आईक्यापिटलको छात्रवृत्ति

काठमाडौं– आईक्यापिटल प्रालिले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’ को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यसहित सन् २०१३ मा स्थापना भएको हो । कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पति वर्गहरुमा केन्द्रित रहेको छ ।
स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ । हाल यसको व्यवस्थापनमा दुई अर्ब २५ करोड रुपैयाँको सम्पति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६ प्रतिशत रहेको कम्पनीले बताएको छ । विगत वर्षमा जस्तै आईक्यापिटलले आफ्नो १०औं वार्षिकोत्सव परोपकारी काम गरेको छ ।
सो अवसरमा कम्पनीले यस वर्ष आईक्यापिटल फाउण्डेसमार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीलाई एक वर्षको छात्रवृत्ति प्रदान गरेको छ । सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाका लागि पठनपाठनमा सहयोग गर्दै आएको छ ।