Logo

जलविद्युतको सेयर निष्कासनमा कडाइ

काठमाडौं– जलविद्युत (हाइड्रोपावर) कम्पनीले भौतिक पूर्वाधारको ६५ प्रतिशत काम पूरा भएको प्रमाण पेस गरेपछि मात्रै नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्राथमिक सेयर (आइपिओ) जारी गर्न स्वीकृति पाउने भएका छन् ।

हाइड्रोपावरको आइपिओ जारी गर्ने र हकप्रद सेयरको व्यवस्थापनको लागि सेबोन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)बीच भएको छलफलमा त्यस्तो सहमति भएको हो । सहमतिका बुँदाहरू धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गरेर थपिने बोर्डले जनाएको छ ।

हाइड्रोपावर प्रवर्द्धनहरूले विद्युत उत्पादनमा ध्यान केन्द्रित गर्नुभन्दा पनि सेयर बजारबाट कसरी बढीभन्दा बढी पुँजीगत लाभ लिने भन्ने विषयमा मात्र केन्द्रित भएर कार्यहरू हुन थालेको आरोप लागेपछि धितोपत्र बोर्ड यसलाई व्यवस्थित गर्न इप्पानसँग सल्लाहमा यो निर्णयमा पुगेको हो । दुई संस्थाबीचको सहमतिमा आइपिओ प्रक्रिया अगाडि बढाउन नै हाइड्रोपावर आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भएको हुनुपर्ने र कम्पनीले ऋण लिएको सम्बन्धित बैंकबाट प्रमाणित गरेको हुनुपर्नेसमेत व्यवस्था छ ।

आइपिओबाट संकलन गरेको रकम ऋण भुक्तानीमा प्रयोग गर्ने वा चालु परियोजना सम्पन्न गर्ने प्रयोग गर्ने भन्ने विषयमा सम्बन्धित सञ्चालक समितिको प्रतिबद्धता पेस गर्नुपर्ने र परियोजनाको प्रतिफल (आइआरआर) १२ प्रतिशतभन्दा बढी हुनुपर्ने व्यवस्था समेत सहमतिमा छ । इप्पान र सेबोनबीच भएको सहमतिमा हकप्रद निष्कासन प्रक्रियालाई समेत थप व्यवस्थित बनाउने प्रयास गरिएको छ ।

हकप्रद निष्कासन गर्ने हाइड्रोपावर कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने, विद्युत उत्पादन भइसकेको हाइड्रोपावरलाई मात्रै हकप्रद निष्कासन गर्न दिइनेछ । ऋण चुक्ता गर्न वा थप लगानी गर्न हकप्रद निष्कासन गर्न लागेको हो, सो प्रयोजन खुलाएर मात्रै निवेदन दिनुपर्ने भएको छ । नयाँ परियोजनाको लागि हकप्रद निष्कासन गर्ने सवालमा भने दुई पटकमा रकम उठाउन सक्ने गरी सहमति गरिएको छ ।

त्यसैगरी संस्थापकहरूको लक इन पिरियड खुलाउने सम्बन्धमा विद्यमान व्यवस्थालाई परिमार्जन गरी हाइड्रोपावरले विद्युतको व्यापारिक उत्पादन गरिसकेपछि मात्रै खुल्ने व्यवस्था गर्ने सहमति भएको छ । अहिलेको व्यवस्थताअनुसार सर्वसाधारणको आइपिओ बाँडफाँड भएको मितिले तीन वर्षपछि संस्थापक सेयरधनीले पनि साधारण सेयरधनीसरह सेयर बेच्न सक्ने व्यवस्था छ । हाइड्रोपावर कम्पनीका संस्थापक सेयरको लकइन खुलेको जानकारी सेबोन, नेप्से र राष्ट्रिय स्तरका दैनिक पत्रिका र कम्पनीको वेबसाइटमा समेत दिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्