हान र अध्यागमन विभागबीच छलफल

काठमाडौं– होटल संघ नेपाल (हान) र अध्यागमन विभागबीच छलफल भएको छ । हानका अध्यक्ष विनायक शाहको नेतृृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग भेट गरेको हो ।
उक्त अवसरमा कोभिडपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकको नेपाल भ्रमणप्रतिको आकर्षण बढाउन र सीमा नाकालगायतका विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरुमा छलफल भएको थियो । प्रतिनिधिमण्डलले राखेका जिज्ञासामा महानिर्देशक तामाङले सकारात्मकता दर्शाउँदै संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बूढासँग भेटघाट गरी मुलुकमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरूका लागि तयार गरिएका न्यूनतम मापदण्डमा संशोेधन गर्नुपर्ने बताएको थियो ।
महानिर्देशक बूढाले उक्त सुझावलाई समय सापेक्ष बनाइने र निरन्तर संवाद र छलफलमार्फत व्यावसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।