रकम हिनामिनापछि वचतकर्ता आन्दोलनको तयारीमा «

रकम हिनामिनापछि वचतकर्ता आन्दोलनको तयारीमा

सहकारीको कुल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको जिल्ला सहकारीले यसअघि गठन गरेको छानबिन समितिले देखाएको छ ।

बाँके-नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करोडौं रुपैयाँ हिनामिना प्रकरणमा रकम डुब्ने सम्भावना देखेपछि बचतकर्ताहरू संगठित भएका छन् । नेपालगन्जको नगर भवनमा विभिन्न स्थानबाट भेला भएका बचतकर्ताले आन्दोलनका कार्यक्रम घोषणा गर्दै ५१ सदस्यीय संघर्ष समिति गठन गरेका हुन् ।
कानुन व्यवसायी सुकइलाल बर्माको संयोजकत्वमा गठन भएको संघर्ष समितिले रकम असुलीका लागि दवाव दिन भदौ ९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै भदौ १० मा पत्रकार सम्मेलन गर्ने र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । “बचतकर्ताले आफ्ना गाँस काटेर जम्मा गरेको पैसा छिटोभन्दा छिटो पाउनुप-यो त्यसका लागि दवाव दिन हामी संगठित भएर आन्दोलन गर्ने घोषणा गरेका हौं,” संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले भने ।
सहकारीको कुल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको जिल्ला सहकारीले यसअघि गठन गरेको छानबिन समितिले देखाएको छ । ५२ करोड अधिकतम् पूँजी रहेको सहकारीको झन्डै ३८ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदनमा उल्लेख छ ।
यता असार २८ गते साधारणसभा हुँदासम्म सम्पर्कमा रहेका सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी अहिले सम्पर्कविहीन भएको भन्दै बचतकर्ता आत्तिएका हुन् । सहकारी कार्यालय धेरै दिनदेखि बन्द छ भने सञ्चालकहरू तिर्थाटनका लागि हरिद्वार गएको हुनसक्ने एक बचतकर्ताले बताए । “फरार भएका हुन की साँच्चिकै तिर्थाटन गएका हुन केही थाहा छैन,” उनले भने । उनीहरूले अब चरणबद्ध रूपमा सरकारलाई रकम फिर्ताका लागि दवाव दिने बताएका छन् ।
रकम अपचलन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी परेपछि अनुसन्धान भइरहेको छ । प्रहरीले सञ्चालकहरूको खोजी गरिरहेको जनाएको छ । सहकारीको उच्च पदमा रहेका तीन जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइसकेको प्रहरीले थप दुई जनालाई पनि हिरासतमा लिएको छ । गत वैशाख १५ गते प्रबन्धक गोपाल भण्डारीको प्रतिवेदन, जेठ २६ गतेको नवराज उपाध्यायको संयोजकत्वमा छानबिन समितिको प्रारम्भिक प्रतिवेदन र असार २८ गतेको विशेष साधारण सभामा पेश भएको अध्यक्षको प्रतिवेदनहरूले २०६५ देखि गडबडी देखिएको छ ।
पछिल्लो समयमा पूर्वमन्त्री सर्वदेव ओझाको संयोजकत्वमा उच्चस्तरीय विशेष समिति बनेर अनुसन्धान गरिएको थियो । प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा केही सञ्चालकहरूको सम्पत्ति रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्