आर्थिक कारणले दु्रतमार्ग रोकिँदैन: अर्थमन्त्री «

आर्थिक कारणले दु्रतमार्ग रोकिँदैन: अर्थमन्त्री

बारा– अर्थमन्त्री प्रकाशशरण महतले निजगढ–काठमाडौं द्रुतमार्ग नरोकिने बताएका छन् । आर्थिक कारणले द्रुतमार्ग निर्माण नरोकिने र समयमै सम्पन्न हुने महतले दाबी गरेका छन् ।

बाराको जितपुरमा सञ्जीवनी वाटिका वृद्धाश्रम उद्घाटन गर्दै मन्त्री महतले उक्त कुरा बताएका हुन् । महतले निजगढ विमानस्थलमा समेत यही सरकारले शिलान्यास गरी काम थाल्ने बताउँदै अनावश्यक हल्लाभन्दा वास्तविकतातर्फ ध्यान दिन आग्रह गरे ।

महतले पोखरा विमानस्थलभन्दा पहिले निजगढ विमानस्थल बनाइएको भए राज्यले नाफा लिन थाल्ने अवस्था आइसक्ने भन्दै निर्माणका बखत त्रुटि भएको औंल्याए । उनले अब निजगढ विमानस्थलमा रनवे, टर्मिनल र प्राशनिक भवनबाहेक विमानस्थलमा कुनै पनि प्रकारका सहर विकास नगरिने र चाँडै सरकारले शिल्यान्यास गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

पथलैया–वीरगन्ज औद्योगिक करिडोरको घोषणा भए पनि थप आवश्यक पूर्वाधार विकास गर्न सरकारको प्रयास भइरहेको बताउँदै मन्त्री महतले उद्योग स्थापना र सञ्चालनमा स्थानीय तहको बलियो भूमिका आफूले देखेको जिकिर गरे । मन्त्री महतले मुलुकको समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि नै रहेको हुँदा तिनै आधार क्षेत्रमा निजी श्रेत्रको सहभागिताबिना सम्भव नहुने हुँदा लगानी गर्न निजी क्षेत्रलाई अपिल गरे ।

कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद किसान श्रेष्ठले मुलुककै आर्थिक आधार मानिएको फास्टट्र्याक तथा विमानस्थलमा सरकारले कम चासो राखेको आफूले पाएको हुँदा सरकारको भूमिकाबारे मन्त्रीसंँग प्रश्न राखे । कोरिडोर क्षेत्र आफ्नो निर्वाचन क्षेत्र भएकाले आफूसमेत व्यावसायिक पृष्ठभूमिकै भएकाले उद्योग सञ्चालनमा हुने असहजताप्रति राज्य गम्भीर हुन श्रेष्ठले आग्रह गरे ।

सञ्जीवनी वाटिका वृद्धाश्रमका संस्थापक अध्यक्ष फरमुल्लाह मन्सुरले समाजमा वृद्धप्रति सम्मान र ममता हराउन थालेपछि आफूले वाटिका सञ्चालनमा ल्याएको वताउँदै वृद्धप्रति सरकारको सामाजिक उत्तरदायित्व व्यापक बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्