भारतीय ठूलो टोली पोखरामा «

भारतीय ठूलो टोली पोखरामा

पोखरा– कोरोना र आर्थिक मन्दीका कारण पोखरासहित देशका अधिकांश पर्यटकीय स्थानमा न्यून संख्यामा पर्यटक आगमन भएको अवस्थामा ७ सय ३० जना रहेको भारतीय पर्यटकको टोली पोखरा आएको छ ।

१३ दिन नेपालमा भ्रमणमा निस्केको धार्मिक पर्यटकको टोलीले शनिबार पोखराको फेवातालमा डुंगा सयर गरी तालवाराही मन्दिर अवलोकन तथा दर्शनसमेत गरेको छ । विश्व पर्यटन दिवसका अवसरमा केही दिनअघि नेपाल आएका उनीहरूको टोली आइतबार मुक्तिनाथ मन्दिरको दर्शन गर्न मुस्ताङ प्रस्थान गर्ने भएको छ ।

भारतको गुजरातलगायतको क्षेत्रबाट नेपालमा १३ दिनको भ्रमणमा निस्केको उक्त टोलीले नेपालका धार्मिक तीर्थस्थलमा दर्शनको लागि एकैपटक ठूलो संख्यामा पोखरासहित यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन गर्न टोली आएको पोखराका एक होटल व्यवसायी अर्जुन खनालले बताए । होटल मझेरी रिसोर्ट र नेभिरा होटलले उक्त पर्यटकहरूलाई पोखरामा आवासीयसहितको व्यवस्थापन गरेको खनालले जनाए ।

मझेरी रिसोर्टका अध्यक्षसमेत रहेका खनालले पोखरामा ठूलो संख्यामा पर्यटक भित्र्याउन आफूहरूले विगत चार महिनाअघि देखिको तयारीमा उक्त टोलीलाई पोखरामा करिब चार दिनको बसाइको व्यवस्था मिलाएको जनाए । नेपालमा हाल पर्यटन आगमनमा निकै ह्रास आएको अवस्थामा यसरी धार्मिक पर्यटक र धार्मिक गुरुबाट नेपालका धार्मिक तीर्थस्थलहरूमा अवलोकन गराउँदा उनीहरूका अनुयायीहरू स्वतः आउने वातावरण हुने उनको भनाइ थियो ।

आइतबार उक्त टोली ५४ जना हवाईमार्ग हुँदै र अन्य करिब १ सयवटा स्कोर्पियो गाडीमा मुक्तिनाथ प्रस्थान गर्ने भएको छ । भारतका मात्र नभई मूल घर भारत घर भई पेसा र व्यवसायका दृष्टिले विश्वका विभिन्न मुलुकमा रहेका स्वामीका अनुयायीहरू एक भई यसरी धार्मिक पर्यटन प्रवर्द्धनमा निस्केको हो । धार्मिक पर्यटक भए पनि अहिले आएको टोली अली बढी खर्चालु भएको नेभिरा होटलका सञ्चालक राजु अधिकारीले बताए ।

माउन्टेन भ्यूदेखि पोखरा क्षेत्रमा भएका साहसिक खेल गतिविधिमा समेत केही पर्यटक सहभागी हुने उनले जनाए । उक्त टोलीले लुम्बिनीमा जानकी मन्दिरको दर्शनपछि काठमाडौंलगायतका ठाउँमा भ्रमणपश्चात् शुक्रबार पोखरा आएको थियो । कोरोना र आर्थिक मन्दीका कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई उक्त टोलीको आगमनले गण्डकी प्रदेशको राजधानी पोखरासहित समग्र नेपालकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने होटल व्यवसायी अधिकारीले बताए ।

भारतको गुजरातका चर्चित स्वामी जितेन्द्रियप्रियदासजी महाराजले शनिबार पोखराका पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताए । परापूर्वककालदेखि नेपाल र भारतको सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै उनले नेपालको अधिकांश क्षेत्र भगतावको तीर्थ भूमिभएको दाबी गरे ।

विश्व बिन्दु महासंघ नेपालका सहअध्यक्ष शंकर खरालले नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना रहेकाले यसको प्रचारप्रसार छिमेकी मुलुकबाट सुरु गर्नुपर्ने बताए । राज्यले नेपालको धार्मिक पर्यटनको महत्त्व बुझ्न नसकेको दाबी गर्दै उनले राज्यले यस क्षेत्रमा न्यून लगानी गरेको गुनासो गरे । नेपाल आध्यात्मिक पर्यटनको केन्द्र हुने सहअध्यक्ष खरालले जनाए । टोलीले शनिबार स्वामी महाराजलाई पोखराको लेकसाइडमा परिक्रमा गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्