व्यावसायिक फार्मका लागि चार करोड अनुदान «

व्यावसायिक फार्मका लागि चार करोड अनुदान

दमौली– तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरिएको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन आयोजनामार्फत् तनहुँका १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो ।

आयोजनामार्फत् १३ व्यावसायिक फार्मले चार करोड ५२ लाख अनुदान पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । पशुपालन व्यवसाय गरिरहेका कृषकलाई पशुपालन व्यवसायमा आकर्षित गराउन साझेदारी कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको केन्द्रका नायब पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।

१३ व्यावसायिक फार्ममा कृषकले चार करोड ५६ लाख लगानी गरेको केन्द्रले जनाएको छ । अनुदान र निजीसमेत गरी १३ व्यावसायिक फार्ममा नौ करोड आठ लगानी भएको छ । शुक्लागण्डकी नगरपालिका–३ स्थित डायमण्ड अर्गानिक कृषि फार्मलाई २४ लाख, शुक्लागण्डकी नगरपालिका–६ स्थित जनजागृती कृषि फार्मलाई २० लाख, भिमाद नगरपालिका–९ स्थित दाजुभाई एकीकृत कृषि फार्मलाई २४ लाख ९९ हजार लगानी भएको छ ।

यसैगरी व्यास नगरपालिका–२ स्थित गङ्गादेवी बाख्रा फार्मलाई २० लाख, व्यास नगरपालिका–६ स्थित अंशुमा बाख्रा फार्मलाई २२ लाख ७२ हजार, बन्दीपुर गाउँपालिका–५ स्थित कुमालटारी कृषि तथा पशु फार्मलाई २७ लाख ५२ हजार, भानु नगरपालिका–३ स्थित कार्की कृषि फार्मलाई ११ लाख, भिमाद नगरपालिका–१ स्थित डुम्रीबेसी पशु फार्मलाई ३६ लाख अनुदान वितरण गरिएको छ ।

त्यस्तै जिल्लाका सात सहकारीलाई परियोजनामार्फत् दुई करोड ८३ लाख अनुदान वितरण गरिएको छ । ती सहकारीमा आठ करोड ८८ लाख लगानी भएको छ । व्यास नगरपालिकास्थित तनहुँ जिल्ला दुग्ध उत्पादक संघलाई दाना उद्योगका लागि अनुदान दिइएको छ ।

त्यस्तै चिन्तुटार दुग्ध उत्पादक सहकारी संस्थालाई दुग्ध उत्पादन, आँबुखैरेनी गाउँपालिकास्थित छिम्केश्वरी बाख्रापालन समूहलाई मासु उत्पादन, मस्र्याङ्दी बहुउद्देश्यीय सामुदायिक सहकारी संस्थालाई मासु उत्पादन, म्याग्दे गाउँपालिकास्थित उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थालाई मासु उत्पादन, शुक्लागण्डकी नगरपालिकास्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थालाई दुग्ध प्रशोधन र भिमाद नगरपालिकास्थित सूर्योदय कृषि समूहलाई मासु उत्पादनका लागि अनुदान दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्