सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव «

सोल्टीको सेयर बेचेर जहाज किन्न सुझाव

काठमाडौं- नेपाल वायुसेवा निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको छ । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक रहेको पाँच सदस्यीय समितिले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई यस्तो सुझावसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा स्रोतको जोहो गर्न सोल्टी होटलमा रहेको सेयर बिक्री गरेर जहाज किन्न सिफारिस गरिएको हो । एयरलाइन्सको सोल्टीमा एक करोड ३ लाख ३३ हजार ६९९ कित्ता सेयर छ । पछिल्लो समय यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४३ रुपैयाँ रहेको छ । यो हिसाबले निगमको सेयर बेच्दा ४ अर्ब ५७ करोड रुपैयाँ आउने देखिन्छ । यो रकम नयाँ जहाज खरिदमा उपयोग गर्न सकिने सिफारिस समितिले गरेको हो ।

प्रतिवेदनअनुसार निगमले बजारबाट २ अर्ब १९ करोड रुपैयाँ उठाउन बाँकी छ । यो रकम नउठ्दा नगद प्रवाहमा असर परेको भन्दै समितिले रकम उठे नयाँ जहाज किन्न प्रयोग गर्न सकिने बताएको छ । समितिले पुँजी, ऋण र जहाज अभावमा परेको निगमलाई सरकारले आवश्यक पुँजी थप गरी जहाज किन्न सहयोग गर्न समेत सुझाव दिएको छ ।

निगमको अहिले ४८ अर्ब ३ करोड ऋण छ । समितिले निगमको प्रमुख कार्यकारी नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउन समेत सुझाव दिएको छ । अहिले सरकारले निगमको कार्यकारी नियुक्त गर्ने प्रचलन छ । यस्तै समितिले रणनीतिक साझेदार भित्र्याएर कम्पनी मोडलमा यसलाई सञ्चालन गर्न सुझाव दिएको छ ।

अर्को विकल्कमा कम्पनीलाई होल्डिङ अन्तर्गत अन्तर्राष्ट्रिय सेवा प्रदान गर्ने सहायक कम्पनी, आन्तरिक हवाई सेवा गर्ने सहायक कम्पनी र मूल कम्पनीभित्र भुमिस्थ सेवा, उड्डयन तालिम, क्याटरिङ, विमानलगायत उपकरण मर्मत–सम्भार आदि काम गर्ने र सहायक कम्पनीहरुलाई आवश्यक प्राविधिक काममा सघाउने गरी व्यवस्थापन सुधार गर्न सकिने समितिको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्