प्रसारण लाइनको समस्या समाधान हुने «
Logo

प्रसारण लाइनको समस्या समाधान हुने

दमौली– तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको समस्या समाधान गर्ने सहमतिले कामले गति लिने विश्वास गरिएको छ ।

उर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच भएको भेटमा आयोजनाको प्रसारणलाइन निर्माणमा देखिएको समस्या समाधान गर्ने सहमति भएको थियो । आयोजनाको प्याकेज तीनअन्तर्गतको प्रसारणलाइन निर्माण देखिएको वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएको समस्या समाधान गर्ने सहमति भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘आयोजनाको सहजीकरणका लागि दुई मन्त्रालयबीच भएको सहमतिले अब कामले गति लिने विश्वास गरेका छौ ।’ प्रसारणलाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।

शिल्पकारका अनुसार बिना अवरोध काम गर्न पाएको भए यो खण्डमा हालसम्म ८५ प्रतिशत काम भइसक्ने थियो । शिल्पकारका अनुसार प्रसारणलाइन निर्माणका लागि ६९ वटा टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ वटा टावर जडान कार्य सकिएको छ भने १२ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । त्यस्तै हालसम्म ०.९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । शिल्पकारका अनुसार एक स्थानमा जग हाल्ने काम भइरहेको छ ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइन निर्माणको काम २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृती वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

प्रसारणलाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ । निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीन वटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ ।

प्याकेज १ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माणमा ४५ प्रतिशत र प्याकेज ३ अन्तर्गत प्रसारणलाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरु, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको छ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माण कार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । बाँधको माथिल्लो भागको स्लोप खन्ने काम अन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण कार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो ।

हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज २ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग २०७५ असोज १५ गते यूएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार र नेपाली रुपैयाँ तीन अर्ब ८३ करोडमा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतरि जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्