दाङ उवासंघमा संयुक्त प्यानल विजयी

दाङ– दाङ जिल्ला उद्योग वाणिज्य संघमा एक पद वाहेक सबै पदमा संयुक्त प्यानलका उम्मेदवार विजयी भएका छन् । शनिबार भएको निर्वाचनको आइतबार बिहान मतगणना सकिएको हो । संघको अध्यक्षमा वशन्त जोसी निर्वाचित भएका छन् । जोशीले १ हजार ३४५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक निर्मल गौतमले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा नरेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा साझा समावेशी प्यानलका धुव्रकुमार गहतराज, वाणिज्य उपाध्यक्षमा लिलाराम खड्का विजयी भएका छन् । महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगतप्रसाद आचार्य, सह–कोषाध्यक्षमा माधव खनाल विजयी भएका छन् । महिला सदस्यमा लिला नेपाली, वस्तुगत सदस्यमा विष्णुप्रसाद रिजाल, एशोसियट सदस्यमा युवराज पोख्रेल, खुल्ला सदस्यमा रुद्रप्रसाद जैसी विजयी भएका छन् ।
अन्य सदस्यमा दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्वु लामा, सुरज बुढाथोकी विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि निर्वाचन भएको हो । संघको कार्य समितिको म्याद ३ वर्षको रहेको छ । दाङ जिल्ला उद्योग वाणिज्य निजी क्षेत्रको साबिक राप्ती अञ्चलको जेठो संस्थाको रुपमा रहेको छ ।
विजयी भएपछि अध्यक्ष जोशीले अहिले व्यावसायिक कारोबार बढाउने भन्दा पनि आर्थिक संकटमा गुज्रिरहेको बैंकको ऋण वा व्यक्तिको ऋणबाट दिन प्रतिदिन व्यवसायबाट पलायन हुने क्रमलाई रोक्नेतर्फ आफूले काम गर्ने बताए । आर्थिक मन्दीले थलिएका व्यवसायीका पक्षमा सहज वातावरण कायम गर्न लाग्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्नेमा उनले जोड दिए ।