बिक्री हुनै छाड्यो राडी पाखी

दाङ– दाङमा परम्परागत रूपमा निर्माण गरिने राडी पाखी पछिल्लो समयमा बिक्री हुन छाडेको छ । कपडाभन्दा महँगो हुने र राडी पाखीको महत्व बुझ्न नसक्दा बिक्री हुन छाडेको हो । घोराही उपमहानगरपालिका–१३ निवासी दिलमाया बुढाले लामो समयदेखि भेडाको उनबाट राडी पाखी बुन्दै आएकी थिइन् । तर पछिल्लो समय उनले यसरी राडी पाखी बुन्न छाडदै गएको बताइन् ।
पछिल्लो समय बिक्री हुन छाडेकाले बुन्न छोडेको उनको भनाइ छ । ‘बिक्री नै हुँदैन बुनेर मात्र के गर्नु,’ उनले भनिन् । ‘कहिले काहीं घरको प्रयोजनका लागि बुन्ने गर्दछु ।’ आधुनिक प्रविधि र आयातित कपडाका कारण राडी पाखी र बख्खु विस्तारै लोप हुँदै गएका छन् । ग्रामीण क्षेत्रमा पनि हाल बजारमा पाइने कपडाको पहुँच पुगेपछि गाउँमै उत्पादन हुने बख्खु तथा राडी पाखीलाई विस्थापित गरेको पाइएको छ ।
हिमाली क्षेत्रमा पाइने भेंडाको रौंबाट उन तयार पारेर राडी पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ तर राडी पाखी र बख्खु बुन्न समय पनि धेरै लाग्ने गरेको दिलकुमारीले बताइन् । एउटा राडी बुन्नका लागि कम्तीमा पनि २० दिनको समय लाग्ने गरेको बताइएको छ । राडी पाखी बुन्नका लागि धेरै मेहनत गर्नुपर्न उनले बताइन् । एउटा कम्मल दुई हजारदेखि २५ सय रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ । साइजअनुसार मूल्य कम र बढी हुन्छ ।
उन खरिद गर्दा नै महँगो पर्ने त्यसमा धेरै मेहनत गर्नुपर्ने भएकाले राडी पाखीसमेत महँगो पर्ने गरेको उनले बताइन् । समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडी, पाखी र बख्खु बुन्ने कार्य लोप हुँदै गएको यसका जानकार बताउँछन् । बिक्री नहुने भएपछि आजभोलि आफन्तलाई कोशेलीका रूपमा दिने गरेको दिलकुमारी बताउँछिन् ।
समय खर्चिएर भेँडाको उन कातेर धागो बनाई राडी पाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न नै सजिलो भएकाले राडी पाखी बुन्ने पेसासमेत विस्तारै लोप हुँदै गएको बताइएको छ । पुराना पुस्ताले गाउँमै बुनेको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले भने प्रयोग नगर्ने र पेशा संरक्षणमा पनि चासो नदेखाएको उनी बताउँछिन् । राम्रो आयआर्जन नहुँदा युवा पुस्ताले यसतर्फ चासोमेत नदिने गरेको उनको भनाइ छ । ‘सिकेको सीप प्रयोग गरेर दुई चार पैसा होला भनेको त्यसो हुन छाडेको छ,’ उनले भनिन् ।
खेर जाने समय सदुपयोग गरेर केही रकम आयआर्जन गर्न सकिन्छ कि भनेर राडी पाखी बुन्ने सीप सिके पनि अहिले बिक्री नहुँदा बुन्न छाडेको घोराही–१३ शीतल टोल निवासी कमला बुढाले बताइन् । ‘सीप सिके पनि सदुपयोग गरेर आम्दानी गर्न सकिएको छैन्,’ कमलाले भनिन् । सीप भए पनि दिनभरि खाली बस्नुपर्ने बाध्यता छ । सहज रूपमा बिक्री भएमा आफूहरू बुन्न तयार रहेको कमलाले बताइन् ।
राज्यले सहज रूपमा बिक्री गर्ने वातावरण गराइदिएमा आफूहरूलाई सहज हुने कमलाको भनाइ छ । रुकुमबाट भेडाको उन ल्याएर राडी पाखी निर्माण गर्ने गरेको उनी बताउँछिन् । पहिले पहिले राडी पाखी खोज्नेले अहिले खोज्न छाडेको उनको भनाइ छ । अहिले राडी पाखीभन्दा अन्य कपडा सस्तोमा पाइने भएकाले त्यसैतर्फ मानिसको आकर्षण बढेको उनले बताइन् ।