रवि लामिछाने पाँच लाख धरौटीमा रिहा «

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

युवराज कँडेल तीन लाखमा र अस्मिता कार्की साधारण तारेखमा छुटे

 पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई पाँच लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलाशले यस्तो आदेश दिएको हो ।
रविसँगै पक्राउ परेका युवराज कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ ।
साथै अदालतले पुडासैनी आत्महत्या प्रकरणको विषयमा कार्यक्रम चलाउने नपाउने आदेश पन दिएको छ । त्यस्तै, मुद्दाको किनारा नलागेसम्म लामिछानेलाई विदेश जानसमेत रोक लगाउने आदेश भएको बताइएको छ ।
आइतबारमात्रै जिल्ला सरकारी वकिलको कार्यालयले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा लामिछाने, कँडेल र कार्कीमाथि पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गर्दै अभियोग दायर गरेको थियो ।
पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए । उनले आत्महत्याअघि मोबाइलमा भिडियो रेकर्ड गर्दै आफूलाई आत्महत्या गर्न रविसहित, युवराज र अस्मिताले बाध्य पारेको बताएका थिए । सोही भिडियो र अन्य प्रमाणका आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । घटनाको अनुसन्धान चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्