दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण «

नेपालगन्जमा १३२ केभी प्रसारणलाइन शिलान्यास

दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण

नेपालगन्ज– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र देशैभर पूर्ण विद्युतीकरण गरिसक्ने गरी सरकारले योजनाअघि बढाएको बताएका छन् । बुधबार बाँकेको जानकी गाउँपालिका–५ स्थित बकसपुरमा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगन्ज सबस्टेसन शिलान्यास गर्दै मन्त्री बस्नेतले उक्त कुरा बताएका हुन् ।

उनले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराईसम्मका सबै बस्तीमा दुई वर्षभित्र पूर्ण विद्युतीकरणका काम सम्पन्न हुने संकल्पका साथ काम अघि बढाएको दाबी गरे । मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारणलाइन तथा न्यू नेपालगन्ज सबस्टेसन शिलान्यास गरिएको बताए ।

निर्माणाधीन सम्पूर्ण काम समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले उद्योग व्यवसाय सञ्चालनका लागि अब नेपालगन्जमा विद्युतको समस्या नरहने बताए । कार्यक्रममा कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगन्ज र आसपास विद्युतको समस्या समाधान हुने बताए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका–५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । एक अर्ब ८० करोडको लागतमा सम्पन्न हुने आयोजनाबाट दुई सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भएर विद्युत आपूर्ति सुरु भएपछि बाँकेका विद्युतसम्बन्धी सबै समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

उक्त प्रसारणलाइन तथा सबस्टेसनका लागि चार बिघा सात कठ्ठा जग्गा लिइएको बताइएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा आयोजित भेटघाट कार्यक्रममा मन्त्री बस्नेतले औद्योगिक हबसमेत रहेको बाँकेमा लामो समयदेखि देखिँदै आएकोे विद्युत आपूर्तिको समस्या समाधान गर्न कोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारणलाइन फलदायी हुने बताए । यो आयोजनाको निर्माण सम्पन्न भएपछि नेपालगन्जमा अहिले देखिएको लो भोल्टेज र जथाभावी विद्युत जाने समस्या समाधान हुने उनको भनाइ थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले नेपालगन्जको विद्युत समस्या दीर्घकालीन समाधान हुनुपर्नेमा जोड दिए । उनले यो समस्याको समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिए । उनले आयोजना सुरु हुने तर वर्षौंसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्