वैदेशिक व्यापारले दिएकाे सन्देश

रेमिटेन्स आयमा बढोत्तरी आउँदा उपभोग बढाउने र आयात वृद्धि हुने हाम्रो अर्थतन्त्रको चरित्र हो । रेमिटेन्स आयको ९० प्रतिशतभन्दा बढी अंश हामी उपभोगलगायतमा खर्च गर्छौं । रेमिटेन्सको ७–८ प्रतिशत मात्र बचत भइरहेको अवस्था छ । आन्तरिक उत्पादन धेरै नभएका कारण रेमिटेन्स बढेको बेला आयात बढ्नु स्वाभाविक हो । तर, चालु आवका दुई महिनाको आयातको तथ्यांकले रेमिटेन्स बढे पनि आयात झनै खुम्चिएको देखाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको साउन महिनामा रेमिटेन्स आय करिब २५ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । रेमिटेन्स आउनु भनेको सर्वसाधारण नागरिकको हातमा पैसा पर्नु हो । सर्वसाधारण नागरिकले रेमिटेन्सबाट आएको पैसा केका लागि खर्च गर्न थालेका छन् भन्ने जिज्ञासा उठेको छ । यो वर्षका लागि चाडपर्व सुरु भइसकेका छन् । यस्तोमा सर्वसाधारणले उपभोगलगायत विभिन्न वस्तु खरिदमा पैसा खर्च गर्नुपर्ने हो । तर, त्यस्तो गरेको देखिएको छैन ।
भन्सार विभागले यस वर्षको सुरुका दुई महिना साउन–भदौमा भएको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांकअनुसार कुल वैदेशिक व्यापार बढ्नुपर्नेमा घट्दै गएको छ । वैदेशिक व्यापारका सवालमा गत वर्षको कारोबार उत्साहप्रद रहेन । सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगायो भने कुल आयात व्यापारलाई नै निरुत्साहित गर्ने किसिमका अन्य नीतिगत व्यवस्था गरियो ।
आयात घट्दा निर्यात बढाउन सक्नुपर्छ । कुल वैदेशिक व्यापार वृद्धि हुनु अर्थतन्त्रका लागि राम्रो पक्ष हो ।
यही कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष व्यापारमा ठूलो गिरावट आयो । सरकारले आयात व्यापार निरुत्साहित गर्न गत वर्ष गरेको नीतिगत व्यवस्था यो वर्ष सबै हटाएको छ । त्यसअनुसार कुल वैदेशिक व्यापारमा सुधार आउनुपर्ने हो । तर, उल्टो गत वर्षभन्दा पनि कमजोर देखिएको छ । चालु आवको साउन र भदौमा आयात, निर्यात र व्यापारघाटामा गिरावट आउने क्रम रोकिएको छैन ।
यो दुई महिनामा निर्यात व्यापार सबैभन्दा बढी ७.७९ प्रतिशतले घटेको छ भने आयातमा ५.०६ प्रतिशतले कमी आएको छ । आयात र निर्यात दुवै घटेसँगै स्वभावैले कुल वैदेशिक व्यापार पनि खुम्चिएको छ । आयातको तुलनामा निर्यात बढाउन नसकेको अवस्थामा कुल व्यापारघाटामा कमी आएको छ । समग्रमा भन्दा दुई महिनामा कुल वैदेशिक व्यापार २ खर्ब ८६ अर्ब रुपैयाँको भएको छ । त्यसमध्ये आयात २ खर्ब ५९ अर्ब र निर्यात २६ अर्ब ४४ करोड हो । यो हिसाबले व्यापारघाटा २ खर्ब ३३ अर्ब हुन पुगेको छ ।
अर्कातिर कुल वैदेशिक व्यापारमा भारतसँगको परनिर्भरतामा कमी आउन सकेको छैन । भदौसम्म नेपालले भारतमा १६ अर्ब ७३ करोडबराबरका वस्तु निकासी गरेको छ भने १ खर्ब ६० अर्बका सामान आयात गरेको छ । भारतसँग मात्र १ खर्ब ४४ अर्ब व्यापारघाटा पुगेको छ । यस्तै यो अवधिमा चीनसँग ४५ अर्ब ९९ करोडको व्यापारघाटा छ । चीनबाट ४६ अर्ब ५४ करोडको आयात ल्याउँदा ५४ करोड ३३ लाखका वस्तु पठाएका छौं ।
यस्तै अमेरिकासँगको व्यापार भने धनात्मक भएको छ । यो अवधिमा नेपालले अमेरिकातर्फ ३ अर्ब ३६ करोडको निर्यात र २ अर्ब २२ करोडको आयात गरेको छ । अमेरिकासँगको व्यापार १ अर्ब १४ करोड रुपैयाँ नाफामा छ । रेमिटेन्स आय बढे पनि यो वर्ष कुल वैदेशिक व्यापार खुम्चिनुमा एउटा आन्तरिक बजारमा माग बढ्न नसक्नु हो भने अर्को निकासीयोग्य वस्तु उत्पादन र निर्यात गर्न नसक्नु हो ।
वैदेशिक व्यापारमा कमी आए त्यसको सबैभन्दा ठूलो मार राजस्वमा पर्नेछ । राजस्वमा कमी आए थप अनेकौं चुनौती सिर्जना हुनेछन् । हाम्रो सन्दर्भमा राजस्वबाहेकलाई छोडेर हेर्दा आयात व्यापारमा गिरावट आउनु राम्रो हो । तर, समग्र व्यापार घट्नु राम्रो होइन । आयात घट्दा निर्यात बढाउन सक्नुपर्छ । कुल वैदेशिक व्यापार वृद्धि हुनु अर्थतन्त्रका लागि राम्रो पक्ष हो । त्यसैले सरकारको नीति व्यापार अभिवृद्धितर्फ केन्द्रित हुनुपर्छ ।