३५ लाख क्षमतामा १० को लक्ष्य पनि अधुरै

काठमाडौं– देशभरका होटल तथा रिसोर्टले वार्षिक ३५ लाख विदेशी पर्यटकलाई सेवा दिन सक्ने भए पनि पर्यटक आगमन भने त्यसको एक तिहाइ पनि नहुने देखिएको छ । निजी क्षेत्र ३५ लाख पाहुनालाई सत्कार गर्न सक्षम छ, तर सरकारको गति भने निकै ढिलो छ । यो वर्ष (सन् २०२३) मा सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । यो संख्या कुल होटल क्षमताको एक तिहाइभन्दा पनि कम हो ।
सेप्टेम्बरसम्मको पर्यटक आगमन हेर्दा यो लक्ष्य पनि पूरा हुने देखिँदैन । यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । १० लाखको सरकारी लक्ष्य पूरा हुन अबका बाँकी ३ महिनामा ३ लाख ८ हजार पर्यटक आउनुपर्ने हुन्छ । यो भनेको मासिक एक लाखभन्दा बढी हो । अहिलेसम्मको आगमन दर हेर्ने हो भने कुनै पनि महिनामा पर्यटक आगमन एक लाख नाघेको छैन ।
जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार, मार्चमा ९९ हजार, अप्रिलमा ९८ हजार ७ सय, मेमा ७७ हजार ७ सय, जुनमा ७२ हजार, जुलाईमा ५७ हजार ७ सय, अगष्टमा ६७ हजार र सेप्टेम्बरमा ९१ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ ।
१० वर्षदेखि एउटै लक्ष्य
पूर्वाधार विस्तारमा निजी क्षेत्रको गति तीव्र भए पनि सरकार भने १० वर्षदेखि १० लाख पर्यटकको लक्ष्यभन्दा माथि उठ्न सकेको छैन । एक दशकदेखि सरकारको एउटै लक्ष्य छ– वार्षिक १० लाख पर्यटक भित्र्याउने । सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउँदै सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सात वर्षपछि बल्ल सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक भित्रिएर सरकारी लक्ष्य पूरा भयो । २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासहित मनाउन लागिएको नेपाल भ्रमण वर्ष कोभिड महामारीका कारण रद्द भएको थियो ।
सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएकामा २०२० मा २ लाख ३० हजारमा सीमित हुन पुग्यो । यसैगरी महामारीका बाबजुद २०२१ मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । ‘राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५’ ले सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा भने १० लाखको लक्ष्य छ ।
अहिलेसम्मको आँकडाले यो वर्ष १० लाख पर्यटक पुग्न मुस्किल देखिए पनि पर्यटन व्यवसायीहरु भने लक्ष्य पुग्ने दाबी गर्छन् । ‘अक्टोबर, नोभेम्बर र डिसेम्बर पर्यटकीय सिजन भएकाले ८०–९० हजारकै हाराहारीमा आए पनि १० लाख पुग्छ,’ पर्यटन व्यवसायी वसन्त मिश्रले भने । कोभिड महामारी साम्य भएसँगै पर्यटक आगमन सुधारको क्रममा छ । यद्यपि, आगमन दर उत्साहजनक भने नरहेको सम्बद्ध व्यवसायी बताउँछन् । मिश्र भन्छन्, ‘वार्षिक ३५ लाख पर्यटकलाई सहज रुपमा सेवा दिन सक्ने अवस्था भए पनि पर्यटक आगमनका लागि वातावरण बनाउन नसकिएको अवस्था छ । पछिल्लोे समय थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको भए पनि सरकार र निजी क्षेत्रको समन्वय नहुँदा प्रचारप्रसार प्रभावकारी हुन सकेको छैन ।’ पर्यटक आगमन केही वृद्धि भए पनि खर्च र बसाइ अवधि बढाउन नसकिएको उनले बताए ।
आर्थिक सर्वेक्षण २०७९–८० अनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधिमा केही कमी आएको छ । औसत बसाइ १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ । सन् २०२१ मा नेपाल भ्रमणमा आउने एक पर्यटकले औसतमा दैनिक ४८ डलर खर्च गर्ने गरेका थिए भने बसाइ अवधि १५.५ दिन थियो । २०२० मा खर्च ६५ अमेरिकी डलर र बसाइ १५.१ दिन थियो ।
सरकारको कमजोर नीति र निजी क्षेत्रको लगानी अवमूल्यन पर्यटक आगमन दरमा सुधार हुन नसकेको अर्का पर्यटन व्यवसायी योगेन्द्र शाक्यको भनाइ छ । उनले भने, ‘सरकारले पर्यटन क्षैत्रको महिमा र गरिमा बुझेर यस क्षेत्रमा लगानीका साथै प्रचारप्रसार गर्न जरुरी छ ।’ पर्यटक बढ्न नसक्दा यो क्षेत्रमा भएको लगानीअनुसार प्रतिफल प्राप्त नभएको शाक्यको भनाइ छ ।
आर्थिक सर्वेक्षण २०७९–८० अनुसार डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । त्यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ पुगेको छ । ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ । तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ ।
ट्राभल एजेन्सी ४ हजार ५७, ट्रेकिड एजेन्सी २ हजार ९ सय र राफ्टिङ एजेन्सी ८८ वटा छन् । टुर गाइडको संख्या ४ हजार ६ सय ६५, ट्रेकिङ गाइड १९ हजार ५ सय ३४ र रिभर गाइड ३ सय ८७ जना छन् ।
नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३२ छ । त्यसैगरी द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ । दुइतर्फी हवाई सिट क्षमता संख्या वार्षिक ८७ लाख छ । आन्तरिक उडान गर्ने वायुसेवाको संख्या २२ पुगेको छ । गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो सयम भए पनि अन्य देशमा उडान हुन नसक्नु, स्रोत बजारमा प्रचारप्रसार गर्न नसक्नु र सडक मार्ग सुधार नहुँदा पर्यटक आगमन बढ्न नसकेको सरोकारवालाहरुको बुझाइ छ । ‘भारत र चीनबाट स्थल मार्गमार्फत पनि पर्यटक भित्र्याउन सकिन्छ । तर, हाम्रो बाटो नै राम्रो छैन,’ पर्यटन व्यवसायी मिश्र भन्छन्, ‘बाटोमात्रै राम्रो भए पनि पर्यटक बढाउन सकिन्छ । पर्यटक बढे यसको प्रभाव सबै क्षेत्रमा पर्छ । कमजोर सडक र हवाई पूर्वाधारका कारण सम्भावना हुँदाहुँदै पनि हामी अगाडि बढ्न सकेका छैनौं ।’
कुन महिनामा कति पर्यटक ?
जनवरी ५५०७४
फेब्रुअरी ७३२५५
मार्च ९९४२६
अप्रिल ९८७७३
मे ७७७०३
जुन ७२२५०
जुलाई ५७७२६
अगष्ट ६७१५३
सेप्टेम्बर ९१०१२