दाङमा नौवटा मोटरेबल पुल निर्माण हुने

दाङ– पश्चिम दाङ जोड्ने सडक खण्डबीचमा परेका नौवटा पुलको निर्माण प्रक्रियाअघि बढेको छ । लुम्बिनी प्रदेशले चालु वर्ष २०८०/०८१ का लागि पश्चिमका विभिन्न नौवटा खोलामा पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ ।
सोहीअन्तर्गत गहतेखोला–हापुरे सडक खण्डअन्तर्गत पातेटाकुरा खोलामा ‘स्वाइल टेस्ट’ गर्ने काम भइरहेको छ । सडक पूर्वाधार विकास कार्यालय दाङले उक्त खोलामा स्वाइल टेस्ट गरेको हो । एकातर्फको स्वाइल टेस्ट गर्ने काम भइसकेको र बाँकी अर्कोतर्फको पनि स्वाइल टेस्ट गर्ने कामअघि बढेको छ । स्वाइल टेस्ट गर्ने जिम्मा पाएको अग्नि बोरिङ स्वायल टेस्टका प्रतिनिधि कमल दाहालका अनुसार अबको दुई दिनमा उक्त खोलामा स्वाइल टेस्ट भइसक्छ ।
त्यसपछि बबई गाउँपालिकामा पर्ने ट्वाङखोलामा स्वाइल टेस्ट हुने उनले बताए । यी दुवै खोलामा सर्भे पनि भइसकेको छ । पश्चिम दाङका विभिन्न खोलामा नौवटा पुलका लागि बजेट परेको छ । अन्य खोलामा पानीको बहाव कम हुने वित्तिकै सर्भे हुने इन्जिनियर सुशील अधिकारीले बताए । उनका अनुसार दसैं तिहारको समयमा अन्य खोलामा पनि सर्भे र स्वाइल टेस्ट हुन्छ । जतिसक्यो छिटो काम अघि बढाइने इन्जिनियर अधिकारीले बताए । सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले रिम खोलामा बेलिब्रिजका लागि ५० लाख, तीनतलेमा बेलिब्रिज निर्माणका लागि ५० लाख र भांगावारीमा बेलिब्रिजका लागि ५० लाख बजेट छुट्याएको बताए । त्यस्तै तुलसीपुरदेखि हापुर जोड्ने सडकअन्तर्गत पर्ने तुलसीपुर–१ भमके खोलमा पुल निर्माणका लागि एक करोड, शान्तिनगर–३ पातेटाकुरा खोलामा पुल निर्माणका लागि ७५ लाख, बौलाखोला माथिल्लो बाटोमा पक्की पुल निर्माणका लागि एक करोड, बबई गाउँपालिकाअन्तर्गत राजीखरे खोलामा पुल निर्माणका लागि ७५ लाख बजेट परेको छ ।
त्यस्तै ट्वाङखोलामा डीपीआरसहित पक्की पुल निर्माणका लागि एक करोड ५० लाख, पुरन्धारा हुँदै मलै जाने सडकको बबई नदीमा पुल निर्माणका लागि डीपीआर गर्न १५ लाख तथा बकरीया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडकमा पुल निर्माणका लागि एक करोड २५ लाख बजेट परेको अर्थमन्त्री मास्कीले बताए । यी खोलामा पुल नहुँदा वर्षात्को समयमा आवतजावतमा समस्या हुने गरेको थियो । खोलामा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो भने सवारी नै बगाउनेसम्मका समस्या नागरिकले भोग्दै आएका थिए । अब ती खोलामा पुल बनेपछि समस्या हटेर जाने नागरिकले अपेक्षा गरेका छन् ।