अतिविपन्न १४ घर परिवारलाई आवास «

अतिविपन्न १४ घर परिवारलाई आवास

बुटवल– रुपन्देहीको सियारी गाउँपालिकाले अतिविपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । उपभोक्ता समितिमार्फत् निर्माण गरिएको आवास बिहीबार गाउँपालिकाले हस्तान्तरण गरेको हो ।

गत आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी प्रत्येक वडामा दुई परिवारलाई आवास निर्माण गर्ने गरी बजेट विनियोजन गरिएको थियो । जसअनुसार प्रतिघर पाँच लाख ६१ हजारको लागत सहभागीतामा १४ घर परिवारका लागि घर निर्माण गरिएको हो । जसअनुसार पाँच लाख रुपैयाँ गाउँपालिका र ६१ हजार रुपैयाँ उपभोक्ता समितिको लगत सहभागिता छ ।

तयार भएका आवासलाई सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र सम्बन्धित वडाका वडाध्यक्षले सम्बन्धित घरधनीलाई हस्तान्तरण गरेका हुन् । इँटा र सिमेन्टको गाह्रो भएकोमा टिनको छानो छ । उक्त घरमा दुईवटा कोठा, एउटा भान्सा, एउटा सानो बरण्डा र शौचालय रहेको छ । लामो समयदेखि कच्ची र चुहिने छानोमुनि बस्दै आएका ती परिवारले पक्की घर पाएपछि खुसी भएका छन् ।

सियारी–५ की चन्मती थारुले बलियो घर पाएपछि आफूहरूलाई बस्न, बालबच्चालाई पढाउन निकै सहज भएको बताइन् । यसअघि आफूहरु माटो गाह्रो र खपटाको चुइने छतमुनि बसेर गुजारा चलाउँदै आएको र घर पाएपछि निकै खुसी भएको उनको भनाइ छ ।

सियारी गाउँपालिकाले निर्माण गरी हस्तान्तरण गरेका तीघरलाई पालिकाको सहमतिविना बिक्री वितरण गर्न नमिल्ने गरी आवश्यक कार्यविधि बनाउन लागिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले अतिविपन्न परिवारका लागि भनेर निर्माण गरिएको घरलाई बिक्री वितरण गर्न दिए अनुदानको दुरुपयोग हुने भन्दै बिक्री वितरण गर्न नमिल्ने गरी कार्यविधि बनाउन लागिएको उल्लेख गरे ।

सियारी आवास योजनालाई चालु आर्थिक वर्षमा निरन्तरता दिने गरी बजेटको विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष तारा थारुले जानकारी दिइन् । उनले गास, बास र कपासको समस्या भएका अतिविपन्न परिवारलाई आवास तयार गरी हस्तान्तरण गरिएको बताउँदै संरक्षणमा ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्