अटो एक्स्पोमा नयाँ मोडल र कन्सेप्ट कार

नयाँ दिल्ली । भारतको ग्रेटर नोयडामा सवारीसाधनहरूको मेला जारी छ । उक्त मेलामा विश्वका प्रिमियम ब्रान्डदेखि भारतीय सवारी उत्पादकहरूसम्मले बजारमा रहेका सवारी मोडलकै परिस्क्रित भर्सनदेखि ‘कन्सेप्ट’ सवारीसम्म प्रदर्शनीका लागि राखेका छन् ।
उक्त मेला व्यापारीभन्दा पनि सवारी उत्पादक कम्पनीहरूबीच नविनतम उत्पादन तथा कन्सेप्ट ल्याउनमा तिब्र प्रतिस्पर्दा चल्ने देखिएको छ । ‘अटो एक्स्पो २०१८’ मा सवारी तथा सवारीका लागि आवश्यक पर्ने पार्टपुर्जाको भिन्दा भिन्दै स्थानमा प्रदर्शनी भएको हो । भारतको नयाँ दिल्लीमा रहेको प्रगति मैदानमा फेब्रुअरी ८ देखि ११ सम्म स्पेयर पार्टस्को प्रदर्शनी भएको थियो भने ग्रेटर नोयडामा चारपांग्रे, दुईपांग्रे र कमर्सियल सवारीको प्रदर्शनी भइरहेको छ । ग्रेटर नोयडामा सवारी प्रदर्शनी ९ फेब्रुअरीदेखि १४ सम्म चल्नेछ । अटो एक्स्पो २०१८ को औपचारिक उद्घाटन ८ फेब्रुअरीमा भएपनि सर्वसाधारणका लागि फेबु्रअरी ९ देखि खुल्ला भएको थियो ।
अटो एक्स्पोमा टाटा मोटर्स, मारुती सुजुकी, हुन्डाइ, होन्डा, मर्सिडिज–बेन्ज, बीएमडब्लू, रेनो, महिन्द्रा, किया, टोयोटा लगायत कम्पनीका चारपांग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् । त्यस्तै दुईपांग्रेमा होन्डा, हिरो, यामाहा, युएम, बजाज, सुजुकी, बीएमडब्लू, टीभीएस, भेस्पा लगायत विभिन्न कम्पनीहरूको सहभागिता रहेको छ । कमर्सियल सवारीमा टाटा, अशोकले ल्यान्ड, महिन्द्रा, बीवाइडी, इसुजुलगायतका सवारी राखिएका छन् । २०१६ को अटो एक्स्पोमा महिन्द्रा एन्ड महिन्द्राले मात्र विद्युतीय सवारी प्रदर्शनीमा राखेको थियो । तर यो वर्ष एक दर्जनभन्दा बढी कम्पनीका दर्जनौैं विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन् । त्यस्तै सवारी उत्पादक कम्पनीहरूले भविष्यमा आउन सक्ने कारका ‘कन्सेप्ट’ समेत प्रदर्शन गरेका छन् । उपभोक्ताको ध्यान आएका सवारीका परिष्कृत मोडलमा भन्दा कन्सेप्ट कारमा बढी चासो दिएका छन् ।
इलेक्ट्रिक कारहरूको प्रदर्शनी भव्य रहेको छ । एक्स्पोमा मर्सिडिज बेन्जको ईक्यू कन्सेप्ट कार आकर्षणको केन्द्र बनेको छ । यसको मुख्य विशेषता भनेको एक पटक फुल चार्ज गर्दा ६ सय किलोमिटरसम्म चल्न सक्छ । यसको अधिकतम गति २ सय ५० किलोमिटर प्रतिघण्टा हुनेछ । यो एक प्रकारको एसयूभी हो । यसमा न्यू जेनेरेसन एमभी कन्सेप्ट अन्तर्गत निलो फ्ल्यास लाइट, रिफ्लेक्टिभ प्यानल र अल ह्विल ड्राइभ छ । यो ७० किलोवाट ब्याट्रीको सहयोगले चल्छ । यसको अघिल्लो र पछिल्लो भागमा दुई वटा इलेक्ट्रिक मोटर छन् । जसले ४ सय पीएसको पावर र ७ सय एनएमको टर्क प्रदान गर्छ । यसमा भएको कम्बाइन्ड चार्जिङ सिष्टमका अनुसार चल्छ र आफैं चार्ज हुन्छ । यसमा साइड मिररको सट्टामा ड्यासबोर्डमा भएको स्क्रिनबाटै चालकले अघि पछि वा यताउताको दृश्य देख्न सक्छन् । यो कार सन् २०२० सम्म विश्व बजारमा आउने अनुमान गरिएको छ ।
होन्डाले नयाँ पीसीएक्स इलेक्ट्रिक स्कुटर प्रदर्शन गरेको छ । सो स्कुटर होन्डा पीसीएक्स १५० को एक भेरिएन्ट हो । यसमा होन्डाले नै निर्माण गरेको इलेक्ट्रिक मोटर छ । पीसीएक्स पीसीएक्स इलेक्ट्रिक स्कुटरमा बाहिर निकाल्न मिल्ने लिथियम आयोन ब्याट्री छ, जसलाई होन्डाले मोबाइल पावर प्याक नाम दिएको छ । यसलाई भित्र वाहिर निकाल्न र चार्ज गर्न सकिन्छ । यो ब्याट्री लामो समय चल्ने र चार्ज हुन कम समय लाग्ने बताइएको छ । होन्डाले यो भन्दा पहिले अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स शोमा पनि यसलाई पहिलो पटक प्रदर्शन गरेको थियो । सन् २०१८ मा जापान लगायत विभिन्न एसियाली देशमा यसलाई सार्वजनिक गर्ने योजना रहेको कम्पनीले पुष्टि गरेको छ । होन्डाले एक्स्पोमा विद्युतीय कन्सेप्ट कार पनि प्रदर्शनीमा राखेको छ ।
महिन्द्रा कम्पनीले फेरि एक पटक सबैलाई अचम्मित तुल्याएको छ । महिन्द्राको स्टलमा यसको कन्भर्टिबल एसयूभी स्टिंगरको झलक देख्न सकिन्छ । कन्भर्टिबल अर्थात् यसको छतलाई एक बटन थिचेर लगाउन वा हटाउन सकिन्छ । खुला आकाशका मुनि एसयूभीको मजा लिन चाहनेहरूका लागि यो गाडी उपयुक्त हुने विश्वास कम्पनीको छ । एसयूभीमा १ सय ४० बीएचपीको पावर र ३२० एनएमको टर्क प्रदान गर्ने डिजेल इन्जिन छ ।
अटो एक्स्पोमा रेनोले नयाँ कन्सेप्ट कार ‘ट्रेजर’ प्रदर्शन गरेको छ । यसलाई अटो एक्स्पोको चासोपूर्ण कारका रूपमा हेरिएको छ । पूरै छत खुल्ने भएकाले यो कारमा सेल्फी लिनेहरू निकै नै छन् । यसको क्याबिन विशेष प्रकारको छ, जुन ज्वेलरी बक्स खोले जसरी खोल्न सकिन्छ । यो जीटी कन्सेप्टको दुई सिटे कार हो । यसलाई सबैभन्दा पहिले सन् २०१६ को पेरिस मोटर शोमा प्रदर्शन गरिएको थियो । यसमा फर्मुला ई मा आधारित ३ सय ५० बीएचपीको मोटर छ, जसले पछिल्लो पांग्रामा पावर पठाउँछ । यसले रेनोको भविष्यको डिजाइन कन्सेप्ट समेत प्रदर्शन गरेको छ ।
त्यस्तै टाटा मोटर्सले विभिन्न मोडलका विद्युतीय कार र विद्युतीय कन्सेप्ट कार पनि प्रदर्शनीमा राखेको छ । यसका साथै टाटाले अत्याधुनिक ट्रक र सुविधासम्पन्न बसहरू पनि सार्वजनिक गरेको छ । बसमा ट्वाइलेट, किचेन, सीसीटीभी, दुई टीभी र रिभर्स क्यामेरा छन् । यसमा १९ सिट इकोनोमिक र १९ सिट बिजनेस क्लासका छन् । यसमा एक केमिकल ट्वाइलेट पनि छ । खाना तताउनका लागि एउटा सानो किचेन समेत छ । जेबीएम कम्पनीले ५ मिनेटमै चार्ज हुने इको लाइफ इलेक्ट्रिक बस ल्याएको छ । फुल चार्जमा यो बस १ सय ५० देखि २ सय किलोमिटरसम्म गुड्न सक्छ । एकदेखि डेढ घण्टामै ब्याट्री फुल चार्ज हुन्छ । बसमा दुई सीसीटीभी क्यामेराका साथै प्रत्येक सिटमा स्टप बटन दिइएको छ ।
दिल्ली अटो एक्स्पोमा विभिन्न कम्पनीले आकर्षक बस प्रदर्शन गरिरहेका छन् । मुख्यगरी इलेक्ट्रिक बस र यसमा भएका विभिन्न फिचरका कारण यी बसले धेरैको ध्यान खिचेको देखिएको थियो । अशोक लेल्यान्डले सर्किट एस नामक इलेक्ट्रिक बस उपलब्ध गराएको छ । यसको ब्याट्री चार्ज गर्नका लागि कतै रोकिनै पर्दैन । एक पटक फुल चार्ज गरेपश्चात यो बस ५० किलोमिटरसम्म चल्न सक्छ । ब्याट्रीमा चार्ज सकिएपछि इन्टरचेन्ज स्टेशनमा ब्याट्री परिवर्तन गर्न सकिन्छ । ब्याट्री परिवर्तन गर्न एकदेखि दुई मिनेटमात्र लाग्छ । त्यस्तै चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीका बस समेत प्रदर्शनीमा राखिएको छ । चिनियाँ बजारमा निक्कै लोकप्रिय रहेको बीवाइडीका बस अटो एक्स्पो २०१८ मा लोकप्रिय छन् ।
कोरियाली कम्पनी हुन्डाईले पनि दुईवटा विद्युतीय सवारी प्रदर्शनीमा राखेको छ । हुन्डाईले ग्रान्ड आइटेनको परिष्कृत भर्सनसमेत सार्वजनिक गरेको छ । जापानी मोटरसाइकल उत्पादक कम्पनी यामाहाले प्रिमियम मोटरसाइकल र स्कुटरलाई प्राथमिकता दिएको छ ।
अमेरिकी मोटरसाइकल उत्पादक कम्पनी युएम लोहियाले रेनिगेड थोर सार्वजनिक गरेको छ । यो मोटरसाइकल विद्युतीय हो । त्यस्तै युएम लोहियाले रेनिगेड ड्यूटीएस र रेनिगेड ड्युटी एससमेत सार्वजनिक गरेको छ । अन्य विभिन्न कम्पनीका दुईपांग्रे तथा चारपांग्रे सवारी सार्वजनिक भएका छन् ।
अटो एक्स्पो २०१८ मा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका प्रतिनिधि मण्डलको समेत सहभागिता रहेको छ ।