लगानीका लागि सम्भाव्य मुलुक «

लगानीका लागि सम्भाव्य मुलुक

नेपालमा लगानी गरेअनुसार प्रतिफल आउँदैन भन्ने गुनासो गर्ने विदेशी लगानीकर्तालाई राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले गलत साबित गरेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा सञ्चालित वैदेशिक लगानीका उद्योगहरूको औसत नाफा १४.३ प्रतिशत रहेको देखाएको छ । औसतमा १५ प्रतिशतको नाफा धेरै मुलुकमा सम्भव छैन । विकसित मुलुकहरूमा यस्तो नाफा कमै मात्रामा प्राप्त हुने अवस्था रहन्छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ ले विदेशी लगानीका कम्पनीले प्राप्त गरेको नाफाबाहेक धेरै विषयलाई उजागर गरेको छ । प्रतिवेदनअनुसार वैदेशिक लगानीका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोग ७१.१ प्रतिशत मात्र देखिएको छ । यो न्यून हो ।

यस्तै नेपालमा ५७ देशबाट प्रत्यक्ष वैदेशिक लगानी आएको छ । अहिलेसम्म नेपालमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी आएको छ । लगानी गर्ने संख्या पक्कै पनि सानो होइन, तर लगानीको रकम भने पर्याप्त देखिँदैन । यी ५७ मुलुकमध्ये सबैभन्दा धेरै लगानी भारतबाट आएको देखिन्छ । अहिलेसम्म भारतीय लगानीकर्ताले ८८ अर्ब ५९ करोड लगानी ल्याएका छन् । धेरै लगानी ल्याउने प्रमुख पाँच मुलुकमा दोस्रोमा चीन परेको छ । चीनबाट ३३ अर्ब ४५ करोड लगानी भित्रिएको छ ।

लगानीका लागि नेपाल राम्रो सम्भावना भएको मुलुक हो भनेर विश्वास दिलाउन सके लगानी नआउने भन्ने हुँदैन ।

यस्तै तेस्रो स्थानमा रहेको आयरल्यान्डबाट २० अर्ब ९० करोड लगानी आएको छ भने चौथोमा रहेको सिंगापुरबाट १६ अर्ब ७ करोड र पाँचौंको सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड लगानी आएको छ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत पनि जलविद्युत क्षेत्रमा सबैभन्दा बढी ३२.८ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा २९.५ प्रतिशत छ । यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा आएको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ । सन् २०२२ को जुलाईको मध्यसम्ममा एफडीआई कम्पनीहरूमा बक्यौता विदेशी ऋण ६८.७ अर्ब छ । यो सीधा ऋणबाहेक प्रत्यक्ष विदेशी लगानीकर्ताबाट लिइएको ऋणको अंश हो । अघिल्लो वर्ष यस्तो ऋण ४०.७ अर्ब थियो । क्षेत्रगत आधारमा सबैभन्दा बढी कर्जा जलविद्युतमा कम्पनीहरूमा रहेको छ । यस क्षेत्रले सन् २०२२ को जुलाईको मध्यसम्ममा २८.४ अर्ब कर्जा लगानी प्राप्त गरेको छ ।

विदेशी लगानी आकर्षित गर्न भन्दै सरकारले फेरि लगानी सम्मेलन आयोजना गर्न लागेको छ । यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई–दुई पटक सम्मेलन गरिएको थियो । त्यस बेला खर्बौंमा लगानीको प्रतिबद्धता गरिए पनि यथार्थमा लगानी आउन सकेन । लगानीकर्ताले चासो दिने, प्रतिबद्धता व्यक्त गर्ने तर लगानी भने किन ल्याउन चाहेका छैनन् ? सरकारले त्यो हेर्नुपर्छ । सम्मेलन गर्दैमा मात्र लगानी आउने होइन । नेपालमा जेजति विदेशी कम्पनीले लगानी गरेका छन्, ती सबैले सन्तोषजनक रूपमा नाफा कमाएको देखिन्छ ।

विदेशी लगानीका कम्पनी पूर्ण क्षमतामा सञ्चालनमा आएको देखिँदैन । पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन सके नाफा झनै उच्च हुनेछ । यस्तो राम्रो नाफाको अवस्था हुँदाहुँदै पनि हामीले त्यसको प्रचारप्रसार गर्न सकेका छैनौं । नेपालमा लगानी गरे राम्रो नाफा कमाउन सकिन्छ भनेर विदेशी लगानीकर्तामाझ प्रचार गर्न सके मात्र पनि धेरै लगानी आउने वातावरण बन्न सक्थ्यो । तर, यसमा सरकार र निजी क्षेत्र दुवै चुकेको अवस्था छ । हामीले नाफा मात्र होइन, व्यवसाय गर्ने वातावरण पनि राम्रो भएको र नाफा सजिलै लैजान सक्ने कानुनी व्यवस्था भएको पनि जानकारी दिन सक्नुपर्छ ।

अर्कातिर लगानीकर्ताले नचाहेको अवस्थामा उद्योग–व्यवसाय बन्द गरी लगानी फिर्ता लैजान पनि कुनै कानुनी झन्झट नभएको स्पष्ट पार्न सक्नुपर्छ । लगानीकर्ताले कुनै पनि अनावश्यक जोखिम चाहँदैनन् । कतिपय मुलुकमा एकपटक लगानी गरेपछि फिर्ता लैजान निकै कठिन हुने गर्छ । आर्जित नाफा लैजानसमेत समस्या छ । हामीकहाँ यस्ता कुनै समस्या छैनन् । तर, सरकार र निजी क्षेत्र दुवैले यसलाई लगानीकर्तामाझ राम्रोसँग पुर्‍याउन सकेका छैनन् । लगानीका लागि नेपाल राम्रो सम्भावना भएको मुलुक हो भनेर विश्वास दिलाउन सके लगानी नआउने भन्ने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्