विजुलीको पोलमुनी पिचको तयारी «

विजुलीको पोलमुनी पिचको तयारी

वीरगन्ज महानगरपालिकामा निर्माणाधीन क्षेत्रीय सहरी विकास आयोजनाको सडकमा रहेका विद्युतीय पोल नहटाउँदा पोल मुनी नै पिच गर्नुपर्ने अवस्था सिर्जना भएको छ । वीरगन्जको घण्टाघरदेखि नयाँबसपार्कसम्म जाने लिंकरोडको सडक पिच गर्ने तयारी भए पनि सडकको दुवैतिर रहेका विजुलीका पोल नहटाउँदा पोल मुनी नै पिच गर्ने तयारी भएको हो ।
आयोजना निर्माणको ठेक्का लिएको कालिका कन्स्ट्रक्सन कम्पनीले सडकको दुवैतर्फ अवरोधको रूपमा रहेको विजुलीको पोल हटाउन वीरगन्ज महानगरपालिका र नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रलाई पटक–पटक आग्रह गर्दासमेत विद्युत्को पोल नहटाएको आयोजनाका प्रमुख इञ्जिनियर शैलेन्द्र श्रेष्ठले बताए । एकैपटक पिच गर्नुपर्ने सडक अब लाईन एलाईनमेण्ट मिलाएर फुटपाथ बनाउँदा आधा सडक पिच गर्नुपर्ने अवस्था आएको उनले बताए ।
विद्युत् प्राधिकरणलाई पोल हटाउनका लागि पटक–पटक मौखिक रूपमा र पत्राचार गरे पनि कर्मचारी अभाव देखाउँदै काम नगरेको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । “अन्तरसरकारी कार्यालयको समन्वयको अभाव छ, विद्युत् प्राधिकरणका प्रमुख मुनिन्द्र ठाकुरलाई भनेका थियौं । उहाँको पनि सरुवा भयो भन्ने खबर पाएको छौं अब अर्को हाकिम कहिले आउला र पोल सार्ने काम होला भनेर पर्ख र हेरको अवस्थामा छौं,” उनले भने, “ठेकेदारले काम गरेन मात्रै भन्छन् न नागरिकले सहयोग गरेका छन् न सरकारी कार्यालयहरूले नै समन्वयकारी भूमिका निर्वाह गर्छन् ।” उनले घर बनाउँदा कसैले एक इन्च जग्गा नछोड्ने गरेको र सार्वजनिक जग्गाको सडकमा नै कल धारा पनि गाडेको बताए । कल धारा गाडेपछि सडकको गुणस्तरमा असर पर्छ । यसमा महानगरपालिकाले पनि कल गाड्न रोक्नुपर्ने उनको भनाइ छ । महानगरपालिकाले सडक निर्माणमा सहयोग नगरेको उनले बताए ।
आयोजनाले निर्माण गरेको लिंकरोडको दुवैतर्फ गरी ६० फिटको सडकमा ११ फिटको फुटपाथ र बीचमा १.५० फिट मेडियनको लागि छोड्नुपर्छ । त्यसरी छोड्दा २०-२० फुटको बाँकी सडक मध्य एकातर्फको सडकमा पनि फुटपाथ छोडेर पिच गरिएको छ । अर्कोतर्फको सडकको भने विजुलीको पोलमुनी नै पिच गर्नुपर्ने अवस्था रहेको ठेकदार कम्पनीका बरिष्ठ इञ्जिनियर अर्जुनजंग शाहीले बताए । उनले परामर्शदाता कम्पनीसँग पछि फुटपाथ बनाउने क्रममा नै पिच गर्न एलाईनमेण्ट प्रस्ताव गरेको र महानगरपालिका तथा विद्युत् प्राधिकरणलाई पनि पोल हटाउन पहल गर्न आग्रह गरिएको बताए ।
पोल हटाउन समय लागेमा त्यही २० फिटको सडकभित्र पर्ने विद्युतीय पोलमुनी नै पिच गर्न बाध्य हुने शाहीले बताए ।
वीरगन्ज महानगरपालिकाले पनि विद्युत् प्राधिकरणले नै पोल हटाउन वास्ता नगरेको र त्यसका लागि पहल भइरहेको बताएको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले भने, “विद्युत् प्राधिकरणलाई पटक पटक लिखित आग्रह गर्दा समेत वास्ता गरेको छैन । हामीले पटक पटक भनिरहेका छौं पोल हटाउनलाई तर, सरकारी कर्मचारीको काम नगर्ने प्रवृत्तिले गर्दा हामीलाई पनि समस्या भएको छ ।” उनले फेरि एक पटक विद्युत् प्राधिकरणसँग कुरा गर्ने बताए ।
क्षेत्रीय सहरी विकास आयोजना निर्माणका लागि कालिका कन्स्ट्रक्सनले भ्याटसमेत २ अर्ब ३४ करोडमा सन् २०१८ को डिसेम्बरमा दुई वर्षमा सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्