ब्याजदर घटाउन उद्योगी–व्यवसायीको माग «

ब्याजदर घटाउन उद्योगी–व्यवसायीको माग

म्याग्दी– म्याग्दीका उद्योगी–व्यवसायीले बैंकको ब्याजदर घटाउनमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा उद्योगी, व्यवसायी र बैंक–वित्तीय संस्थाका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले बैंकका प्रमुखहरूलाई त्यस्तो आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष प्रमोद श्रेष्ठले व्यापार तथा व्यवसाय दिनप्रतिदिन खस्कँदै गएकाले व्यापार कम र आम्दानी घटेको प्रसंग उल्लेख गर्दै बैंकहरूले पनि ब्याजदर घटाएर उद्योगी–व्यवसायीहरूलाई सहजीकरण गर्नुपर्ने बताए । उनीहरूले बैंकर्स संघमार्फत राष्ट्र बैंकसमक्ष उद्योगी–व्यवसायीहरूको समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरे ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवं बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले बैंकहरूले ब्याजदर बढाउँदा ऋणीहरूलाई पूर्वजानकारी गराउन माग गरे । उनले बैंकहरूले लगानी गर्दै आइरहेको शैक्षिक ऋण लगानी गर्ने क्रममा पनि सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै उद्योगी–व्यवसायीहरूबाट ऋण असुली नम्र तरिकाले गर्नुपर्ने बताए ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबिन श्रेष्ठले ८ प्रतिशतमा लगानी गरेको बैंकले एकैपटक ब्याजदर १२ प्रतिशतमा पुर्‍याउँदा उद्योगी–व्यवसायीहरू समस्यामा परेको बताउँदै बैंकहरूसँग स्पष्ट योजना नभएको आरोप लगाए । संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले बैंक र उद्योगी–व्यवसायीबीचमा नङ र मासुको सम्बन्ध हुनुपर्ने बताए ।

अन्तरक्रियामा बोल्ने व्यवसायीले ऋणीलाई थाहै नदिइकन ब्याजदर बढाउँदा समस्या उत्पन्न भएको उल्लेख गरे । कार्यक्रममा सहभागी उद्योगी–व्यवसायीले उठाएको प्रश्नको जवाफ दिँदै बैंकर्स क्लब, म्याग्दीका अध्यक्ष नवराज ढुंगानाले बैंकको ब्याज दिने र लिने दुवै नीति रहेको जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक, म्याग्दी शाखाका शाखा प्रबन्धक समेत रहेका अध्यक्ष ढुंगानाले अहिले ब्याजदरको विषयमा हरेक महिनाको अन्तिम दिन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन हुँदै आएको बताए । राष्ट्र बैंकको नीतिअनुसार ब्याजदर परिवर्तन हुने भएकाले पहिला ग्राहकलाई जानकारी दिने गरिएकोमा अहिले राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेपछि पुग्ने व्यवस्था रहेको बताए ।

संघका अध्यक्ष बेलबहादुर कटुवालले उद्योगी–व्यवसायीको समस्या समाधान गर्नका लागि बैंक तथा वित्तीय संघसंस्थाले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बैंक तथा वित्तीय संस्थाले उद्योगी–व्यवसायीलाई कर्जा लगानी र असुलीको सन्दर्भमा सहजीकरणका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्