काठजन्य वस्तु आयात गर्नु अर्थतन्त्रको लागि सुखद् छैनः उद्योगमन्त्री

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरु विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रको लागि सुखद् नभएको बताएका छन् ।
बुधबार फर्निचर फर्निसिङका उत्पादनको वृहत् प्रदर्शनी, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले नेपालमा नै काठजन्य वस्तुहरुको उत्पादनमा प्रशस्त सम्भावना रहेपनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले काठजन्य वस्तुहरु विदेशबाट आयात हुनु मुलुकको अर्थतन्त्रको लागि राम्रो पक्ष नभएको बताए ।
उनले वन पैदावारबाट हुने कच्चा पदार्थमा आधारित सामाग्रीहरुको फर्निचर तथा फर्निसिङ व्यवसायले आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । उनले देशभित्रै उपलब्ध हुनसक्ने कच्चा पदार्थको सहज उपलब्धता र उत्पादन सरकारले नीतिगत र कानूनी सुधार गर्न तयार रहेको बताए । उनले नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्रीको खपत हुँदै आइरहेको बताए ।
उनले फर्निचर तथा फर्निसिङ क्षेत्रमा भएको लगानीबाट सिर्जना गरेको रोजगारी र राजश्वमा राज्यलाई पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले ठूलो लगानी भएपनि फर्निचर क्षेत्रमा आधा भन्दा बढी आयातित सामानमा निर्भर हुनुपर्ने बाध्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले आन्तरिक उत्पादन बढाउने आयात घटाउने नीतिलाई प्राथमिकता दिँदै आएको दाबी गरे ।
उद्योगमन्त्री रिजालले नेपालको मौलिक कला संस्कृति झल्कने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानलाई समेत फर्निसिङ व्यवसायमा आवद्ध गरी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । उनले सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नको लागि सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई १५ प्रतिशत सम्मको बढी मूल्य स्वीकार गरी खरिद गर्दै आइरहेको बताए । उनले मुलुकको आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको उल्लेख गरे ।
यस्तै नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताए । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरु लोप हुने सम्भावना बढेको बताए ।
उनले काठजन्य वस्तुहरु उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु नेपाली वन भित्रै कुहिएर भन्दै सरकारले काठ तथा काठजन्य वस्तुहरु फर्निचर उत्पादनको लागि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे । बुधबारदेखि शुरु भएको फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।