जलविद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै सुदूरपश्चिम «

जलविद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै सुदूरपश्चिम

»  डेढ वर्षमा ७० मेगावाट जलविद्युत् थपिने
» प्रदेशमै खपत भई बचेको ४१ मेगावाट अन्य प्रदेशमा सप्लाई हुने
» ९० मेगावाटका ८ आयोजना निर्माण हुँदै
» ५३.५ मेगावाटका ५ आयोजना पीपीए भएर निर्माणको तयारीमा 
» ४११२ मेगावाटका १६ आयोजना जलविद्युत्को सर्भेक्षण हुँदै

बझाङको कालंगा बेसिनका तीन जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश आउँदो डेढ वर्षमा आत्मनिर्भर हुने भएको छ । कालंगा बेसिनको ३८.४६ मेगावाटको अपर कालांगा, १५.३३ मेगावाटको कालंगा र १०.७० मेगावाटको सानीगाड जलविद्युत् आयोजनाबाट ६४.४९ मेगावाट विद्युत् आउँदो १६-१७ महिनामा उत्पादन हुने भएको छ । यी आयोजनाबाट विद्युत् उत्पादन भएसँगै सुदूरपश्चिम प्रदेश जलविद्युत्मा आत्मनिर्भर भई अन्य प्रदेशलाई समेत जलविद्युत् निर्यात गर्ने जनाइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा करिब ६५ मेगावाट विद्युत्को माग छ ।
प्रदेशको विद्युत् विस्तार नभएको क्षेत्रमा समेत विद्युत् विस्तार गर्दा कुल विद्युत् माग पाँच मेगावाट मात्रै बढ्ने नेपाल विद्युत् प्राधिकरण प्रादेशिक निर्देशनालय अत्तरियाका निर्देशक सतिशकुमार कर्णले बताए । उनले सुदूरपश्चिम प्रदेशको सबै वस्तीमा विद्युत् विस्तारपछि यहाँको कुल माग ७० मेगावाट पुग्ने बताए ।हाल सुदूरपश्चिम प्रदेशको आफ्नो उत्पादन ४२ मेगावाट छ । बझाङका तीन आयोजनाबाट उत्पादन भएपछि १ सय ६ मेगावाट पुग्ने छ ।
आउँदो एक वर्षमै राष्ट्रिय गौरवको रानी जमरा सिँचाइ आयोजनाले समेत ४.७१ मेगावाट जलविद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्ने गरी निर्माण गरिरहेको छ । योसँगै सुदूरवपश्चिमको जलविद्युत् उत्पादन १ सय ११ मेगावाट पुग्ने छ ।प्रदेशमै खतप भई बाँकी रहेको ४१ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारणलाइनबाट अन्य प्रदेशमा सप्लाई हुने छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का महासचिव आशिष गर्गले सुदूरपश्चिम प्रदेशको जलविद्युत् खपत निकै कम भएकाले बाँकी जलविद्युत् राष्ट्रिय ग्रिडबाटै प्रसारण हुने बताए ।विद्युत् विकास विभागबाट २०७२ चैत १४ गते निर्माण अनुमति पाएको प्रबद्र्धकले यी तीन वटै आयोजनाको निर्माण कार्य एकसाथ अगाडि बढाएको छ । कालंगा गाड जलविद्युत् आयोजनाका निर्देशक विरेन्द्र मल्लले यी आयोजनाहरूको काम समग्रमा ७० प्रतिशत सम्पन्न भएको बताए । उनले ५-६ महिनाको फरक समयमा यी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि एउटै प्रसारणलाइनबाट विद्युत् प्रसारण गर्नुपर्ने भएकाले उत्पादन एक साथ गरिने बताए ।यी तीन वटै विद्युत् आयोजनाका प्रबद्र्धक समूह एउटै भए पनि छुट्टा–छुट्टै तीन वटा कम्पनी स्थापना गरी जलविद्युत् निर्माण गरिरहेका छन् ।
सानीगाड हाइड्रो प्रालिले अपर कालंगा, कालंगा हाइड्रो प्रालिले कालंगा र बुंगल हाइड्रो प्रालिले सानीगाड आयोजना निर्माण गरिरहेका छन् ।कालंगा जलविद्युत् आयोजनाका पुष्प चित्रकारले अपर कालंगाको ५४, कालंगाको ६५ र अपर सानीगाडको ४५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताए । उनका अनुसार अपर कालंगा आयोजनामा ६ अर्ब ३२ करोड १६ लाख ४० हजार, कालंगा आयोजनामा २ अर्ब ८० करोड र सानीगाड आयोजनामा १ अर्ब ८१ करोड ५० लाख रूपैयाँ सम्पन्न हुँदासम्म खर्च हुने स्टिमेट गरिएको छ ।
जम्मा १० अर्ब ९३ करोड ६६ लाख ४० हजार रूपैयाँ खर्च हुने यी आयोजनामा ७० प्रतिशत नीजि क्षेत्र, २० प्रतिशत नागरिक र १० प्रतिशत स्थानीय नागरिकको सेयर लगानी रहेको चित्रकारले बताए । पाँच वर्षभित्रै निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीले ३० वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ ।आयोजनाका कार्यकारी निर्देशक मधुकर रानाका अनुसार जलविद्युत्को ३० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी ७० प्रतिशत काम यसै वर्ष सम्पन्न गरी उत्पादन सुरु गरिने छ ।यसका साथै, आउँदो दुई वर्षमा बझाङको १ मेगावाट जिउली गाड, दार्चुलाको १० मेगावाटको मकारीगाड, १ मेगावाटको नौगाड, ८ मेगावाटको अपर नौगाड र डोटीको डेढ मेगावाटको गड्डीगाड आयोजना पनि नीजि क्षेत्रले तिब्रगतिमा निर्माण गरिरहेको इपानका महासचिव गर्गले बताए ।
उनले विद्युत् खरिद सम्झौता (पीपीए) गरी बझाङको १ मेगावाटको जडारीगाड, ११ मेगावाटको सानीगाड, दार्चुलाको १ मेगावाटको नौगाड र ४० मेगावाटको अपर चमेलिया निर्माणको तयारीमा रहेको बताए ।विद्युत् विकास विभागकी उपमहानिर्देशक मनदेवी श्रेष्ठले सुदूरपश्चिममा १७४ मेगावाटका ८ आयोजनाहरू निर्माणका लागि नीजि क्षेत्रलाई अनुमति दिइएको बताइन् । उनले ४ हजार ११२ मेगावाटका १६ जलविद्युत् आयोजनाहरू सर्भेक्षण भइरहेको बताइन् । निर्माण भइरहेका र पीपीए भई निर्माणको तयारीमा रहेका आयोजनाको निर्माण सम्पन्न भई उत्पादन सुरु भएपछि सुदूरपश्चिम प्रदेश पनि अन्य प्रदेशको तुलनामा जलविद्युत् उत्पादनमा समकक्षी हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले बताए ।

प्रतिक्रिया दिनुहोस्