बिर्तामोडमा चारपांग्रे सवारी बिक्री बढ्यो

बिर्तामोड । पूर्वको व्यापारिक केन्द्रको रूपमा परिचित झापाको बिर्तामोडमा चारपांग्रे सवारीसाधनको बिक्री बढेको छ । झापाको बिर्तामोडमा चारपांग्रे सवारीसाधनको प्रयोगकर्ता बढेसँगै सवारीसाधन बेच्ने विक्रेताको संख्यामा पनि वृद्धि भइरहेको छ ।
बिर्तामोडमा रेनो, फक्सवागन, हुन्डाई, निसान, सुजुकी, टाटा, महिन्द्रा, फोर्ड, टोयोटा कम्पनीका सवारीसाधन बिक्री भइरहेका छन् । ती सबै कम्पनीले सेल्स, सर्भिस र स्पेयर्सको सुविधासहित शोरुम सञ्चालनमा ल्याएका छन् । अलस्का अटोमोबाइल्स प्रालिले भारतीय कार उत्पादक कम्पनी टाटाका गाडीहरू बिक्री गर्दै आएको छ । कम्पनीले टाटाका १२०० सिसीदेखि २९५६ सिसीसम्मका १० वटा मोडलका गाडीहरू बिर्तामोडमा बिक्री गर्दै आएको अलस्काका कर्पोरेट मेनेजर सञ्जीव ओलीले बताए । डिजेल र पेट्रोलमा उपलब्ध गाडीहरू २३ लाख ९५ हजारदेखि ७७ लाख ९५ हजार रुपैयाँसम्म उपलब्ध रहेको उनले जानकारी दिए ।
त्यस्तै, केशरीचन्द भन्वरलालले बिर्तामोडमा जापानिज कार उत्पादक कम्पनी निसानका माइक्रा, सन्नी, टेरेनो र एक्सट्रेल मोडलका गाडीहरू, डाट्सनका रेडिगो, गो र गोप्लस गाडीहरू बिर्तामोडमा बिक्री गरिरहेको छ । केशरीचन्द भन्वरलालका बिक्री प्रबन्धक तीर्थ अधिकारीका अनुसार यी दुवै कम्पनी एकै भइसकेकाले ८०० सिसीदेखि २५०० सिसीसम्म गाडी उपलब्ध छन् । डिजेल र पेट्रोलमा उपलब्ध निसान र डाट्सनका गाडी १८ लाखदेखि एक करोड १० लाख रुपैयाँसम्मका रहेको बिक्री प्रबन्धक अधिकारीले बताए ।
त्यस्तै, बिर्तामोडको सहारा अटोमोबाइल्स प्रालिले फ्रान्सेली कम्पनी रेनोका उत्पादनहरू डस्टर, क्विड र लजी मोडलका गाडीहरू बिक्री गर्दै आएको छ । रेनोका गाडीहरू १९ लाख ८४ हजार रुपैयाँदेखि ५७ लाख २८ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको सहारा अटोमोबाइल्स प्रालिका सेल्स मेनेजर राजन पराजुलीले बताए । रेनल्टका गाडीहरू डिजल र पेट्रोलमा ८०० सिसीदेखि १५०० सिसीसम्म उपलब्ध रहेको पराजुलीले जानकारी दिए ।
त्यस्तै, बिर्तामोडको श्वेता इन्टरनेसनल प्रालिले जर्मनी कम्पनी फक्सवागनका छ वटा मोडलका २२ वटा गाडीहरू बिक्री गर्दै आएको छ । फक्सवागनका पोलो, भेन्टो, क्रस पोलो, टिगवान, आमरोक, जेट्टा, पास्सटलगायत मोडलका गाडीहरू बिक्री गर्दै आएको प्रालिकी प्रबन्ध निर्देशक श्वेता थापाले बताइन् । यस कम्पनीका गाडीहरू २७ लाख ४५ हजारदेखि एक करोड १४ लाख रुपैयाँसम्म उपलब्ध रहेको र फक्सवागनका गाडीहरू डिजल र पेट्रोलमा १२०० सिसीदेखि १९८४ सिसीसम्म उपलब्ध रहेको थापाले जानकारी दिइन् ।
अटो प्लाजा कन्सर्न बिर्तामोडले कोरियन गाडी उत्पादक कम्पनी हुन्डाईको भर्ना, इओन, ग्रान्ड आइटेन, एक्सेन्ट, इलाइट, आइट्वान्टी, क्रेटा, आइट्वान्टी एक्टिभ गाडीहरू बिक्री गरिरहेको अटो प्लाजा कन्सर्नका प्रबन्धक राजु दाहालले बताए । हुन्डाईका गाडीहरू डिजेल र पेट्रोलमा ८०० सिसीदेखि १६०० सिसीसम्म उपलब्ध रहेको उनले जानकारी दिए । कम्पनीका गाडीहरू १८ लाख ९६ हजारदेखि ५२ लाख ५६ हजार रुपैयाँसम्म बिक्री गर्दै आएको दाहालले बताए ।
त्यस्तै, बिर्तामोडको कान्तिपुर अटो लिंकले जापानको प्रसिद्ध कार उत्पादक कम्पनी टोयोटाका गाडीहरू बिक्री गर्दै आएको छ । बिर्तामोडमा ६ वटा मोडलमा टोयोटाका इटिओस, कोरोला, हाइलक्स, ¥याभ फोर, फर्चुनर र प्राडो मोडलका गाडी उपलब्ध रहेको कान्तिपुर अटो लिंकका सञ्चालक राजेश उप्रेतीले बताए । डिजेल र पेट्रोलमा उपलब्ध टोयोटाका गाडी १२०० सिसीदेखि ३००० सिसीसम्मको रहेको र २९ लाख ५० हजार रुपैयाँदेखि दुई करोड ३३ लाख रुपैयाँसम्म टोयोटाका गाडी बिर्तामोडमा बिक्री गर्दै आएको उनले जानकारी दिए ।
बिर्तामोडको सकुशल टे«ड लिंकले भारतीय कार उत्पादक कम्पनी महिन्द्राको कार र जिप बिक्री गर्दै आएको छ । कम्पनीले महिन्द्राका स्कर्पियो, बोलेरो, टियुभी, एक्सयुभी, थार र केयुभी मोडलका गाडी बिक्री भइरहेको लिंकका प्रबन्धक नगेन्द्र गुरागाईंले बताए । डिजेल र पेट्रोलमा उपलब्ध महिन्द्राका गाडी १२०० सिसीदेखि २२०० सिसीसम्मको रहेको र २५ लाखदेखि ७९ लाख रुपैयाँसम्म बिर्तामोडमा बिक्री भइरहेको उपलब्ध रहेको उनले जानकारी दिए ।
बिर्तामोडको युनाइटेड ब्रदर्श एलाइन्सले अमेरिकन कार उत्पादक कम्पनी फोर्डका गाडीहरू बिक्री गर्दै आएको छ । फोर्डका न्यु फिगो, एको स्पोर्ट्स, रेन्जर र एन्डवयर मोडलका गाडी बिर्तामोडमा बिक्री गर्दै आएको युनाइटेड ब्रदर्श एलाइन्सका सञ्चालक विपिन बस्नेतले बताए । फोर्डका गाडीहरू डिजेल र पेट्रोलमा १२०० सिसीदेखि ३२०० सिसीसम्म रहेको र २५ लाखदेखि एक करोड ३४ हजार रुपैयाँसम्मका फोर्डका गाडीहरू बिर्तामोडमा बिक्री हुने गरेको बस्नेतले जानकारी दिए ।
बिर्तामोडकै कपुरी ब्रदर्शले जापानी कार उत्पादक कम्पनी सुजुकीका गाडीहरू बिक्री गर्दै आएको छ । सुजुकीका विभिन्न १३ वटा मोडलका गाडीहरू बिर्तामोडमा बिक्री भइरहेको कपुरी ब्रदर्शका सेल्स मेनेजर अमृत चौहानले बताए । सुजुकीका गाडीहरू डिजेल र पेट्रोलमा ८०० सिसीदेखि १६०० सिसीसम्म उपलब्ध रहेको र यो कम्पनीका गाडी १० लाख ३९ हजारदेखि ६१ लाख ९९ हजार मूल्यसम्म बिर्तामोडमा बिक्री भइरहेको चौहानले जानकारी दिए ।
–तुलसीप्रसाद निरौला