बिर्तामोड-भद्रपुर सडक निर्माण अलपत्र «

बिर्तामोड-भद्रपुर सडक निर्माण अलपत्र

बिर्तामोड– ठेकेदारको ढिलासुस्तीका कारण झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणकार्य अलपत्र अवस्थामा पुगेको छ । बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी काठमाडौंको कन्टेक प्रालिका ठेकेदारले सडक निर्माणमा ढिलासुस्ती गरेका कारण झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण अलपत्र अवस्थामा पुगेको हो ।

२०७७ साल माघ ६ गते बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी काठमाडौंको कन्टेक प्रालिले २०८० साल साउन ५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता गरे पनि उक्त म्यादभित्र काम पूरा गर्न नसकेपछि आगामी फागुन ५ गतेसम्म सडक निर्माणको म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए ।

म्यादभित्र काम सम्पन्न गर्न नसकी थप म्याद पाएको ठेकेदार कम्पनीलाई पटकपटक स्पष्टीकरण सोधिए पनि बेवास्ता गर्दै आएको उनले बताए । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत गरामनी–चन्द्रगढी खण्डको ८.४१ किलोमिटर सडक निर्माणको ठेक्का लिएको सो कम्पनीले निर्माण सम्झौताको म्याद सकिएर थप म्याद पाउँदासमेत ३० प्रतिशतमात्र काम पूरा गरेको उनले बताए । ३० महिनामा ३० प्रतिशत काम पूरा गर्न नसकेको ठेकेदार कम्पनीले थपिएको ७ महिनाको म्यादमा ७० प्रतिशत काम सक्ने अवस्था नदेखिएको उनले जानकारी दिए ।

अहिले सडक निर्माणको काम रोकिएको बताउँदै उनले ठेकेदार कम्पनीले सुरुदेखि नै काममा ढिलाइ गरिरहेको बताए । बर्खायामका कारण काम गर्न समस्या हुने भएकाले अहिले काम रोकिएको हुनसक्ने बताउँदै उनले असोज १५ देखि काम सुचारु गर्न लगाउने जानकारी दिए । ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण गत वर्षको बिर्तामोड–भद्रपुर सडक निर्माणको बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए ।

ठेकेदारले देउनिया–चन्द्रगढी सडक खण्डको काम सुरु नै नगरेको बताउँदै उनले देउनिया–गरामनी सडक खण्डमा पनि सानो भागमा मात्र सबबेसको काम भएको, बेसको काम नथालेको जानकारी दिए । त्यो क्षेत्रको कालोपत्रे पनि अनिश्चित जस्तै भएको उनले बताए । उनले देउनिया–चन्द्रगढी सडक खण्डमा वाल बनाउने, नाला बनाउने, माटो भर्ने काम पनि अहिलेसम्म सुरु नै नभएको बताए ।

उक्त सडक भ्याटसहित ५८ करोड दुई लाख रुपैयाँमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म करिब १८ करोड रुपैयाँ भुक्तानी दिइसकेको डिभिजन प्रमुख पौडेलले बताए । यसैबीच प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणमा ढिलाइ भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । गृह जिल्ला झापा आएका सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माणकार्य अघि बढाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्