एक्याप प्रवेशका लागि तीन हजारलाई अनुमति

लमजुङ– अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि चार वर्षको अवधीमा बेसीशहरबाट मात्रै तीन हजार भन्दाबढीले अनुमति लिएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको अनुमति पत्र केन्द्र सुरु भएसँगै तीन हजार तीन सय ८५ पर्यटकले सेवा लिएका हुन् ।
एक्याप इलाका कार्यालय भुजुङ मातहत सदरमुकाम बेसीशहरमा सन् २०१९ मा अनुमति पत्र सेवा सुरु गरेको हो । कार्यालयका लमजुङका अनुसार सेवा सुरु भएको वर्ष एक हजार चार सय ३२ पर्यटकले बेसीशहरबाट अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेशका लागि अनुमति पत्र लिएका थिए । त्यसपछि वर्ष २०२०/०२१ मा ४५ जनाले मात्रै प्रवेश अनुमति पत्र लिएका छन् । त्यस वर्ष कोरोना महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएको र पर्यटक आगमन बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको एक्यापले जनाएको छ ।
कोरोनाको प्रभाव वर्ष २०२१/०२२ मा पनि आंशिक परेपछि सो वर्ष ४५८ जनाले प्रवेश अनुमति पत्र लिएको एक्याप तथ्यांकले देखाएको छ । गत वर्षबाट चलायमान बनेको पर्यटन व्यवसायमा भने केही उल्लेख्य प्रगति भएको छ । वर्ष २०२२/०२३ मा एक्याप बेसीशहर केन्द्रबाट एक हजार ४५० जनाले प्रवेश अनुमति पत्र लिएको पर्यटन सहायक बाला घलेले बताए । विश्व चर्चित अन्नपूर्ण संरक्षण क्षेत्रमा आउने पर्यटकको सुविधाका लागि पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीशहरमा शुल्क संकलन केन्द्र स्थापना गरी प्रवेश अनुमतिपत्र वितरण सुरु गरिएको थियो ।
त्यसअघि काठमाडौं र एक्याप प्रधान कार्यालय पोखराबाट मात्र प्रवेश अनुमति लिनुपर्ने बाध्यता थियो । काठमाडौं र पोखरबाट प्रवेश पत्र नलिई बेसीशहरबाट पदयात्रामा जाने पर्यटकका लागि तत्कालिन समयमा भुलभुलेमा रहेको चेकपोष्टले दोब्बर दस्तुर लिने गरेको थियो । सदरमुकाम बेसीशहरको त्रिवेणीटोलमा प्रवेश शुल्क संकलन केन्द्र स्थापना भएपछि सिधै लमजुङ आएर पदमार्ग घुम्न जाने पर्यटकका लागि सुविधा भएको छ ।
हाल भने अन्यत्र वा बेसीशहरमा रहेको प्रवेश अनुमति केन्द्रबाट अनुमति पत्र नलिई संरक्षित क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकलले मनाङको धारापानीमा रहेको चेकपोष्टबाट दोब्बर दस्तुर तिर्नुपर्ने एक्यापले जनाएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र प्रवेश गर्न सार्क राष्ट्रका नागरिकले एक हजार रुपैयाँ र सार्क भन्दा बाहिरका नागरिकले तीन हजार रुपैयाँ प्रवेश शुल्क बुझाउनु पर्छ । वैधानिक रुपमा प्रवेश अनुमति पत्र नलिइ गएका पर्यटकले सम्बन्धीत चेक पोष्टमा दोब्बर दस्तुर बुझाउनुपर्ने प्रावधान छ ।