सोनापुर मिनरल्सको आईपीओ खुला

काठमाडौं– सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ आइतबारदेखि निष्कासन तथा बिक्री खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात् एक अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको एक करोड २३ लाख २०० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
सोमध्ये पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानीयका लागि अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको हो । न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
उक्त सेयरमा असोज १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि असोज २८ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आइआरएन ट्रिपल बी माइनस इस्युअर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।