी सामान किन्न जान्छन्, उनीहरुले खरिद गर्ने सामानको विवरणका बारेमा सूचना प्राप्त हुनेछ’ उनले भने, ‘यसका आधारमा त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर योजना बनाउन सरकारलाई सघाउ पुग्ने छ ।’

सीमा नाकामा एक सय रुपैयाँभन्दा माथिको सामान आयात गर्दा भन्सार शुल्क लाग्ने नेपाल सरकारको नियम कार्यान्वयन गर्न आफूहरुले सहयोग गर्ने भन्दै उनले सीमामा उपभोक्तालाई परेको असहज परिस्थितिमा पनि सहजीकरण गर्ने बताए । वाणिज्य संघले प्रत्येक दिन २३ हजार मानिस सीमापारी जाने गरेको र दैनिक ११ करोड भन्दा बढीको मालसामान बिना भन्सार भित्रिने गरेको अनुमान यसअघि नै गरेको छ ।

यो अभिलेख राख्न सुरु भएपछि बास्तविक तथ्यांक आउने र त्यसका आधारमा सरकारलाई सहयोग पुग्ने अध्यक्ष धामीको विश्वास छ । भारतबाट किनमेल गरी फर्किनेको अभिलेख संकलन अभियानले भन्सारको दैनिक राजस्व संकलन बढनुका साथै व्यापारमा व्यवसायीकोस् वस्थ्य प्रतिस्पर्धा हुने अपेक्षा संघको छ ।

यसअघि बाँकेका डेढ दर्जन उद्योगी व्यवसायीले खुला सीमा नाका, सीमा नाकाबाट हुने क्यारिङ र बजार अनुगमनका कारण भोग्नु परेको समस्याबारे सरकारी अधिकारीलाई ध्यानाकर्षण गराएका थिए । तर कुनै सुनुवाई नभएपछि नाकामा हेल्प डेस्क सञ्चालन गरी भारतबाट किनमेल गरी फर्किने नेपालीको अभिलेख संकलन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्