संख्याभन्दा गुणस्तरीय पर्यटनमा जोड दिऔं

पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकभित्र १० लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । यसलाई टेवा पुग्ने गरी पर्यटकहरूको आवागमनमा समेत वृद्धि भइरहेको देखिन्छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को पछिल्लो आठ महिनासम्म ६ लाख १ हजार ३ सय ६० पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
पछिल्लो अगस्ट महिनामा मात्रै ६७ हजार १ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ४१ हजार ३ सय ४ पर्यटक मात्र नेपाल भित्रिएका थिए । पर्यटकको संख्या बढ्दै जानु आफंैमा सुखद पक्ष हो । तर पनि नेपालमा संख्यात्मक रूपमा पर्यटकहरू गए पनि गुणात्मक पर्यटकको संख्या भने बढ्न नसकेको देखिएको छ । यहाँ आउने पर्यटकको संख्यामा वृद्धि बढ्दै भए पनि उनीहरूबाट प्राप्त हुने आम्दानी भने त्यही अनुपातमा बढ्न सकेको छैन । यसैकारण नेपालले तुलनात्मक रूपमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ उठाउन नसकिरहेको अवस्था छ ।
सन् २०२३ को सुरुवातदेखि नै विगतका वर्षहरूको तुलनामा पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको तर उनीहरूले नेपालमा गर्ने औसत खर्च घटेको विभिन्न विवरणले देखाएका छन् । सामान्यतया नेपाल आउने पर्यटकले प्रतिदिन औसतमा ५० अमेरिकी डलरको आसपास खर्च गर्ने गरेको पाइन्छ, तर पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार सन् २०२३ को पहिलो ६ महिनासम्म नेपाल आएका पर्यटकले प्रतिदिन गर्ने औसत खर्च ४०.५ अमेरिकी डलर अर्थात् करिब ५ हजार ४ सय रुपैयाँमा खुम्चिएको छ । सन् २०२१ मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टाइनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको थियो ।
विदेशी पर्यटकले प्रतिदिन औसतमा ४० डलरको हाराहारीमा खर्च गर्नु भनेको ज्यादै न्यून खर्च हो । हाम्रो जस्तै भौगोलिक तथा सांस्कृतिक विशेषता बोकेको सार्क मुलुक भुटानमा विदेशी पर्यटकले प्रतिदिन करिब २ सय डलरसम्म खर्च गर्ने गरेको देखिन्छ । नेपालमा भने पर्यटकले गर्ने खर्च बढाउन सकिएको छैन । पर्यटकको औसत खर्च घट्नु भनेको मुलुकको विभिन्न क्षेत्रमा रहेका पर्यटनसँग सम्बन्धित व्यक्ति एवम् व्यवसायीहरूको आम्दानी पनि घट्नु हो । यसले पर्यटन व्यवसायीहरूलाई मात्र नभई मुलुकको समग्र आर्थिक क्षेत्रमा प्रतिकूल प्रभाव पार्न सक्ने देखिन्छ ।
पछिल्लो समय नेपाल आउने पर्यटकको औसत खर्च मात्र नभई औसत बस्ने दिन पनि छोटिँदै गएको देखिन्छ । आर्थिक सर्वेक्षण, ०७९-८० मा उल्लेख भएअनुसार, सन् २०२२ मा विदेशी पर्यटकको औसत बसाइ १३ दिनमा खुम्चिएको छ । सन् २०२१ र २०२० मा पर्यटकको औसत नेपाल बसाइ १५ दिनसम्म पुगेको थियो । अहिले २०२३ को पहिलो ६ महिनाको तथ्यांक हेर्दासमेत पर्यटकको औसत बसाइमा खासै प्रगति भएको देखिएको छैन । उनीहरूको बसाइ औसतमा १३ दिनकै वरिपरि रहेको देखिन्छ । पर्यटकको औसत बसाइमा आएको संकुचनले यस क्षेत्रसँग सम्बधित विभिन्न वस्तु तथा सेवाहरूको समग्र मागमा कमी ल्याउने सम्भावना देखिन्छ । यसले गर्दा मुलुकभित्र पर्यटन क्षेत्रबाट सिर्जना हुने रोजगारीका अवसरमा कमी आउनुका साथै यस क्षेत्रमा देखिएको लगानीमैत्री वातावरणलाई खलबल्याउने सम्भावना रहन्छ ।
कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको देखिन्छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा ११ लाखभन्दा बढी पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन संख्या क्रमश २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो । तर, पर्यटकको आगमन भएको वृद्धिअनुसार यस क्षेत्रबाट प्राप्त हुने आम्दानी भने बढ्न सकेको देखिँदैन ।
सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आवागमन हुँदा २ सय १७ मिलियन अमेरिकी डलर पर्यटन आम्दानी भएकोमा २०२१ मा १ लाख ५१ हजार पर्यटकबाट ११२.५० मिलियन डलर पर्यटन आम्दानी भएको देखिन्छ । २०२२ मा ६ लाखभन्दा बढीले पर्यटक भित्रिँदा ३२६.२८ मिलियन डलर पर्यटन आम्दानी भएको छ । २०२१ को तुलनामा झन्डै पाँच गुणा बढीले पर्यटक बढ्दासमेत २०२२ मा आम्दानी भने ३ गुणाले समेत बढ्न नसकेको देखिन्छ । यसबाट के प्रस्ट हुन्छ भने संख्यात्मक रूपमा पर्यटकको संख्या बढ्दैमा पर्यटन आम्दानीसमेत त्यही गतिमा बढ्छ भन्ने कुनै प्रत्याभूति हुँदैन । मुलुकभित्र भित्रिएका पर्यटकको संख्यालाई मात्र ध्यान दिँदा यसको गुणात्मक पक्ष ओझेलमा परेको देखिन्छ ।
हरेक योजना तथा कार्यक्रममा कसरी पर्यटक बढाउने भन्नेमा मात्र बहस चलेको पाइन्छ । पर्यटकहरू कुन अवस्थामा कसरी भित्रिएका छन् भन्ने कुरालाई खासै चासो दिने गरेको पाइँदैन । नेपाल भित्रिने अधिकांश पर्यटक पैसा खर्च गर्नेभन्दा पनि बचत गर्न आएको देखिन्छ । नेपालमा आफ्नो परिवारसहित आउने, घुम्ने, मनोरञ्जन गर्ने तथा पैसा खर्च गर्ने उद्देश्यले आउने पर्यटकको संख्या अत्यन्त न्यून छ । एक्लाएक्लै आएका पर्यटक न धेरै दिन बस्छन्, न त धेरै पैसा खर्च गर्छन् । तसर्थ, नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन नसक्नुको एक प्रमुख कारण यहाँ आउने पर्यटकको पारिवारिक संरचना पनि पर्छ ।
सन् २०२२ मा नेपाल भ्रमण गरेका पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट आएको देखिन्छ । कुल पर्यटकमध्ये भारतबाट मात्र ३४.१ प्रतिशत रहेका छन् । यसैगरी अमेरिका, बेलायत, अस्ट्रेलिया र बंगलादेशबाट क्रमशः १२.५, ७.३, ४.४ र ४.१ प्रतिशत रहेका छन् भने अन्य मुलुकका ३७.६ प्रतिशत छन् । कुल पर्यटकमा एकतिहाइभन्दा बढी हिस्सा भारतीय पर्यटकले मात्र ओगटेको देखिन्छ । नेपालसँग भारतको रोटीबेटीको सम्बन्ध छ । यसैकारण भारतबाट आउने अधिकांश पर्यटक होटल तथा लजभन्दा पनि आफन्तको घरमा बस्ने गरेको पाइन्छ । उनीहरू नेपाल घुम्न वा मनोरञ्जनभन्दा पनि बिदामा आफन्त भेटघाट तथा तीर्थयात्राका लागि आउने गर्छन् । यसैकारण उनीहरूलाई यहाँ धेरै दिन बस्ने वा धेरै खर्च गर्नुपर्ने आवश्यकता नै पर्दैन । यस्तै अमेरिका, बेलायत, अस्ट्रेलियाबाट आउने पर्यटकहरू पनि सीमित क्षेत्र घुमेर छिट्टै फर्किने भएकाले उनीहरूबाट समेत धेरै आशा गर्न सकिने अवस्था देखिँदैन ।
अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा सुपरिचित छ । पर्यटन क्षेत्रको प्रवद्र्धनले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिन सक्ने कुरामा दुईमत छैन । तथापि, यस क्षेत्रले मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब २ प्रतिशतको मात्र योगदान गरेको देखिन्छ । यसैकारण विद्यमान पर्यटन क्षेत्रमा रूपान्तरणको आवश्यकता देखिएको छ । मुलुकमा पर्यटकको संख्यामा वृद्धिसँगसँगै कम्तीमा त्यही अनुपातमा पर्यटन आम्दानी बढ्नुप¥यो, रोजगारीको सिर्जना हुनुपर्यो, वैदेशिक मुद्राको आप्रवाह बढ्नुप¥यो, पर्यटन व्यवसाय फस्टाउनुपर्यो । अनि मात्र हामीले पर्यटन क्षेत्रबाट सोचेजस्तो लाभ प्राप्त गर्न सक्ने अवस्थाको सिर्जना हुन सक्छ ।
नेपालमा गुणात्मक पर्यटन प्रवद्र्धनका लागि सर्वप्रथम उच्च श्रेणीका पर्यटकहरूको आगमनलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको खाँचो छ । पर्यटकको आगमनपछि उनीहरूको बसाइ अवधि तथा औसत खर्चमा वृद्धिका लागि पर्यटन पूर्वाधारहरूको विकास र विस्तारमा ध्यान दिनुपर्ने आवश्यकता छ । पर्यटकीय गन्तव्यसम्म पुग्न सहज र सुलभ हुन सक्ने यातायात, सञ्चार, स्वास्थ्य सेवा, सरसफाइजस्ता पूर्वाधारहरूको विकास र विस्तारले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । पर्वतारोहण, ट्रेकिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जंगल सफारी, ¥याफ्टिङ, बोटिङ आदिजस्ता मनोरञ्जनात्मक गतिविधिहरू अहिलेको समयमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न पुगेका छन् । यसको उचित व्यवस्थापनले मुलुकभित्र भित्रिएका पर्यटकको बसाइ अवधि लम्ब्याउने तथा खर्च गर्ने इच्छाशक्ति जगाउन सहयोग पुग्ने देखिन्छ ।
यस्तैगरी सुविधासम्पन्न होटल, रेस्टुरेन्ट, क्यासिनो, डिस्को बारका साथै रात्रीकालीन पर्यटनको प्रवद्र्धनले समेत गुणात्मक पर्यटनको विकासमा सहयोग पुग्न सक्नेछ । पर्यटन क्षेत्रका नयाँ अवधारणाहरू जस्तै ग्रामीण पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटनजस्ता क्षेत्रहरूको विकास र विस्तारले समेत पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ । आजको माल्दिभ्स, ग्रिस, इजिप्ट, सिंगापुर, फ्रान्स, अमेरिका, स्वीजरल्यान्ड आदि मुलुकको आर्थिक समृद्धिमा गुणात्मक पर्यटनको महत्वपूर्ण योगदान रहेको छ । तसर्थ, मुलुकको आर्थिक विकास र समृद्धिका लागि संख्यात्मकभन्दा गुणात्मक पर्यटनमा जोड दिनुपर्ने अहिलेको आवश्यकता देखिन्छ ।