कारोबारकर्मी श्रेष्ठद्वारा कृत्रिम अक्सिजन बिना मनास्लु आरोहण

काठमाडौं– कारोबारकर्मी पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु (८१६३ मिटर) हिमालको आरोहण गरेकी छिन् । गत वर्ष नै आरोहणका लागि मनास्लु गएकी भएपनि बेस क्याम्पमा नै महिनावारीका कारण आरोहण गर्न सकेकी थिइनन् । यस वर्ष भने उनी बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्न सफल भएकी हुन् ।
जेठको दोश्रो सातामात्र विश्वकै दोश्रो अग्लो केटु हिमाल (८६११मिटर) आरोहण पूरा गरेकी उनले त्यसलगतै मनास्लु आरोहणतर्फ लागेकी थिइन् । यसअघि श्रेष्ठले नेपालतर्फका आठ हजार मिटरका सबै हिमालको आरोहण पूरा गरेकी थिइन् । श्रेष्ठले नेपालका आठ हजार मिटर भन्दा अग्ला आठ वटा हिमाल सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण, धवलागिरिको आरोहण पूरा गरेकी थिइन् । चोयु हिमाल भने तिब्बततिरबाट मात्र आरोहण गरिन्छ ।
गोरखा स्थाइ घर भएकी फोटो पत्रकार श्रेष्ठले यसअघि विश्वको अग्लो शिखर सगरमाथा (८८८४.८६ मिटर) सन् २०१८मा, मनास्लु (८१६३ मिटर) सन् २०१७ मा, अन्नपूर्ण प्रथम (८०९१) सन् २०२१ मा, धौलागिरि (८१६७ मिटर) सन् २०२१ मा, कञ्चनजंघा (८५८६ मिटर) सन् २०२२ मा, ल्होत्से (८,५१६ मिटर) र मकालु (८४८१ मिटर) सन् २०२२ मा सफल आरोहण गरेकी थिइन् । उनले यसअघि सन् २०२१ को अक्टोबरमा विश्वको सातौं (८१६७ मिटर) अग्लो धौलागिरि (प्रथम) हिमालको चुचुरोमा पाइला राखेर पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी थिइन् ।