श्री र फिस्टेलका हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध

काठमाडौं– सुरक्षा मापदण्डविपरीत उडान गरेपछि नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेल एयरका हेलिकोप्टरको उडानमा प्रतिबन्ध लगाएको छ । खराब मौसममा पनि लुक्ला क्षेत्रमा उडान गरेपछि दुई कम्पनीलाई उडान रोक लगाइएको हो ।
खराब मौसममा भीएफआर उडान गर्न नपाउने प्राधिकरणको नियम नटेरी श्री र फिस्टेल एयरले बुधबार लुक्ला क्षेत्रमा उडान गरेकाले कारबाही गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले भने, ‘गम्भीर लापरबाही गरेको पाइएपछि श्रीको एउटा र फिस्टेलका दुईवटा हेलिकोप्टरलाई उडानमा प्रतिबन्ध लगाइएको छ ।’
यसबारे अध्ययन गरिने र त्यसको निष्कर्ष नआएसम्म उडानमा रोक लगाइएको उनले जानकारी दिए । दुई कम्पनीका हेलिकोप्टरले उडान सुरक्षाविपरीत खराब मौसममा उडान गरेको, सानो हेलिप्याडमा अवतरण गरेको, खराब मौसमका कारण पटक–पटक उडान–अवतरण गरेको प्राधिकरणको भनाइ छ ।