आत्मनिर्भर हुँदै महिला «

आत्मनिर्भर हुँदै महिला

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहमा आबद्ध महिला आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् ।

आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएका छन् । महिलालाई आत्मनिर्भर बनाउन सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले जानकारी दिइन् । उनले भनिन्, ‘घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर सर्फ उद्योग सञ्चालनमा ल्याएका हाैं ।’

भिमाद नगरपालकाको उपप्रमुख समृद्धि कोषको सहयोगमा सर्फ उद्योग सञ्चालनमा सहयोग पुगेको उनकोे भनाइ छ । उपप्रमुख समृद्धि कोषमार्फत् उद्योग सञ्चालनका लागि चार लाख सहयोग भएको छ भने लागत साझेदारीमा तीन लाख ८५ हजार बेहोरिएको सचिव सुवेदीले बताइन् ।

उद्योग सञ्चालनका लागि आमा समूहमा आबद्ध ३६ जना सदस्यले जनही २३ हजारका दरले रकम संकलन गरेका छन् । उद्योग सञ्चालनका लागि उक्त रकमबाट मिस्टर मेसिन, क्रेज मिल, ग्रेन्डर क्रेज, वेन्ड सिलर, प्याकेजिङ मेसिन खरिद गरिएको छ । उक्त उद्योगबाट सर्फ उत्पादन सुरु भइसकेको छ ।

सुरुवाति चरणमा एक किलो सर्फलाई ३५०, पाँच सय ग्रामलाई १७० र सात सय ग्रामलाई ३७० मा बिक्री सुरु गरिएको छ । उनले भनिन्, ‘घरमा यत्तिकै बस्नुभन्दा केही उद्यम गरौ भन्ने भावनासहित आमा समूहमा सल्लाह गरेपछि उद्योग सञ्चालनको प्रस्ताव आएको थियो । त्यसमा नगरपालिकाले सहयोग गरेपछि सहज भयो ।’

आमा समूहले गाउँमा विभिन्न सामाजिक काम गर्दै आएको छ । २०५३ सालमा स्थापित आमा समूहले मठमन्दिर जाने बाटो, सेती नदी किनारमा कोटीहोमस्थलमा प्रतिक्षालय, देउराली बागटार दुर्गा मन्दिर निर्माणमा सहयोग गरेको छ । नगरपालिकाका हरेक नगरवासीलाई उद्यमसँग जोड्ने उद्देश्यसहित उपप्रमुख समृद्धि कोष अभियान सञ्चालन गरिएको उपप्रमुख शारदा खनालले बताइन् ।

उनले भनिन्, ‘हरेक महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राखेर केही गर्न चाहने महिलाहरुका लागि यो अभियान सुरु गरेका हौ । उद्यमी बन्न यो कोषबाट सहयोग गर्छौ ।’ महिलाहरूले स्थापना गरेको उद्योगले महिलालाई उद्यमशील बन्न सहयोग पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरेको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्