पर्यटकलाई ढाका टोपी

लमजुङ– पर्यटकलाई ढाका टोपी लगाएर स्वागतसहित लमजुङमा पर्यटन दिवस मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङले छुट्टाछुट्टै कार्यक्रम गरी पर्यटन दिवस मनाएका हुन् । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइँदै आएको र यस वर्ष ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ ४४औं दिवस मनाइएको हो ।
जिल्लामा अन्नपूर्ण पदमार्ग र मनास्लु पदमार्गमा आएका पर्यटकलाई ढाका टोपी, टीका र फूल गुच्छाले स्वागतसहित दिवस मनाइएको हो । अन्नपूर्ण पदमार्ग प्रवेशद्वार मानिएको लमजुङको सदरमुकाम बेसीसहरमा पदमार्गमा आएका चेक रिपब्लिकका १० वर्षीय जोनलाई ढाका टोपी लगाएर दिवसको औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । जोनसँगै उनको परिवारका चारजना सदस्य र अन्य देशबाट आएका दर्जनौं पर्यटकलाई टोपी र फूलको गुच्छा दिएर स्वागत गरिएको थियो ।
पर्यटकलाई स्वागतसँगै सदरमुकाम बेसीसहरमा पर्यटकसहित र्याली पनि निकालिएको थियो । बेसीसहरको मनाङे चौतारादेखि शेरा बजारसम्म र्याली गरी पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बोल्दै पर्यटनविद एवं गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना आवश्यक रहेको बताए । ‘पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना आवश्यक छ, गुरुयोजना भयो भने त्यसमा रहेर थप काम गर्न सकिन्छ,’ डा. गुरुङले भने, ‘योजना विना अघि बढ्दा सम्भाव्यताको प्रचार हुन सकेको छैन ।’
यसैबीच अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पनि पर्यटन दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले लमजुङको पर्यटकीय स्रोत र सम्भाव्यता अनुसार हालसम्म सन्तोशजनक प्रगति नभएको बताए । ‘पर्यटन प्रवर्द्धनका निम्ति हामीसँग धेरै आधार छन्,’ सांसद पौडेलले भने, ‘जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उत्साहजनक भए पनि पूर्वाधार र संरचना व्यवस्थापनमा अझै धेरै काम हुन सकेको छैन, त्यो हुनु जरुरी छ ।’
कार्यक्रममा बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिका लागि एक महत्वपूर्ण क्षेत्र भएकाले पर्यटन विकासका लागि सरोकारवाला सबै दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । लमजुङको पर्यटन विकासले जिल्ला मात्रै नभएर समग्र मुलुकको विकासमा टेवा पुग्ने भन्दै जिल्लाको विकास निर्माणमा सरकारी संयन्त्रसँगै स्थानीय बढी सक्रिय हुनुपर्ने प्रजिअ अधिकारीको भनाइ थियो ।
कार्यक्रममा एक्याप इलाका कार्यालय भुजुङका प्रमुख राजेश गुप्ताले एक्यापको कार्यक्षेत्र, काम कारबाही र पर्यटकीय गतिविधिका बारेमा जानकारी गराएका थिए । एक्यापअन्तर्गत लमजुङका मस्र्याङदी र क्होलासोँथार गाउँपालिका अन्तर्गतका अधिकाँश भू–भाग पर्दछन् । कार्य क्षेत्रभित्र एक्यापले पर्यटन प्रवर्द्धनका निम्ति संरचना निर्माण, स्थानीयको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम तथा विकास निर्माणमा सहयोग गर्दै आएको छ ।
सोबाहेक एक्यापले कार्य क्षेत्रभित्र शिक्षा स्वास्थ्य तथा विभिन्न समूहमा पनि काम गर्दै आएको छ । लमजुङ जिल्ला विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गको प्रवेशद्वार र मनास्लु पदमार्गको बाहिरीद्वार पर्दछ । अन्नपूर्ण पदमार्ग र मनास्लु पदमार्गमा लमजुङ हुँदै वर्षेनी हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गरेको छ । सोबाहेक जिल्लाका ग्रामीण पर्यटकीय गन्तव्यमा दिनहुँ पर्यटक आउने गरेका छन् ।