पर्साका दर्जन खानेपानीका ट्यांकी उपयोगविहीन «

पर्साका दर्जन खानेपानीका ट्यांकी उपयोगविहीन

वीरगन्ज-मुलुकले स्वच्छ खानेपानी आपूर्ति गर्न बर्सेनि खर्च गर्दै आएको छ । तर पर्सामा भने सरकारले स्वच्छ खानेपानी आपूर्तिको लागि बनाइदिएका करोडौंका संरचना उपयोगविहीन हुदा एकातिर संयुक्त राष्ट्र संघद्धारा सन् २०३० सम्म लक्षित दिगो विकास लक्ष्य प्राप्ति समेत प्रभावित हुने देखिएको छ भने अर्कोतिर खानेपानी र सरसफाइको लागि मुलुकले राखेका लक्ष्यहरू समेत प्रत्यक्ष÷परोक्ष रूपमा प्रभावित बन्न पुगेको छ । दिगो विकास लक्ष्य (एसडीजी)का १७ लक्ष्यहरू मध्ये लक्ष्य नम्बर ६ मा शुद्ध खानेपानी र सरसफाइ पर्छ भने लक्ष्य नम्बर ३ मा राम्रो स्वास्थ्य र वेलविइङ पर्छ ।
पर्सामा खानेपानी आपूर्तिको लागि करोडौं लगानीमा बनेका १२ वटा खानेपानीका ट्यांकीहरू एकातिर उपयोगविहीन बनेका छन् भने अर्कोतिर नागरिकले चापाकलको आर्सेनिक युक्त खानेपानी पिउन विवश छन् । सम्बन्धित स्थानीय तह, उपभोक्ता समिति र उपभोक्ताको लापर्वाहीले ट्यांकी प्रयोगमा आउन नसकेको हो ।
यहाँका पोखरीया, भिषूवा, झौवागुठी, अलौ, बिन्दवासीनी, परशुरामपुर बहुअर्वाभाठामा खानेपानीको टंयाकी निर्माण भईसके पनि सञ्चालनमा छैनन् । उता कतिपय स्थानीय तहमा भने खानेपानी ट्यांकी निर्माणाधीन छ केही स्थानीय तहमा चाहिँ ट्यांकी निर्माण सम्पन्न भइ पानी आपूर्ति भैरहेको छ । महुवन र सेंढवाका ट्यांकीको भने काम सम्पन्न हुन बाँकी नै छ भने चालू आर्थिक वर्षमा सुवर्णपुर, सोलखपुर, बढनीहार, मनवा, रंगपुर र सोनवर्षामा खानेपानीको टंयाकी बन्दै छ । ठोरीको हनुमाननगर र बिजयबस्तीको ट्यांकी चाहिँ सञ्चालनमा आएको छ ।

पोखरीयाको पीडा

पानी ट्यांकी निर्माण सम्पन्न भएको २५ वर्ष हुँदा समेत सञ्चालनमा छैन । उपभोक्ता समिति र उपभोक्ता दुवैको बेवास्ताले खानेपानीको ट्यांकी संचालनमा आउन नसकेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले उपभोत्ता समितिलाई हस्तान्तरण गरेको पानी ट्यांकी संचालनमा नआउँदा स्थानीय चापाकलको आर्सेनिकयुक्त खानेपानी पिउन विवश छन् । ट्यांकीबाट उपभोक्ताको घरघरमा पानी आपूर्तिका लागि विछ्याइएको पाइप सडक फराकिलो पर्दा भत्केको छ ।
२०६८ को जनगणना अनुसार ५५ हजार १ सय ५३ जनसंख्या रहेको पोखरियामा ८ हजार २५ घरपरिवार छन् । तर, खानेपानी उपभोग गर्न दुई÷तीन जनाले मात्रै सदस्यता लिएका छन् । सदस्यता लिएका वकिल मियाँ स्वास्थ्यको दृष्टिकोणले ट्यांकीको पानी उपयुक्त हुने बताउँछन् । उनले ट्यांकीको पानी आपूर्ति नहुँदा ट्युवेल नै प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । ट्युवेल जडान गरेका उपभोक्ताको संख्या कम हुनाले पनि पानी टंकी संचालनमा समितिलाई दबाव पुग्न सकेको छैन ।
समितिका उपाध्यक्ष समेत रहेको साविकको पोखरिया गाविसका उपाध्यक्ष गोवद्र्धन यादवले खानेपानी उपभोत्ता समिति राजनीतिक अखडा बनेको बताउछन् । उनी भन्छन्, “आफ्नो घरको पैसा भए पो माया लाग्छ । सरकारको पैसा जाने हो । खानेपानी टंकी संचालनमा नल्याएपनि बर्सेनि मर्मत सम्भारको नाममा पैसा ल्याउदै खर्च देखाएर अनियमितता गर्ने गरेका छन् ।” दुईतीन पटक संचालनका लागि तालाबन्दी पनि भयो । सिस्टममा ल्याउन खोजियो, स्वार्थकै कारणले सिस्टम लागू हुन सकेन, यादवले भने ।

अलौमा पनि उस्तै

वीरगन्ज महानगरपालिका– १७ अलौमा पनि टंकी निर्माण भएको बर्षौ भईसक्दा समेत अहिलेसम्म संचालनमा आएको छैन । अलौंका उपभोक्ताहरू भने खानेपानी प्रयोगको लागि इच्छुक भएपनि उपभोक्ता समितिले ट्यांकी संचालन नहुँदा पानी उपयोग गर्न नपाएको बताउँछन् । उपभोक्ता हरेराम साहले खानेपानी टंकीबाट आपूर्ति गरिएको पानी प्रयोग गर्न पाउनु पर्ने बताए । “पानी टंकीबाट आउने पानी स्वच्छ हुन्छ,” साहले भने, “रोगहरूबाट पनि बच्न सकिन्छ । तर, टंकी संचालनमा नआउँदा ट्युवेलकै पानी उपयोग गर्न बाध्य छौं ।”

निर्माण गर्न करोड

प्रति टंयाकी निर्माणका एक करोड सम्मको लागत परेको छ । यत्रो लागतमा निर्माण भएका टंयाकीहरू एकै वर्षमा निर्माण सम्पन्न हुदैनन् । यसलाई बहुवर्षीय परियोजनामा राख्ने गरिएको छ । उता अझै पनि टंयाकी निर्माणको काम जारी नै छ । पर्सामा बनेका ओभर हेड टंयाकीको क्षमता १ लाख लिटर रहेको छ । जसबाट पाँच सय घरधुरी सम्मलाई स्वच्छ पिउने पानीको आपूर्ति हुन सक्छ । पानी आपूर्ति नभएपनि ०५० साल देखि निर्माण भएका टंयाकीहरूको मर्मत हरेक वर्ष भइरहेको छ । मर्मत सम्भारको शीर्षकमा राज्यको रकम खर्च भइरहेको छ भने ओच्छयाएका पाइपहरूको नामो निशान छैन । 

पर्सा जिल्लामा खानेपानीको टंयाकी निर्माणको लामो इतिहास छ । पानीटंयाकी निर्माण गर्दा पनि टयूवेलहरू सुक्छन त्यसैले पानीटंयाकी बनाउनु पर्छ भन्दै निर्माण गरिएको थियो । नागरिकले सिँचाई माग गरेका थिए । तर सरकारले पानीटंयाकी बनायो । त्यसरी बनाएको टंयाकी संचालनमा नआउदा उपभोक्ताहरू नै अन्यौलमा परेका छन् ।

बजेट बालुवामा पानी
नागरिकलाई स्वाच्छ पिउने पानी दिने सरकारी नीति रत्तिभर पनि कार्यान्वयनमा आएको छैन । राज्यको करोडौ रूपैया खर्च भएको छ । तर त्यसको प्रतिफल उपभोग गर्नबाट नागरिक बन्चित छन् । नागरिकको करबाट बनाइएका योजनाहरू संचालनमा ल्याउन नपर्ने र त्यसको जवाफदेहीतामा सरोकारवालाहरूको उदासिनताले राज्यको करोडौं रकम उपयोग विहिन भएको छ । विगतमा सरकारले निर्माण गरिदिएको खानेपानी टंकीहरू उपभोत्ता समितिलाई हस्तान्तरण गरेको र अधिकांश उपभोक्ता समितिहरू पनि समयावधि सकिएर अवैध भएकोले स्थानीय तहले त्यसलाई स्वीकार गर्न सकेको छैन । तर, राज्यले पर्सा जिल्लामा मात्रै १० करोड ९१ लाख ७३ हजार रकम खानेपानी टंकी, स्यालो ट्युव वेलमा खर्च गरेको छ ।
पर्सामा निर्माण सम्पन्न भएका खानेपानी टंकी संचालनमा नआउनुमा उपभोत्ता समिति नै मुख्य दोषी रहेको खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४ कार्यालयका इन्जिनियर रामहित यादव बताउछन् । आयोजना निर्माणमा जनश्रमदान गर्नुपर्ने पनि नीति छ । तर स्थानीयहरू श्रमदान पनि गर्दैनन् । राज्यको पैसामा मात्रै आँखा लाउछन् । उपभोक्ता समितिका अध्यक्ष पक्षकै व्यक्ति गाउँपालिकाको अध्यक्ष छ भने मात्रै बजेट पाउछन् । र संचालनमा ल्याउन सकिन्छ । नभए उपभोक्ता समितिले संचालनमा ल्याउन सक्ने सम्भावना कम देखिन्छ । उपभोक्ता समितिले चाहेमा पानी टंकी निर्माणका लागि जुनसुकै दबाब दिएर भएपनि सम्पन्न गर्न लाउछन् । तर, निर्माण सम्पन्न भएपनि पानीको समस्याको महशुस नभएको हुनाले यो अवस्था आएको इञ्जिनियर यादवको बुझाई छ । कतिपय उपभोत्ताहरूमा स्वच्छ खानेपानीको महत्वको बारेमा जानकारी नहुँदा र खोनपानी कै लागि पनि पैसा तिर्नुपर्छ भन्ने सोचले हेल्चेक्रयाई गर्दा यस्तो अवस्था आएको हो । उनी भन्छन्, “सहरमा आउँदा ३५ रूपैयामा एक बोतल मिनरल वाटर किन्छन् । तर, गाउँमा खानेपानीका लागि महिनाको ३५ रूपैंया तिर्न नाक खुम्च्याउछन् ।”

गैरजिम्मेवार उपभोक्ता समिति 

पर्सामा निर्माण भएका अधिकांश खानेपानी टंकीहरू उपभोक्ता समितिलाई संचालनका लागि हस्तान्तरण गरिएको छ । तर, कुनैपनि खानेपानी टंकीहरू संचालनमा आउन सकेका छैनन् । निर्माण सम्पन्न भएका मध्य ठोरीको हनुमाननगर र विजयवस्तीको मात्रै खानेपानी टंकी संचालनमा रहेका छन् । अन्य खानेपानी टंकीहरू भने सुक्खा बनाएर राखेका छन् । उपभोक्ता समितिका पदाधिकारीहरूको गैरजिम्मेवारी कै कारणले खानेपानी संचालनमा आउन नसकेको हो । तर, उपभोक्ता समितिका पदाधिकारीहरू भने स्थानीय तहले सहयोग नगर्दा समस्या भएको आरोप लगाउछन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौको खानेपानी उपभोक्ता समितिका अध्यक्ष ओम बहादुर लामिछानेले खानेपानी टंकी बजेट अभावका कारण संचालन गर्न नसकिएको बताए । प्रदेश सरकारले सहयोग गरेन । संचालनको लागि अनुदान सहयोग गर्न वीरगन्ज महानगरपालिकालाई आग्रह गरिएको तर, आश्वासन मात्रै पाएको बताए । अनुदान सहयोगका लागि पठाईसकिएको भएपनि अहिले महानगरपालिकाले यसको विषयमा खासै चासो नदेखाएको बताए । महानगरपालिकाकै वडा नम्बर १९ विन्दवासिनीको खानेपानी टंकी पनि उपयोग विहिन छ । खानेपानी टंकी संचालनमा नआउँदा त्यहाँको सामानहरू पनि चोरी हुन थालेको छ । पोखरिया नगरपालिकाको खानेपानी टंकीको संचालनका लागि नगरपालिकाले उपभोक्ता समितिलाई बरबुझारथ गर्न पटक पटक पत्राचार गर्दा समेत अटेरी गरेको नगर प्रमुख दिपनारायण रौनियार (मण्टु) ले बताए । उनले भने, “खानेपानी उपभोक्ता समितिको कागजातहरू सबै नगरपालिकाको जिम्मा लगाईदिए छिट्टै संचालनमा ल्याउने थियौं । पटक पटक कागजात बुझाउन मौखिक र लिखित पत्र काटेपनि नबुझाएकोले संचालनमा समस्या भएको हो ।” वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले उपभोक्ता समितिको चरम लापरवाही र अनियमिता देखिएकोले कानुनी दायरामा ल्याएर मात्रै खानेपानी टंकी संचालनमा ल्याउ खोजिएको बताए । उनले भने, “हामी स्थानीय सरकार संचालनका लागि आएदेखि कोशिस गरिरहेका छौ । उनीहरूको उदासिनताले संचालनमा आउन नसकेको हो । आफ्ना कुरा लुकाउछन् । अवैध रूपमा समिति हो । कानुनी मान्यता नपाएको समितिसँग स्थानीय सरकारको हैसियतले काम गर्न पनि अप्ठ्यारो छ । यसको लागि बजेट छुट्याएको छु । भदौपछि यसको प्रकृयामा जान्छौं ।” अलौको मात्रै होईन विन्दवासिनी खानेपानी उपभोक्ता समितिको पनि अवस्था उस्तै छ, मेयर सरावगीले भने त्यहाँको त झन् सामान समेत चोरी भएको छ । यो उपभोक्ता समितिको चरम लापरवाही हो । उनीहरूलाई कारवाहीको दायरामा ल्याउन पनि जरुरी देखिएको छ ।”

नागरिकको स्वास्थ्य जोखिममा 

सरकारी तथ्यांक अनुसार पर्सा जिल्लाका ९६ प्रतिशत नागरिकको पिउने पानीमा पहुँच रहेको छ । तरपनि पर्सा जिल्लाको ठोरी गाउँपालिकाका नागरिकको पिउने पानीमा अझै पहुँच छैन ।
स्वच्छ खानेपानी बितरणका लागि बनेको पानीटंयाकी अहिले सम्म संचालनमा नआउनु र त्यस क्षेत्रका उपभोक्ताले पानीटंयाकीको पानी पिउन नखोज्नुले यो खाले बिकास हाम्रो आवश्यकता थियो की जर्वजस्त लादिएको हो ? भन्ने अन्यौलता अझै पनि कायम छ । यो अन्योलताले राज्यको करोडौै रकम उपयोग विहिन भएको छ । खानेपानी टंकी संचालनमा नआउँदा नागरिकले स्वच्छ पानी प्रयोग गर्न बाट बञ्चित हुने र विभिन्न खालका रोगहरूको संक्रमणको शिकार समेत हुनुपर्ने जोखिम देखिएको छ । अधिकांशले ट्युवेलको पानी प्रयोग गर्ने भएकोले यसबाट विभिन्न खालका रोगहरूको संक्रमण हुन सक्ने खतरा उक्तिकै हुन्छ । फेमिलि फिजिसियन डाक्टर उदय नारायण सिंह ट्युवेलको पानीमा मिनरल कन्टेण्ट सन्तुलित नहुँदा शरिरमा नकरात्मक प्रभाव पार्न सक्ने बताउछन् । चापाकललाई भित्री सतहसम्म गाडिएको छैन । यस्तो पानी प्रयोग गर्दा किटाणुको संक्रमण भन्दापनि मिनरल कन्टेण्ट नहुँदा शरिरलाई असर पार्ने डाक्टर सिंहको तर्क छ । उनले भने, “चर्पीको श्रोतबाट टाढा छ भने शुद्ध मानिन्छ । धेरै गहिरो छैन । अधिकांश ट्युवेलमा जिंक, आईरन लगायतका तत्वहरू हुने हुँदा शरिरलाई अस्वस्थ बनाउन सक्छ । आर्सेनिकयुक्त छ भने यसले मानवको मस्तितक, हाडजोर्नीहरूमा सिधा असर पार्न सक्ने संभावनाहरू बढी हुने डाक्टर सिंहको भनाई छ । टंकीको पानी प्रसोधित त हुन्छ । तर, प्रसोधन गरेपछि आपूर्ति गर्ने पाईपहरूमा पनि जिवाणुहरू हुन सक्छ । यसको लागि सरसफाईमा ध्यान दिन जरुरी रहेको डाक्टर सिंह बताउछन् । खानेपानी तथा सरसफाई डिभिजन ४ कार्यालयका इन्जिनियर रामहित यादवको भनाई अनुसार ९५ हजार ५ सय ३६ घर परिवारको बसोबास रहेको पर्सा जिल्लामा अधिकांशको घर परिवारमा खानेपानीको (चापाकल) धारा जडान छ । त्यसैले धाराबाट पानी आउँदा सम्म खानेपानी टंयाकी संचालनमा आउने संभावना नै कम देखिन्छ ।

सरकारी तथ्यांकअनुसार न्यून सरसफाइका कारण नेपालले वार्षिक १० अर्ब रूपैयाँ क्षति व्यहोरिरहेको छ । नेपालीहरूलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्