दोहोरो नागरिकता लिनेको दोस्रो नागरिकता रद्द «

दोहोरो नागरिकता लिनेको दोस्रो नागरिकता रद्द

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङमा दोहोरो नागरिकता लिएका तीनजनाको नागरिकता रद्ध भएको छ । यसअघि विभिन्न प्रायोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएकामध्ये तीनजनाको दोस्रो नागरिकता रद्द भएको हो । दोहोरो नागरिकता लिएकाहरुले राष्ट्रिय परिचय पत्र लिएपछि प्रशासनिक काममा समस्या भएर प्रशासनसमक्ष रद्द गराउन आएका हुन् ।

जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदिश मिश्रका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानीय तहबाट तीनजनाले नागरिकता रद्द गराउन प्रशासनमा निवेदन दिएका हुन् । विभिन्न परिस्थीतीमा आफुूअनुकूल दोस्रो पटक नागरिकता बनाउने मस्र्याङ्दीका दुईजना र दूधपोखरीका एकजना नागरिक प्रशासनमा आएको सूचना अधिकारी मिश्रको भनाइ छ ।

‘अहिलेसम्म दोहोरो नागरिकता लिएका तीन जनाको दोस्रो नागरिकता रद्द भएको छ,’ मिश्रले भने ‘सम्भवत अझै पनि यस्ता निवेदन आउन सक्छन् ।’ सरकारले राहदानीका लागि अनिवार्य राष्ट्रिय परिचय पत्र नम्बर आवश्यक पर्ने प्रणाली लागू गरेसँगै दोहोरो नागरिकता लिएकालाई राहदानी बनाउन समस्या हुन थालेको हो । राहदानी बनाउन राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य चाहिने तर राष्ट्रिय परिचयपत्रमार्फत् व्यक्तिको सबै विवरण खुल्न आउने भएकोले दोहोरो नागरिकता लिएकालाई समस्या हुन थालेको हो ।

राष्ट्रिय परिचय पत्र प्रणाली लागू भएसँगै व्यक्तिले कति पटक नागरिकता लियो, कति पटक राहदानी लियो जस्ता विवरण एक आपसमा उल्लेख हुने भएकोले दोहोरो नागरिकता लिने व्यक्तिलाई राहदानी बनाउन समस्या हुन थालेको हो । राहदानी बनाउने क्रममा दोहोरो नागरिकताले समस्या भएपछि जिल्ला प्रशासन कार्यालयमा एउटा नागरिकता रद्द गराउन आउने क्रम सुरु भएको छ ।

यसअघि विभिन्न परिस्थितिमा दोहोरो नागरिकता बनाएर रद्द गराउन आएकाहरूको दोस्रो पटक लिएको नागरिकता रद्द हुने लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए । कुन प्रायोजनका निम्ति नागरिकता बनाए त्यसको अनुसन्धान प्रहरीमार्फत् अदालतले गर्ने र प्रशासन कार्यालयलाई दोस्रो नागरिकता रद्द गर्ने अधिकार भएको प्रजिअ अधिकारीको भनाइ छ ।

‘दोहोरो नागरिकता लिएकाहरूको दोस्रो नागरिकता रद्द गर्ने हाम्रो अधिकार छ,’ प्रजिअ अधिकारीले भने, ‘तर कुन प्रयोजनको निम्ति नागरिकता लियो वा प्रयोग गर्‍यो भन्ने कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’ नागरिकको निवेदनबमोजिम दोस्रो नागरिकता रद्द गराई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरीसमक्ष पत्राचार गर्दै आएको प्रशासनले जनाएको छ ।

‘हामी नागरिकता रद्द गछौँ र आवश्यक अनुसन्धानका लागि तत्कालै प्रहरीलाई परिपत्र गर्छौं,’ प्रजिअ अधिकारीले भने, ‘प्रहरीले अनुसन्धान गर्छ र अदालतले आवश्यक कानुनी कारबाही गर्छ ।’ दोहोरो नागरिकता लिएकालाई यसअघि प्रशासनले नै कारबाही वा जरिवाना गर्ने गरे पनि पछिल्लो समय अदालतले कारबाही गर्ने प्रावधान रहेको प्रजिअ अधिकारीको भनाइ छ ।

विशेषगरी जिल्लाको हकमा रोजगारी, वैदेशिक रोजगारी जस्ता विषयमा समस्या भएपछि कतिपयले दोहोरो नागरिकता लिएको पाइएको छ । सोबाहेक बहुविवाह वा अन्य कुनै कानुनविरुद्धका काम गरेका व्यक्तिले पनि गलत अभिप्रायःले दोहोरो नागरिकता लिएका छन् । दोहोरो नागरिकता लिने व्यक्तिले गलत वा झुट्टो विवरण पेस गरेको र कतिपयले आपराधिक क्रियाकलापमा समेत संलग्न हुने हुनाले प्रचलित कानुनबमोजिम त्यस्ता व्यक्ति कारबाहीको दायरामा आउने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्