प्रदेशसभामा सरकारको आलोचना «

प्रदेशसभामा सरकारको आलोचना

हेटौंडा-दुई महिनापछि बसेको प्रदेश–३ को आइतबारको प्रदेशसभामा सरकारको चर्को आलोचना भएको छ । प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भए पनि प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिति देखाउन नसकेको भन्दै प्रदेशसभा सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् । विशेष समयमा बोल्दै दोलखाका प्रदेशसभा सदस्य विशाल खड्काले विपद्को समयमा प्रदेश सरकारले राहत र उद्धारका काममा विशेष भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरे । आफ्नो निर्वाचन क्षेत्रमा विपद्पछि ठूलो क्षति भएको सुनाउँदै उनले जनताले प्रदेश सरकारको उपस्थिति महशुस गर्न नपाएको बताए । दोलखाको केही बस्ती नै स्थानान्तरण गर्नुपर्ने देखिएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गरे ।
 दोलखाकै अर्की सांसद सरस्वती बस्नेतले आफ्नो क्षेत्रमा बस्तीहरू बाढी पहिराले ठूलो क्षति गरेकाले स्थानान्तरण गर्नुपर्ने देखिएकाले यथाशीघ्र पहल थाल्न आग्रह गरिन् । दोलखामा कतिपय ग्रामीण सडकमा पनि ठूलो क्षति भएको भन्दै तत्काल मर्मत गर्न पनि उनले आग्रह गरिन् ।कांग्रेस सांसद निमा लामाले विपद्को समयमा प्रदेशसभा सदस्यहरूबीच छलफल हुन नपाएको भन्दै त्यो अवसरबाट प्रदेश सरकारले बञ्चित गरेको आरोप लगाए । अर्की प्रदेशसभा सदस्य लालकुमारी पुनले बाढी पहिरोका कारण भएको क्षतिबापत प्रदेश सरकारले घोषणा गरेको राहत रकम अपुग हुने दाबी गरिन् ।
वर्षातले ठूलो भौतिक तथा मानवीय क्षति भएको र पीडित परिवार पुननिर्माणको लागि सरकारले छुट्याएको रकम अपुग हुने भन्दै बजेट थप गर्न उनले माग गरिन् । अर्का सांसद केशवराज पाण्डेले सडक सञ्जाल अत्यन्त अव्यवस्थित भएको भन्दै उनले प्रदेश सरकारले यस तर्फ ध्यान दिन जरुरी रहेको औंल्याए । प्रदेशसभाको आइतबारको बैठकमा सरकारले चार वटा नयाँ विधेयक प्रदेशसभा दर्ता गराएको छ । प्रदेश सवारी ऐन संशोधन गर्न बनेको विधेयक, प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य, अधिकार र कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गरिएको हो ।
प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक निजी सहकारी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गरिएको छ ।सभामा दुई वटा विधेयकको प्रतिवेदन पेश भएको छ । सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आवश्यक छलफलपछि तयार पारिएको प्रतिवेदन प्रदेश मामिला समितिका सभापति माधव पौडेलले पेश गरेका हुन् । यस्तै, मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पनि कृषि, स्वास्थ्य तथा शिक्षा समितिका सभापति घनश्याम दाहालले सभामा पेश गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्