युपिभिसीको नयाँ प्रविधिमा आकर्षण

धनगढी– घर निर्माणका नयाँ प्रविधिमा प्रयोगकर्ताहरू आकर्षित हुँदै गएको नवीन प्रविधिका व्यवसायी बताउँछन् । नयाँ निर्माण प्रविधिको आकर्षणले गर्दा कंक्रिटमा आधारित निर्माण परिवर्तन भइरहेको उनीहरूले बताएका छन् । कंक्रिटको सट्टा मेटल स्ट्रक्चरबाट घर बनाउने, काठको सट्टा युपिभिसिका झ्याल ढोका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।
निर्माणको नयाँ प्रविधिबाट घर बनाउने ग्राहक संख्या बढ्दै गएको हुनाले निकै उत्साहित भएको सुदूरपश्चिम युपिभिसि झ्याल ढोका उद्योगका सञ्चालक भट्ट भुलले बताए । कोभिड–१९ पछि मन्द भएको व्यापार पुनरुत्थान भइरहेको बेला आयोजित हार्डवेयर एक्स्पोमा युपिभिसिबाट बनेका झ्याल ढोकाको विषयमा जानकारी लिन आएका प्रयोगकर्ता देखेर अझै बढी उत्साहित भएको उनले बताए ।
काठ र अल्मुनियमको झ्याल ढोकाको विकल्पको रूपमा आएको युपिभिसि झ्याल ढोकाको मार्केट पछिल्लो समयमा बढ्दै गएको छ । एक्स्पोमा भएको प्रचार प्रसारले गर्दा युपिभिसि झ्याल ढोकाको मार्केट अझै बढेर जाने आशा पलाएको उनले बताए । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक युपिभिसि झ्याल ढोकाको उद्योग सञ्चालन गरेका उनले युपिभिसि झ्याल ढोका प्रयोगकर्ताको संख्या बढ्दै गएको बताए ।
‘२०७५ मा हामीले पहिलो पटक युपिभिसि झ्याल ढोका उद्योग सञ्चालन गर्दा यसको बारेमा प्रयोगकर्तालाई बुझाउन निकै असहज थियो,’ सञ्चालक भट्टले भने, ‘प्रयोगकर्ता पनि निकै थोरै थिए । यस विषयमा बुझेका केही व्यक्तिले बाहिरबाट ल्याएर प्रयोग गरिरहेका थिए । हामीलाई मार्केटमा जम्न निकै समय लाग्यो । अहिले युपिभिसि झ्याल ढोका उद्योग बढेको छ । प्रयोगकर्ता पनि बढेका छन् ।’
अहिले कैलाली जिल्लामा युपिभिसि झ्याल ढोका उद्योगहरूको संख्या १२ वटा पुगिसकेका छ । उनले युपिभिसि झ्याल ढोका प्रयोगकर्ताको संख्या बढाउनमा एक्स्पोले मद्दत गर्ने बताउँछन् । ‘भिजिटरलाई हामीले यसको विषयमा सम्पूर्ण जानकारी दिइरहेका छौं,’ उनले भने, ‘यो साउण्ड प्रुफ, फायुर प्रुफ र वाटर प्रुफ उत्पादन हो । यसले पोलुसन पनि गर्दैन । यो विभिन्न क्वालिटिमा समेत पाइन्छ । क्वालिटि अनुसारकै मूल्यमा पाइन्छ । काठको तुलनामा सस्तो र आल्मुनियमको तुलनामा केही महँगो पर्छ ।’
खप्तड युपिभिसि झ्याल ढोकाका सञ्चालक सुन्दर सिंहले पनि व्यवसाय बढ्दै जाने अपेक्षा गरेका छन् । उनले भिजिटरको यसप्रति राखेको चासोले गर्दा उत्साहित भएको बताउँछन् । काठ नपाइने र पाइए पनि महँगो भएको अवस्थामा प्रयोगकर्ताका लागि वैकल्पिक उत्पादनको रूपमा युपिभिसि आएको उनले बताए । काठको दाँजोमा सस्तो समेत रहेका कारण युपिभिसि प्रयोगकर्ताको संख्या बढ्दो अवस्थामा रहेको उनले बताए । एक्स्पोमा गरिएको प्रचारका कारण प्रयोगकर्ताको संख्या अझै बढ्ने उनले बताए ।
नेपाल इन्फ्रास्ट्रक्चर डेभलोपमेन्ट इन्डस्ट्री प्रालिका अध्यक्ष टेकराज रेग्मीले कंक्रिट हाउजिङमा रहेको नेपाली निर्माण क्षेत्र विस्तारै मेटल हाउजिङमा परिवर्तन भइरहेको बताए । उनले अहिले पनि ८० प्रतिशतभन्दा बढी घर निर्माणमा कंक्रिटमा आधारित रहेको बताउँदै पछिल्लो समय मेटल स्ट्रक्चरबाट घर बनाउनेको संख्या बढ्दै गएको बताए ।
मेटल स्ट्रक्चरका घर भत्काउँदा फलाम बिक्री हुनसक्ने र घरलाई सारेर अर्को ठाउँमा पनि फिटिङ गर्न सकिने भएकाले पनि यसमा डिमान्ड बढ्दै गएको बताए । उनले कंक्रिटले बनाएको घरभन्दा मेटलले बनाएको घर बढी भूकम्प प्रतिरोधी भएकाले विश्वमा मेटल स्ट्रक्चर प्रविधि बढी प्रयोग हुने गरेको बताए । उनले सुदूरपश्चिममा प्रालिले मेटल स्टक्चरको घर बनाउन थालेपछि प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको बताए ।
उनले २० सै तलासम्म यो प्रविधिबाट घर बनाउन सकिने र यो सयौं वर्षसम्म पनि टिकाउ हुने भएकाले यसप्रति ग्राहकको आकर्षण बढ्दो अवस्थामा रहेको बताए । निर्माण सामग्रीको व्यवसाय प्रवर्द्धन गर्ने र प्रयोगकर्तालाई एकै छानामुनिबाट सम्पूर्ण निर्माण सामग्रीबारे सेवा र परामर्श दिने उद्देश्यका साथ कैलाली हार्डवेयर व्यवसायी संघले आयोजना गरेको एक्स्पोमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीका उत्पादन प्रदर्शनीमा राखिएको छ । निर्माणका नवीन प्रविधिका स्टलसमेत राखिएका छन् ।