खुल्न थाले बालबालिका «

खुल्न थाले बालबालिका

सिन्धुली – समय मध्यान्हको २ः३० भएको छ । कमलामाई नगरपालिका–४ फोस्रेटारस्थित जनज्योति माध्यामिक विद्यालयकी कक्षा ९ की छात्रा अनुशा वाइवा बेड रेष्ट गरिरहेकी छन् । साथीहरू कक्षाकोठामा भएपनि अनुशा नर्स कक्षमा आराम गरिरहेकी थिइन् ।
एक्कासी टाउको दुखेपछि दगुर्दै मलाई औषधी दिनु न भन्दै आइपुगिन् । अनुशाले टाउको दुखेकाले पढ्न नसकेको समस्या बताएपछि स्कुल नर्स सन्ध्या ढकाल (२२) ले रक्तचाप जाँचिन् । रक्तचाप ‘लो’ भएको रहेछ । उनले आराम गर्न भन्दै बेडमा सुताइन् ।
नर्स ढकाल उनलाई बेडमा सुताएर बाहिर मात्रै के निक्लिएकी थिइन् । कक्षा ४ मा पढ्ने अर्की छात्राले आफ्नो बहिनीलाई ज्वरो आएको खबर लिएर आइपुगिन् । ढकालले थर्ममिटरले उनको ज्वरो जाँचेपछि आराम गर्न लगाइन् ।
गत मंसिर महिनाको १८ गतेदेखि विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन भएपछि अहिले दैनिकजसो ८ देखि १० जना विद्यार्थीहरू विभिन्न स्वास्थ्य समस्या लिएर आफ्नो कक्षमा आउने गरेको नर्स ढकालले बताइन् ।
उनले विद्यार्थीको प्राथमिक उपचार मात्रै गर्दिनन्, विद्यालयमा शिक्षक अनुपस्थित भएका दिन सरसफाइ, महिनावारी, प्रजनन स्वास्थ्य र स्वस्थ खानपिनका बारेमा चेतनामूलक ज्ञान पनि दिन्छिन् ।
जनज्योती माविमा स्कुल नर्सको रुपमा कार्यरत ढकाल कनपा ५ की स्थायी बासिन्दा हुन् । मेडिकलमा थोरै मानिसका बीचमा काम गरिरहेकी ढकाल नयाँ अनुभव गर्न पाएकोमा खुसी छिन् । “स्कुलमा नर्स म आफै नयाँ क्षेत्रको अनुभव गरिरहेकी छु,” ढकालले भनिन्, “कसरी काम गर्ने भन्ने दुविधामै विद्यार्थीहरूसँग राम्रो सम्बन्ध बनेको छ । अहिले उनीहरू आफ्ना साथी वा परिवारसँग भएका कुराकानी पनि खुलेर राख्छन् ।”
स्कुल नर्सले महिनावारी र त्यसको व्यवस्थापनबारे जानकारी गराएपछि १४ वर्षिया निक्की बम्जन धक नमानी महिनावारीका कुरा गर्ने भएकी छन् । पहिले महिनावारी भन्ने शब्द सुन्ने वित्तिकै नाक खुम्च्याउने निक्की अहिले आफूभन्दा साना बहिनीहरूलाई पनि महिनावारी शिक्षा दिन भ्याउँछिन् । “नर्स दिदीले महिनावारी हुँदा ध्यान दिनुपर्ने कुरा, हात धुने तरिका पनि राम्ररी सिकाउनुभयो ।” उनले भनिन्, “पहिले सरहरूले पढाउदा खासै बुझिन्न थियो, पढाइन्जेल बुझेपनि पछि बिर्सन्थ्यो । अहिले त दिदीले प्रााक्टीकल्ली बुझाउनु हुन्छ ।”
निक्कीकी साथी अनु विक पनि विद्यालयमा नर्स दिदी पाएकोमा मख्ख छिन् । महिनावारी हुँदा ३ दिनसम्म विद्यालय नआउने अनु हिजोआज भने नियमितरुपमा विद्यालय आउँछिन् । “स्कुलमा महिनावारी भइहाल्यो भने कुद्दै घर जानु पथ्र्यो । ३ दिनसम्म त स्कुलै आउदिनथे,” अनुले भनिन्, “स्कुलमा प्याड थिएन, घरबाट लिएर आउँदा पनि केटाकेटी सबैलाई एउटै ट्वाइलेट थियो । त्यही भएर म त घरमै बस्थे । अहिले त नर्स दिदीले नै प्याड दिनुहुन्छ । ट्वाइलेटमा पनि पानी र साबुन कहिले टुट्दैन ।”
कक्षा १० मा अध्ययन गर्ने रविन बम्जन नर्स दिदी आएपछि विद्यार्थी र विद्यालयको स्वरुप नै परिवर्तन भएको सुनाउँछन्् । कक्षा ६ देखि जनज्योती माविमा अध्ययन गरिरहेका रविनलाई स्कुलमा बाल क्लब छ भन्ने नै थाहा थिएन । तर विद्यालयमा स्कुल नर्स आएपछि सरसफाईका कार्यक्रम, जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गर्न थालेसँगै बाल क्लब पनि क्रियाशील भएको उनले बताए ।
जङ्फुड खाँदा स्वास्थ्यलाई हुने बेफाइदा, हात धुने तरिका, वातावरण सरसफाई र स्वास्थ्यका विषयमा जान्ने मौका पाएको बताए । विद्यालयको स्वास्थ्य क्लबमा समेत रहेका रविनले अन्य साथीलाई स्वास्थ्य तथा शारीरिक शिक्षा बारेमा जानकारी गराउँदै आएका छन् । “दिदीले हामीलाई स्वास्थ्य सम्बन्धिका टिप्स दिनुहुन्छ । अनि हामी अरुलाई त्यही कुरा सिकाउँछौँ,” उनले भने, “प्रत्येक कक्षाका २ जनालाई दिदीले मनिटरको रुपमा छनौट गर्नु भएको छ । हामी हाइजिन मेन्टेन गर्ने काम गछौँ ।”
नर्सले बिहान १० बजेदेखि ४ बजेसम्म र आवश्यक परेको अन्य समयमा पनि विद्यार्थीहरूको स्वास्थ्यबारे दैनिक जानकारी लिनुका साथै उनीहरूका घरपरिवारलाई पनि स्वस्थ रहने तरिकाबारे सिकाउँछन् । बालबालिकालाई खाजा, खानामा सन्तुलित आहार खुवाउन प्रेरित गर्दै जंकफुडलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको नर्स ढकालले बताइन् ।
यहाँ पढ्ने धेरैजसो विद्यार्थी गरिब तथा ज्याला मनजुरी गर्नेका छोराछोरी हुन् । “बिहान बेलुकाको छाक टार्न धौ–धौ हुन्छ, बालबच्चाको स्याहार सुशारमा ध्यानै दिँदैनन्,” ढकालले भनिन्, “जंक फुड नपठाउनु भनेर पटक–पटक आग्रह गरेपछि अहिले चाहिँ प्रायः सबैले घरकै खाजा बनाएर पठाउँछन् । विद्यालयमा स्कुल नर्स आएपछि जंक फुड प्रयोगमा कमी आएको छ । पहिले यहाँ खाजा भनेकै चाउचाउ, चाउमिन, बिस्कुट भन्ने थियो । तर अहिले घरबाटै पोषिलो खाजा ल्याउँछन् ।”
नर्स ढकालका अनुसार विद्यालयमा प्रत्येक ३ महिनामा बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरिन्छ । साथै वर्षमा ३ पटक आँखा, मुख र कानको परीक्षण र सिकाईमा विशेष समस्या भएका विद्यार्थीहरूको शारिरीक, मानसिक र संवेगात्मक अवस्थाको परिक्षण गर्ने गरिएको छ । १२ सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा हालसम्म ८ सय जनाको स्वास्थ्य परिक्षण गरिसकिएको जनाएको छ ।
जनज्योती माविमा रहेका १२ सय विद्यार्थी मध्ये किशोरी अर्थात् छात्राको संख्या नै धेरै
छ । विद्यालयमा ७ सयभन्दा बढी किशोरीको संख्या भएकाले पनि महिनावारीका समस्या धेरै मात्रामा देखा परेको नर्स सन्ध्या ढकालले बताइन् । किशोरीहरू महिनावारी गडबडी, तल्लो पेट दुख्ने, रगत धेरै बग्नेलगायतका समस्या लिएर आफूकहाँ आउने गरेको बताइन् ।
विद्यालयमा स्कुल नर्स आएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबैमा खुसी छाएको छ । विद्यार्थी र शिक्षक मात्रै होइन, अभिभावकहरू पनि स्वास्थ्य सम्बन्धी समस्याका साथै केही परामर्श लिनुपरे नर्ससँगै सल्लाह लिन्छन् ।
विद्यालयमा छात्र र छात्राका लागि शौचालय फरक–फरक छन् । शौचालयमा पानी, साबुन र डस्टबिन राखिएका छन् । महिनावारीका बेलामा प्रयोग गरिएको प्याड व्यवस्थापनका लागि शौचालयभित्रै डस्टबिनको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।
छात्रामैत्री शौचालयको व्यवस्थापछि छात्राहरू नियमितरुपमा विद्यालय आउन थालेको विद्यालयका प्रध्यानाध्यापक भिमविक्रम थापाले बताए । प्रअ थापाका अनुसार सबै किशोरीहरूलाई निःशुल्क प्याडको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्